Print

कुश्मामा देखियो समुदायमा कोरोना, पर्वतमा थप २ जना संक्रमीत

२६ भदौ, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएको छ । आज प्राप्त भएको रिर्पोटमा सदरमुकाम कुश्मा बजारमा बस्दै आएका १ जना ६८ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार उनी समुदायका ब्यक्ति हुन् । राजनैतिक गतिविधिहरुमा समेत सक्रिय उनमा आज मात्रै संक्रमण पुष्टि भएको हो । उनी कुश्मा नगरपालिका वडा न ३ निवासी हुन ।

आज क्वारेन्टाइनमा बस्दै आएका अर्का एक जना २३ बर्षिया पुरुषलाई पनि संक्रमण देखिएको छ । उनी कुश्मा ४ का बासिन्दा हुन । उनी भने जिल्ला बाहिरबाट आएका थिए । बाहिरबाट आएका कारण उनी क्वारेन्टाइनमा बस्दै आएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए ।

संक्रमीत ६८ बर्षिया पुरुष सामाजिक कार्यक्रमहरुमा समेत सहभागी भएका कारण उनको सम्पर्कका ब्यक्तिहरुको पहिचान गरी स्वाब संकलन कार्यको प्रक्रिया अघि बढेको कुश्मा नगरपालिकाले जनाएको छ ।

यस अघि पनि पर्वतको आम्बोट, पराधि (ओढारे) र कुश्मा बजार क्षेत्रमा पनि समुदाय स्तरमा संक्रमण देखिएको थियो । उनीहरुको ट्रेसिङ गर्दा थप ब्यक्तिहरुमा भने कोरोना पुष्टि भएको थिएन् ।