Print

इसिडि शिक्षकको तलब बृद्धि गर्न सरकारसंग सांसद गिरीको माग

७ असार, पर्वत । बुधवार प्रतिनिधि सभामा इसिडि शिक्षकमाथि सरकारले श्रम शोषण गरिरहेको विषय उठान भएको छ । प्रतिनिधि सभा सदस्य पदम गिरीले इसिडि शिक्षक माथि सरकारले श्रम शोषण गरिरहेको भन्दै संसदको ध्यानाकर्ष गराएका हुन् ।

सांसद गिरीले सरकारको २०७६/०७७को बजेटमा शिक्षक कर्मचारीहरुको तलब २० प्रतिशतले बढाइनु स्वागतयोग्य कदम भएपनि साना नानीबाबुहरुलाई पढाउने सिकाउने, ती नानीबाबुको सिगान, दिसापिसाव पुछेर अक्षर चिनाउने इसिडि शिक्षकहरुको तलब एक पैसा नबढाइएको भन्दै आक्रोस व्यक्त गरे ।

‘नेपाल सरकारले लागू गरेको श्रम ऐनमा प्रत्येक श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार पाँच सय निर्धारण गरिएको छ । तर, दुर्भाग्य साना बाबुनानीको सिगान पुछेर अक्षर चिनाउने ति इसिडि शिक्षकहरु महिनाको ६ हजारमा काम गर्न बाध्य छन् । उनीहरुको श्रमको शोषण भएको छ ।’ सांसद गिरीले भने ।

‘म भर्खरै गाउँमा पुगेर आएको थिए । बजेट भाषण हुँदा दुवैखाले शिक्षकहरु सँगै बसेर भाषण सुनिरहेका थिए । जहाँ एकाथरि शिक्षकको तलब वृद्धि भइरहेको थियो भर्ने अर्काथरिएको एक रुपिया पनि बढेको थिएन ।’ उनले दुखेसो पोखे ।