Print

लम्साल काठमाण्डौंको डेरा फलेवासमा सार्दै, अधिकारी, नेपाली र गुरुङ पोखरामा डेरा खोज्दै

१८ माघ, पर्वत । अघिल्लो साता प्रदेश सभा सदस्यलाई शपथग्रहण गरिएको प्रदेश ४ मा पहिलो बैठक २२ माघमा बोलाइएको छ ।

तर, प्रदेश सभा सदस्यहरू भने अस्थायी राजधानी पोखरामा डेराकै खोजीमा छन् । पर्वतका सांसदहरूले प्रदेश राजधानीमा डेरा खोजिरहेको बताए ।

पर्वत ‘क’बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले पोखरामा डेरा खोजिरहेको बताए । उनले भने, ‘मन्त्री नै भइयो भने केही व्यवस्था होला । तर, अहिले डेराकै खोजीमा छु ।’

माओवादी केन्द्रबाट निर्वाचित अधिकारीले सरकारले उचित व्यवस्था नगरुन्जेल डेरामै बस्ने बताए ।

प्रदेश सभा सदस्यको शपथग्रहण गरेयता डेरा व्यवस्थापनकै क्रममा रहेको सांसद जुनादेवी नेपालीले बताइन् ।

कुश्मा नगरपालिका–१० पिपलटारीमा बस्दै आएकी सांसद नेपाली नेकपा (एमाले)बाट समानुपातिक सांसद हुन् ।

डेरा व्यवस्थापन गर्न गाह्रो भएको बताउँदै उनले भनिन्, ‘यस अघि पोखरामा पेसा–व्यवसाय केही थिएन, त्यसैले अहिले डेराकै खोजीमा छु ।’

पर्वतको देउपुरकी ललितकला गुरुङ पनि प्रदेश ४ को अस्थायी राजधानीमै डेरा खोजिरहेकी छिन् ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद गुरुङ पोखरामा आफन्त भए पनि व्यवस्थित रूपमा बस्नका लागि डेरा नै खोज्ने बताइन् ।

उनले भनिन्, ‘जिल्लामा नियमित आवतजावत गरुँला, अहिले डेरा खोजेर पोखरामै बस्छु ।’

पर्वत ‘ख’बाट निर्वाचित प्रदेश सभा सदस्य विकास लम्सालले भने घरबाटै आवतजावत गर्ने बताए ।

मन्त्रीको दौडमा रहेका लम्सालले भने, ‘कहिलकाहीँ पाहुनाका रूपमा पोखरामा बसुँला, तर डेरा नै जमाएर पोखरामा बस्ने सोच छैन ।’

एमालेबाट निर्वाचित लम्सालले आफ्नो घर फलेवासबाट सीधै यातायात सञ्चालनमा रहेकाले डेरामा नबस्ने विचार गरेको बताए ।

पर्वत क्षेत्र नं. १ : नेत्रनाथ अधिकारी

माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत रहेका नेत्रनाथ अधिकारी पर्वतको कुश्मा नगरपालिका १ पाङका स्थायीबासिन्दा हुन् ।

उनी वाम गठबन्धनकोतर्फबाट प्रदेश सभातर्फ पर्वत क्षेत्र नं. १ बाट विजयी भए ।

पोखरामा प्रदेश कार्यालय खडा भइसक्दासम्म उनी अहिले पनि डेराको व्यवस्थापनमा नै रहेका छन् ।

सरकारले हालसम्म उचित व्यवस्था नगरुञ्जेल आफू पोखरामा डेरा खोजेरै बस्ने अधिकारीले बताए । उनले भने, ‘मन्त्री नै भइयो भने कुनै प्रावधान होला, तर अहिले डेराकै खोजीमा छु ।’

पर्वत क्षेत्र नं. २ : विकास लम्साल

पर्वत क्षेत्र नं. २ बाट निर्वाचित सांसद विकास लम्साल एमाले पर्वतका पूर्वअध्यक्ष हुन् ।

वाम गठबन्धनकैतर्फबाट विजयी भएका लम्सालले आफू घरबाटै प्रदेशसभामा सहभागिता जनाउन आउने जाने वातावरण सिर्जना गरेको बताए ।

यसअघि पनि सोही क्षेत्रबाट निर्वाचन जितेका लम्सालले पर्वतको फलेवास नगरपालिकासम्म पोखराबाट सिधा यातायात सञ्चालन भइरहेको र पोखरा फलेवासका लागि थप यातयातका साधनहरू सञ्चालन गर्ने सोचसँगै आफू प्रदेश सभाको बैठकमा घरबाटै आउने जाने योजना बनाएकाले पोखरामा नबस्ने निधो गरेको बताए ।

‘कहिले काहीँ पाहुनाको रूपमा पोखरामा बसुँला, तर डेरा नै जमाएर पोखरामा बस्ने सोच छैन,’ उनले भने ।

आफ्नो व्यक्तिगत कामको सिलसिलामा जिल्लाबाहिर रहेका लम्सालले आफू मन्त्री हुने दौडमा रहेको जानकारी गराउँदै जिल्लाबाटै आउने जाने कार्यमा व्यवस्थापन गरिरहेको जानकारी दिए ।

जुनादेवी नेपाली, प्रदेश सभा सांसद (समानुपातिक)

पर्वतको कुश्मा नगरपालिका –१० पिपलटारीमा घर भई एमाले पर्वतबाट दलित महिला कोटाबाट समानुपातिक सांसदमा चयन भएकी जुनादेवी नेपाली पनि डेरा व्यवस्थापनकै ध्याउन्नमा छिन् ।

पोखरामा उचित बासस्थानको कुनै व्यवस्था नभएकले प्रदेश सभामा सहभागिताजनाउन डेराकै खोजीमा रहेको उनले बताइन् ।

 

 

ललितकला गुरुङ, प्रदेश सभा सांसद (समानुपातिक)

पर्वतको देउपुरमा घर भई कांग्रेस पर्वतको तर्फबाट समानुपातिकतर्फ जनजाति महिला कोटाबाट सांसद बनेकी ललितकला गुरुङ पनि पोखरामा डेराको खोजीमा छिन् ।

प्रदेश सभामा भाग लिन पोखरामा नै डेरा खोजेर बस्ने सोचमा रहेको उनले नयाँ पत्रिकालाई बताइन् ।
पोखरामा आफन्तहरू भए पनि व्यवस्थित रूपमा बस्ने योजनासहित डेराको खोजिमार रहेको उनको भनाइ छ ।

जनतासँग सम्पर्कमा रहन पोखराबाटै जिल्लामा कहिले काँही आवतजावत गर्ने सोच बनाएको उनले बताइन् ।

सन्तोष थापाले  नयाँ पत्रिकाको लागि लेखेको समाचार