Print

पूर्वाधार नहुँदा विहादीमा कार्य सञ्चालनमै समस्या

६ जेठ, पर्वत । आवश्यक पूर्वाधार नहुँदा स्थानीय तह सञ्चालनमा जिल्लाका स्थानीय तहका प्रमुखहरुलाई समस्या परेको छ । जिल्लाका ७ तह मध्ये विहादी गाउँपालिकामा आधारभूत पूर्वाधार समेत नहुँदा कार्यालय सञ्चालन र दैनिक कार्य सञ्चालनमा समस्या परेको हो ।

गाउँपालिकाको कार्यालय नजिक न बजार छ न, सुविधा सम्पन्न बजार नै । अस्थायी कार्यालयको रुपमा गाउँपालिकाले भाडा लिएर सञ्चालन गरेको एउटा घरमा कोठाहरुको अभाव छ । वैठक कोठा र अन्य कर्मचारीको कार्य कक्ष ब्यवस्थापन गर्न निकै समस्या परेको देखिन्छ ।

विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषाल भन्छन–‘औपचारिक रुपमा मात्र कार्यालय सञ्चालन गरेका छौं ।’ आवश्यक कोठाहरु सहितको भवन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समस्या परेको बताउदै उनले सदरमुकाम देखि विकट क्षेत्रको रुपमा विहादी गाउँपालिका रहेको हुँदा भौतिक पूर्वाधारहरुको निकै ठूलो समस्या परेको बताए । बाह्रै महिना सडक सञ्जालमा सदरमुकामसंग प्रत्यक्ष नजोडिने उक्त गाउँपालिकाको केन्द्र वहाकीठाँटीमा बजारको विस्तार नभएको र कार्यालय रहेको स्थानमा जनसम्पर्क गर्न समेत समस्या परीरहेको भुषालले बताए ।

सञ्चार, यातायात र बजार पहुँचबाट टाडा रहेका कारण उक्त गाउँपालिका सञ्चालन गर्न समस्या परीरहेको उनको भनाई छ । गाउँपालिकाको पहिलो अध्यक्षको रुपमा निर्वाचित नेकपा एमालेको तर्फबाट निर्वाचित उनले आफ्नो कार्यकालको पहिलो प्राथमिकता गाउँको विकास भन्दा आफ्नै कार्यालय ब्यवस्थापन नै पहिलो रहेको बताए । स्थानीय जनताले गाउँपालिकासंग विकासका थुप्रै अपेक्षाहरु गरीरहे पनि सिमित बजेट र अब्यवस्थित गाउँपालिकाका कारण आफूले सोचे बमोजीमको सम्बृद्ध विहादीका योजनाहरु तत्काल कार्यान्वयन गर्न समस्या परेको उनले बताए ।

शिक्षा, स्वास्थ्य, कृषि र जलश्रोतको विकासबाट बिहादी अन्य गाउँपालिका भन्दा सम्बृद्ध गाउँपालिका बन्ने थुप्रै अवसरहरु रहेपनि त्यसको समुचित प्रयोगमा ध्यान जान अझै केहि समय लाग्ने समेत बताए । राज्यले सामान्य पूर्वाधार पनि नभएका स्थानहरुमा गाउँपालिका र नगरपालिकाको केन्द्र तोकेका कारण पनि त्यसको ब्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई समस्या भईरहेको छ ।