Print

‘पहिरोमा पुरिएर झन्डै मरिनँ ’

यम क्षेत्रीका जुन गीत सुन्यो, उही रमाइलो । ‘माली गाईको दही मीठो’, ‘शीतल दिने पीपल समी छ’, ‘फूल राम्रो गुलाबको काँडा भए नि’, ‘घामले नि पोल्दियो, जूनले नि जाडो भो’लगायत सबैजसो गीत श्रोता-दर्शकले रुचाए । उनले दुई सयभन्दा बढी गीतमा स्वर भरिसकेका छन् । तर, उनै गायक क्षेत्रीका जीवनमा ठुल्ठूला हन्डर र ठक्कर आइलागे । कुनै घटनाले अहिलेसम्म पनि उनलाई निकै दुःखी तुल्याउँछ भने कुनैले रमाइलो गराउँछ, क्षेत्रीलाई । नयाँ पत्रिकाका कृष्ण कट्टेलसँग उनले सुनाए:

पहिरोमा पुरिएर झन्डै मरिनँ
पर्वतको पाङ–९ सिदालीमा मेरो घर । सानो छँदा जीवन त्यहीँ बित्यो । त्यतिखेर धेरैपटक मृत्युको मुखमा पुगेर पनि बाचेँ । १०-११ वर्षको थिएँ होला, बारी बिराउने क्रममा पहिरोमा पुरिएँ । माहिला दाइसँगै सुर्का जग्गा बिराएर ठूलो गह्रो बनाउने काममा सक्रिय थिएँ । अग्लो कान्लो भएको एउटा सुर्को खन्दै थियौँ । त्यही क्रममा अग्लो कान्लोको ठूलो ढिस्को एक्कासि ह्वात्तै खस्यो । म भाग्नै सकिनँ । पहिलोमा पुरिएँ । त्योवेला एक्लै हुन्थेँ भने निस्किने कुनै उपाय नै थिएन । सायद, मर्थें । तर, सँगै दाइ पनि भएकाले हतार–हतार पहिरोको ढिस्को पन्छाएर मलाई निकाल्नुभयो । दाइले निकाल्दा त बेहोस अवस्थामा रहेछु । शरीरभरि चोटैचोट लागेको रहेछ । पछि नजिकै खोलामा लगेर दाइले ‘पानी खान्छस् ?’ भनेर सोध्दा पो होसमा आएँ । त्यसपछि आफ्नै हालत देख्दा झन् डर लाग्यो ।

त्यो दुर्घटनापछि करिब एक महिना आराम गरेँ । नजिकै सुविधासम्पन्न अस्पताल थिएन । अनदीको ढिँडो र चिप्लेकिरा खाएर गिलगिलिएको शरीर सुधार्ने काम भयो । चिप्लेकिरा खाँदा टुटेका हड्डी जोडिन्छन् र घाउ चाँडो निको हुन्छ भन्ने मान्यता थियो । त्यतिखेर मलाई बचाउने दाइ द्वन्द्वकालमा बेपत्ता हुनुभयो । अहिले जिउँदो÷मर्दो पत्तो छैन । त्यो घटना सम्झिँदा दाइको यादले मन दुखिरहन्छ ।

धेरै दाँत एकैपटक भाँचिएको क्षण
पहिरोमा पुरिएर पनि बाँचेको केही समयपछि अर्को दशा आइलाग्यो । सानै उमेर भएकाले आफ्नै खलकका दाजुभाइ (बाउ–बाउका छोरा) मिलेर खेल्ने गथ्र्यौं । भेडाबाख्रा चराउन जाने अनि पोखरी बनाएर पौडी खेल्ने गथ्र्यौं । गोठालो जाँदा भीरको बाटोबाट वारिपारि गर्नुपथ्र्यो । भीरमा एक ठाउँमा फड्को मार्नुपर्ने ठाउँ थियो । घुमाउरो बाटो गए त सजिलै पनि थियो । तर, हामी फड्किएर भए पनि सोझै बाटो जाऊँ भन्थ्यौँ । एक दिन अघिल्तिर ठुल्दाइ बलबहादुर क्षेत्री हुनुहुन्थ्यो । उहाँ ठूलो मान्छे, फुत्तै पारि पुगिहाल्नुभयो । तर, मैले फड्को मार्नेवेला बल पुगेन । पारि पुग्नुपर्ने मान्छे, म त भीरतिर खँदारिएँ । ठूलो ढुंगोमा गएर बजारिएँ । त्यतिखेर मेरा प्रायः दाँत भाँचिए । दाँत सखाप भए पनि ज्यान भने जोगियो । ठुल्दाइले भीरबाट निकाल्नुभयो र बोकेर घर पुर्याउनुभयो । औषधि उपचार गरेपछि पनि लामो समय आराम गर्नुपर्यो । झन्डै तीन महिनामा तन्दुरुस्त भएँ ।

