२६ साउन,पर्वत । दैनिक हजारौ सवारीसाधन ओहोरदोहोर गर्ने राजमार्गको आडैमा भएरपनि यहाँको एक प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल ओझेलमा परेको छ । पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत अवस्थित पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गमा रहेको सहस्रधाराधाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेश गर्दा सहस्रधारामा स्नान र दर्शन गरेर मात्र जानुपर्ने मान्यता रहेको सहस्रधारमा पछिल्लो समयमा आन्तरिक र बाह्य पर्यटक तथा तीर्थालु शुन्य बनेका छन् ।
पैदलमार्गबाट आउने तीर्थालुले बास बस्ने र स्नान गरेर मात्र फर्कने यस स्थान पोखरा बागलुङ्ग सडक निर्माणसँगै ओझेलमा परेको हो । पछिल्लो समयमा यसलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्य सहित १ सय ८ धारा निर्माण गरिएपनि मुस्ताङ्ग जाने आन्तरिक पर्यटक र तीर्थालुहरु उक्त स्थलमा जान छाडेको स्थानियको भनाई रहेको छ । करोडौ रकम खर्चिर पूर्वाधार तयार गरिएपनि भक्तजनहरु सवारीसाधनबाट ओर्लिएर धामसम्म पुग्दैनन् स्थानिय राजुप्रसाद पौडेलले भन्नुभयो ।
सहस्रधारामा हिन्दु धर्मशास्त्रमा माता पार्वतीले तपस्या गरेको भन्ने किम्बदन्तीका आधारमा यस स्थानलाई पवित्र स्थान मानिन्छ । कालञ्जर पर्वत अर्थात पर्वतको हम्पाल क्षेत्रबाट अलप भएको जल पाङमा आएर निस्किएको र त्यहाँ स्नान गर्नाले मनोकामना पुरा हुने तथा विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको छ ।
तिर्थालुहरुको सहजाताका लागि हाल उक्त स्थानमा १ सय ८ गौ धारा निर्माण गरिएको सहश्रधारा दिव्यधाम विकास समितिका सदस्य समेत रहेका राजुप्रसाद पौडेलले भन्नुभयो । पोखरा बाग्लुङ्ग राजमार्गमै पर्ने भएपनि यस स्थानमा अहिले धार्मिक पर्यटकहरुको घुईँचो लाग्न नसकेको हो । सहश्रधारा दिव्य धाम र राष्ट्रिय परोपकार महासंघकले दुई वर्ष अघि संचालन गरेको महायज्ञबाट उठेको रकमले यहाँ बिभिन्न संरचनाहरु निर्माण भएका हुन् ।
हाल सहश्रधाराको वरिपरि विभिन्न पूर्वाधार बनिसकेका र अहिले बनेका पुर्बाधारका कारण तीर्थालुहरु बढ्ने बिश्वास स्थानियबासीको छ । सहस्रधारालाई धार्मिक र पर्यटकीय रुपमा पवित्र र प्रसिद्ध पनि भएका कारण यस क्षेत्रको विकासका लागि अझै धेरै गर्नुपर्ने आबश्यकता रहेको पौडेलले बताउनुभयो ।
धेरै वर्ष पहिलादेखि नै सहश्रधारामा लक्ष्मी नारायणको मन्दिर निर्माण गरि मुक्तिनाथ जाने आउने तिर्थालुहरुका लागि निशुल्क बस्ने तथा खाने व्यवस्था गरिँदै आएको र आगामी दिनमा पनि सोही अनुसार नै अगाडी बढाईने स्थानीयहरु बताउँछन् । हिन्दुधर्माबलम्बीहरुको पबित्र तीर्थस्थल मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने तीर्थालुहरुको प्रबेशद्वारको रुपमा रहेको सहस्रधारामा स्नान गर्न आउने तीर्थालुलाई खान र आवासका लागि धर्मशाला तथा मुक्तिनारायणको आकर्षक मन्दिर निर्माण भैसकेको छ ।
पोखरा बागलुङ्ग राजमार्ग निर्माण पुर्ब पैदल यात्राबाट मुक्तिनाथ पुग्ने स्वदेशी र भारतीय समेत तीर्थालुहरुले एकरात सहस्रधारामा बिताउँदै आएका थिए । अहिले पनि यहाँ पुग्ने सबै तीर्थालुलाई खान र बस्न निशुल्क ब्यबस्था हुँदै आएको छ ।




