२६ साउन,पर्बत,/ सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्ग्न्धित बन्न थालेको छ । कुश्मा नगरपालिकाको कुश्माबजारबाट दैनिक निस्किने फोहरले पोखरा–बाग्लुङ राजमार्गमा दुर्गन्ध फैलिएको हो ।
नगरपालिकाले फोहर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर राजमार्ग भत्किने खतरा बढेको छ भने अर्को्तिर फोहर सिधै कालीगण्डकीमा खस्दा नदीमा प्रदूषण बढेको छ । सदरमुकाम कुश्मास्थित जिरो किमीदेखि करिब एक किमीको दूरीमा रहेको छमर्केमा एक दशकदेखि निरन्तर सदरमुकामको फोहर फालिदै आएको छ ।
सदरमुकाम कुश्मामा मात्रै दैनिक १० टन फोहर संकलन हुन्छ । सदरमुकामको सबै फोहर राजमार्गमा फालिंँदा दुर्गन्धले स्थानीय, सवारी चालक र तिनमा यात्रारत यात्रीहरु बढी समस्यामा पर्ने गरेका छन् । फोहरले यहाँ बस्न समेत नसकेको स्थानिय बासिले बताएका छन् ।
सदरमुकामको फोहर व्यवस्थापनको जिम्मा स्थानीय ‘सफा कुश्माका लागि सामूहिक अभियान’ संस्थाले लिँदै आइरहेको थियो । फोहर व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले उक्त संस्थालाई एक ट्र्याक्टर र एक कन्टेनरसमेत दिएको छ । जिम्मा पाएका कर्मचारीहरुले संस्थाले भने बमोजिम आफूहरुले राजमार्गमा फोहर विसर्जन गरेको जनाएका छन् । आफुलाई फोहोर जहाँ फाल्न भनेका छन् त्यहि फाल्ने गरेको फोहोर व्यवस्थापनका कर्मचारी कुमार नेपालीले बताउनुभयो ।
राजमार्गमा यात्रा गर्दा बसभित्रै नाक थुन्नुपर्ने समस्या रहेको यात्रु गोपाल पराजुलीले बताउनुभयो । गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीले बताएका छन् । दैनिकको फोहरले कुश्मा–बागलुङखण्डको छमर्के क्षेत्रको भाग पहिरोको जोखिममा छ । फोहर फाल्ने ठाउँ नहुँदा निर्माणका लागि वर्षेनी कुश्मा नगरपालिकाबाट बजेट विनियोजन गरे पनि अझै ठाउँ तयार हुन सकेको छैन । नगरपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा कुश्माबजारको फोहर व्यवस्थापन गरिने नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले चालू आवमै फोहर फाल्ने ठाउँ निर्माणका लागि काम शुरु गरिने बताउनुभयो ।
राजमार्गमा फालिने फोहर सिधै कालीगण्डकी किनारमा जान्छ । यसले नदी दुर्ग्न्धित भएको भन्दै केही सरोकारवालाले फोहर विसर्जनप्रति आपत्ति जनाएका छन् । कालीगण्डकीलाई पवित्र नदी र विशेषगरी विदेशीले फेमिली रिभरका रुपमा लिने गरेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो । त्यही नदीमा फोहर विसर्जन गर्दा एकातिर पर्यटकको आकर्षण घट्छ, अर्का्तिर पवित्र मानिएको कालीगण्डकी प्रदूशित बनेको छ । सदरमुकामका बासिन्दामा चेनताको अभावका कारण पनि सदरमुकामको फोहर व्यवस्थापनमा बेथिति बढेको स्थानीयवासीको भनाइ छ ।




