Print

आज प्रणय दिवस : प्रेमको प्रतीक रानीमहल पुग्न कुश्माबाट २ घण्टा मात्रै


२ फागुन, पर्वत । प्रत्येक बर्षको प्रणय दिवसको दिन पाल्पाको रानीमहलको चर्चा हुने गर्छ । कतिपयका लागि नौलो गन्तब्य हुने रानी महल पुग्न अव भने कालीगण्डी लोकमार्गले यात्रा छोटाएको छ । पर्वतको कुश्माबाट नीजि सवारी साधनमा यात्रा गर्ने हो भने २ घण्टामा रानीमहल पुग्न सकिन्छ ।

सडक सञ्जालको विस्तारसंगै अव भने नयाँ ट्रयाक्क खुलेको हो । कुश्मा देखि पोखरा वालिङ पाल्पा हुँदै कुल १७९ किलोमिटरको दुरी पार गर्दा कुश्मा देखि रानीमहल पुग्न सकिने सडकको दुरी अव ७३ किलोमिटरमा सिमित भएको छ । पर्वतको कुश्मा देखि अव झण्डै ७३ किलोमिटरको यात्रा गरेपछि पाल्पाको प्रसिद्ध रानीमहल पुग्न सकिन्छ ।

२ दिन लाग्ने दुरी अव छोटिएर नयाँ ट्रयाकबाट १ दिनमा झरेको छ । १ दिनकै यात्रामा रानीमहलको अवलोकन गरी कुश्मा फर्कन सकिनेछ ।

रानीमहल खड्गशमशेरले रानी तेजकुमारीको सम्झनामा १९५४ सालमा प्रेमको प्रतीकका रूपमा बनाएका थिए । रानी तेजकुमारीले मृत्युअघि १९४९ सालमा हालको स्थान रानीघाट क्षेत्रमा प्रेमको प्रतीकका रूपमा भव्य महल बनाउन इच्छा व्यक्त गरेकी थिइन । रानीको चाहनाबमोजिम खड्गशमशेरले कालीगण्डकीबाटै जग उठाएर बेलायती शैलीमा तेजमहल निर्माण गरेका थिए ।

करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ वटा कोठा छन् । अलंकारयुक्त ग्रिक शैलीका खम्बा, त्रिकोणात्मक छाना एवं गुम्बज आकारका झ्याल, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरबार निर्माण गरिएको छ । दरबार पछिल्लो समयमा युवा पिढिका माझ आकर्षण गतब्य स्थल बन्दै गएको छ ।

यो स्थानमा पुग्नका लागि अव कुश्मा बजारबाट कालीगण्डकी लोकमार्ग सडक प्रयोग गर्न सकिन्छ । निर्माणधिन कालिगण्डकी लोकमार्ग प्रयोग गर्दा बढिमा ७३ किलोमिटर दुरी पार गर्दा रानीमहलमा पुग्न सकिन्छ ।

कुश्मा बजारबाट बडागाउँ हुँदै मोदीवेनीको मोटरेवल पुल तरे पछि फलेवासको मुडिकुवा हुदै चिर्दिखोला तरेर पाङराङ पुगिन्छ । निर्माणधिन लमायखोला पुल निर्माण सम्पन्न भएपछि यो दुरी अझै छोटो पर्नेछ । अहिलेका लागि मोटरेवल पुल निर्माण सम्पन्न नभएका कारण चिर्दिखोलाको पुल प्रयोग गर्नुपर्नेछ ।

पाङराङ देखि बाच्छा, बरौचौर रानीपानी हुँदै करिब ५५ किलोमिटरको दुरी सेतीवणीमा पुगिन्छ । यो खण्डमा अधिकांश भाग कालोपत्रे भएको छ । कुश्मा देखि मुडिकुवाको भाग र पाङराङ खण्ड कालोपत्रे हुन बाँकी छ । सेतीवेणीबाट सेतीखोला पुल तरेपछि ७ किलोमिटरको दुरीमा स्याङजाको मिर्मि पुगिन्छ । त्यहाँबाट झण्डै १२ किलोमिटरको दुरीमा रहेको रानीघाटमा पुग्न ९ किलोमिटर पक्कि सडक र २ किलोमिटर कच्चि सडकको यात्रा गर्नुपर्छ ।

झण्डै ७३ किलोमिटरको यात्रा पछि प्रसिद्ध रानीघाट अर्थात रानीमहल पुग्न सकिन्छ । एकै दिनको यात्रामा कुश्मा देखि रानीमहलको अवलोकन गरी पुनः कुश्मा फर्किनसक्ने भएका कारण यो खण्डको दुरी रानीमहल अवलोकनका लागि उपयुक्त हुने भएको छ । सेतीवणी देखि मिर्मिसम्मको सडकको स्तरोउन्नती गर्ने काम भईरहेका कारण केहि बर्षमा यो खण्डको सम्पूर्ण काम पुरा हुँदा केहि घण्टामै कुश्मा देखि रानीमहलको यात्रा सफल हुनेछ ।

रानीमहल देखि करिब १३ किलोमिटर दक्षिण लागेपछि भने पाल्पाको तानसेन पुग्न सकिन्छ ।

रानीमहलको महत्व
१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाइएको छ नेपालको ताजमहल। यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ।

१९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग–यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ ।

प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ । दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ । त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ । नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई युवायुवतीमात्र होईन सच्चा प्रेमको प्रतिक बन्ने गरेको छ ।