–ओमप्रसाद शर्मा घायल
‘भ्यालेन्टाईन डे’ विशेष कविता
फुलमाया !
हाम्रो मायाको भूगोलबाट
जब पंक्षीजसरी नै उडेर गयौ तिमी अर्कैको साम्राज्यमा
तवमात्रै मलाई बोध भयो तिमी नहुनुको पीडा
र मैले पहिलोपटक आफैमाथि गरेको
अञ्जान कुठाराघातको दुखद अनूभव गरेँ ।
पत्तै भएन फूलमाया !
समयले मलाई कसरी छकाइदियो
र बनाइदियो जिन्दगीको वेचैन मुसाफिर !
र योपनि थाह भएन
एकाएक किन विग्रियो हाम्रो प्रेमको अंकगणित
र बेरूजुमा परे थुप्रै सपनाहरू !
न तिमीले मलाई बुझ्न सक्यौं
नत मैले तिमीलाई बुझाउन सकेँ
आखिर एकदिन थाहै नपाई भयौ हामी
जीवनको सीमा वारि र पारि ।
एउटा पराजित सिपाहीजस्तो
एउटा थकित भरियाजस्तो
निकै उजाड भएको
जिन्दगीको चौतारीमा बसेर
मैले आज पहिलोपटक लेख्दैछु फुलमाया
तिम्रो र मेरो त्यही अव्यक्त प्रेमकथा ।
मलाई अझै थाहा छैन
प्रेममा पात्र प्रधान हुन्छकी मूल्य !
त्याग प्रधान हुन्छ कि प्राप्ती !!
मैले त यत्ति जान्दछु
तिमी थियौ र म थिएँ
हामी थियौं र थिए सायद धेरै प्रेमिल सपनाहरु ।
मलाई यो पनि थाह छ फुलमाया !
तिम्रो नाममा मेरो मनले
हरेकदिन लेख्थ्यो एउटा प्रेमपत्र
तिम्रो नाममा मेरो हातले
हरेकदिन टिप्थ्यो एउटा रातो गुलाब
र तिम्रो नाममा मेरो आँखाले
हरेकदिन कुर्दथ्यो तिमी हिँड्ने बाटो
तरपनि फुलमाया
कायरताको पराकाष्ठा
मनमै थन्किए ती प्रेमपत्रहरु
हातमै ओइलायो त्यो रातो गुलाब
र बाटोमै पर्खिरहे यी आँखाहरु
तर तिमी त्यही मेरो अव्यक्त मनलाई गिल्ला गर्दै
एकदिन उडेर गयौ अर्कैको साम्राज्यतिर ।
फुलमाया !
आज म धेरै भएर पनि रित्तो छु
सबै भएर पनि एक्लो छु
र यसरीनै जिन्दगीका धेरै अफ्ठ्याराहरुमा
त्यही अव्यक्त प्रेमको छायामुनि बसेर
अभिशप्त जपिरहेको छु–प्रेमको विछोडगाथा ।
हुनत भेटिनु र छुट्निु नै हो जिन्दगी
पाउनु र गुमाउनु नै जिन्दगी
उदाउनु र अस्ताउनु नै हो जिन्दगी
तर यही जिन्दगीको थोरै बाटो भएपनि
तिमीसँग हिँडेर पुग्नु थियो अलि परसम्म
र तिम्रै काखमा समर्पित गर्नुथियो यो एक अञ्जुली श्वास ।
तर लेखेको नभएपछि देखेर पाइँदोरहेनछ फूलमाया !
भाग्यको यही फैसलाबाट
जिन्दगीको यात्रामा
तिमी कतै पुग्यौ, म अन्तै हराएँ
फेरिपनि
तिम्रो सम्झना राखेर मनमा
तिम्रो सपना बोकेर आँखामा
म अलिकति तिम्रा लागि र अलिकति आफ्ना लागि
अझै दौडिरहेको छु जीवनको बाटो ।
तिमी जहाँ भएपनि
जसको भएपनि
खुसी खुसी बाँच्नु फुलमाया !
तर म यो शरीरमा श्वास रहुञ्जेल
तिमीलाई नै प्रेम गरिरहने छु ।
******************
(प्रेम गरेर पनि प्रेमको भूमिका निभाउन नसक्ने संसारका सबै कायर प्रेम जोडीहरुमा समर्पित कविता २०८० फागुन २ गते)
लेखक घायल पर्वत जिल्लामा रहेर पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छन् ।