Print

कुश्मामा समुदायमा कोरोना : अत्यावश्यक बाहेकका पसल बन्द र हिडडुलमा कडाई हुने

२६ भदौ, पर्वत । जिल्लामा दोस्रो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । पहिलो पल्ट अस्पतालका स्वास्थ्यकर्मी, उनीहरुको परिवार र राजमार्गका होटल सञ्चालकमा संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरी परिक्षण गर्दा अन्यमा भने संक्रमण फैलिएको पुष्टि भएको थिएन् । थप संक्रमीत नभेटिँदा अवस्था सामान्य बन्दै गएको थियो ।

आज पुनः समुदायका विभिन्न कार्यक्रमहरुमा सहभागी राजनैतिक ब्यक्तिलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि पुनः पर्वतको कुश्मा बजारलाई कडाई गरिने भएको छ । आज मात्रै जिल्ला प्रशासन कार्यालयमा भएको सिसिएमसिको वैठकले कुश्मा बजार क्षेत्रलाई एक हप्ता आंशिक बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सम्भु रेग्मीका अनुसार सम्पर्कमा रहेका ब्यक्तिहरुको रिर्पोट नआउन्जेल अत्यावश्यक बाहेकका पसल बन्द गर्ने र हिडडुलमा कडाई गरिनेछ ।

कुश्मा नगरपालिका वडा न ४, ५, ६ र ७ क्षेत्रमा मात्रै कडाई गर्न लागिएको उनले जानकारी दिए । मध्यपहाडी लोकमार्गमा सञ्चालन हुने सवारी साधनमा भने थप कडाई गरिनेछैन । यसैगरी बजार क्षेत्रमा सवारी साधन सञ्चालनमा पनि कडाई गरिनेछ ।

थप ट्रेसिङको रिर्पोट नआउञ्जेल सम्मका लागि बजार क्षेत्र बन्द गरिने तर बजार सिल भने नगरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।