Print

जेल भित्रै सिकेका थिए अभियुक्तले चोरी गर्ने नयाँ प्रविधि


१९ फागुन, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजार र यस आसपसाका क्षेत्र फलेवासमय समेत केहि समय देखि निरन्तर चोरीका घटनाहरु बढिरहेका थिए । प्रहरीले चोर समात्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा विहिबार राती स्थानीयले एक जना आरोपीलाई नियन्त्रणमा लिन सफल भएका छन् । कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारी स्थित एक घरमा धनमाल चोरी गर्दै गरेको अवस्थामा घरभेटिले एक जनालाई नियन्त्रणमा लिएका हुन् ।

आफ्नो पसलमा राखेको धनमाल चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अभियुक्तलाई स्थानीयले राती नै प्रहरीको जिम्मा लगाएका थिए । नियन्त्रणमा लिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले जानकारी दिए । भुषालका अनुसार आरोपीत रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा न १ का भरत परियार पेसेवर चोर हुन् । यस अघि पनि चोरीको आरोपमा जेल सजाय कटान गरेका परियारले पटक पटक धेरै स्थानमा चोरी गर्दै हिडेको खुलेको छ ।

प्रहरी प्रमुख भुषाल भन्छन –‘पहिलो पटक चोरी गरेर जेल पर्दा नै उसले चोरी गर्ने थप प्रविधिको बारेमा अध्ययन गरेको रैछ ।’ पहिलो पटक चोरीकै अभियोगमा जेल परेका परियारले जेलबाट छुटेपछि पनि आफ्नो पेशा चोरी बनाएका थिए । उनले प्रहरीबाट उन्किन नयाँ नयाँ प्रविधिको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नगद ११ लाख १५ हजार ४ सय रकम सहित नियन्त्रणमा आएका परियारको साथबाट प्रहरीले ३५ तोला सुन समेत बरामद गरेको छ ।

नियन्त्रणमा आएका परियारले प्रारम्भिक बयानको क्रममा आफू एक्लै चोरी कार्यमा संग्लन्न भएको दावी गरेका छन् । अनुसन्धानमा संग्लन्न प्रहरीले भने यो बयान मानेको छैन् । प्रहरी प्रमुख भुषाल भन्छन् – ‘अभियुक्तले एक्लै छु, भनेपनि यसमा संग्लन्न अरु पनि भएको अनुमान छ, भुषालले थपे–‘हामीले सुक्ष्म अनुसन्धान गरीरहेका छौं ।’

कुश्मा बजारका विभिन्न पसलहरुमा विगत केहि दिन देखी चोरीका घटनाहरु निरन्तर भइरहेका थिए । एक हाडवयर पसलमा स्वास्थ्यकर्मीले लगाउने एप्रोन लगाएर चोरी भएको सिसि फुटेज बाहिरिएको थियो । चोरी गर्ने तर प्रहरीलाई झुक्काउने विभिन्न शैली र प्रविधि नियन्त्रणमा आएको अभियुक्तले प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।