रूखबाट खसेर पनि बाँचेँ
विद्यालयबाट घर फर्किंदा साथीभाइ मिलेर बुटेडुम खेल्थ्यौँ । एउटा रूख चढेपछि भुइँमा नझरी अरू हाँगा र अरू रूखमा जान प्रतिस्पर्धा गर्ने खेललाई बुटेडुम भन्थ्यौँ । एकदिन घरमुनिकै लाँकुरीको रूखमा साथीभाइसँग बुटेडुम खेल्दै थिएँ । एक्कासि लडेँ । अग्लै ठाउँबाट पछारिएको थिएँ । धन्न, संयोगले बाचेँ । बाल्यकालमा यस्ता धेरै दुर्घटनामा परेर पनि भाग्यबस बाँचेँ ।

मोटरसाइकल खाल्डोमा खस्दा
गीत संगीतमा लागिसकेपछि पनि दुर्घटना धेरै निम्तिए । गम्भीर प्रकृतिका मोटरसाइकल दुर्घटनामा परेँ । ०६३ तिर साथीहरूसँग बालाजु बाइसधारामा स्विमिङ गर्न गएको थिएँ । त्यतिखेर भर्खर–भर्खर मोटरसाइकल चलाउन सिक्दै थिएँ । सांगीतिक क्षेत्रकै साथीहरू वसन्त थापा, प्रह्लाद सुवेदीलगायत हुनुहुन्थ्यो । वसन्तजीले अगाडि लगेर मोटरसाइकल साइडमा पार्किङ गर्नुभयो । म पनि त्यहीँ लगेर बाइक राख्छु भन्दा नजिकै रहेको ठूलोमा खाल्डो पो जाकियो । त्यसवेला म बाइकमुनि परेर च्यापिएँ । खाल्डोमा पानी पनि जमेको रहेछ । संयोगबस त्यो खाल्डोमा फलामको तार रहेनछ । तर, पनि मेरो खुट्टामा काँडैकाँडा बिज्यो । साथीहरूले निकालिदिनुभयो । त्योवेला ठूलो घाउचोट भने लागेन ।

मोटरसाइकलसँगै भीरबाट खसेँ
०६६-६७ सालतिर व्यावसायिक क्षेत्रमा लागेका केही साथी सामाखुसीबाट ककनीतिर गइयो । शुक्रबारको दिन थियो । ककनीमा जहाँ बस्न गएका थियौँ, त्यो होटेल खाली रहेनछ । फर्किने योजना बनायौँ । तर, पानी परिरहेको थियो । मैले बाइक स्टार्ट गर्न लागेँ, तर बाईक स्टार्ट नै भएन । ओरालो ठाउँ थियो । स्टार्ट नभएपछि साथी दीपेन्द्र अधिकारीले पछाडिबाट धकेल्नुभयो । त्यसपछि म अगाडि जाँदा बाइकसँगै भीरमुनि लदारिएँ । यति तल पुगेँ कि भीर हेर्दा बाँच्ने सम्भावना नै थिएन ।

त्यस्तो घटनामा परेर पनि बाँच्न जुरेको रहेछ । तल पुगेको म आफैँ उठेर माथि निस्किन सकेँ । मेरो अवस्था देख्दा अरू साथीले पत्याएनन् । उनीहरूले बाहिर नदेखिए पनि भित्र चोट लागेको होला भन्थे । तर, मलाई केही भएको थिएन । मोटरसाइकल भने तत्कालै निकाल्न सकिएन । भोलिपल्ट धेरै मान्छे लगेर निकालियो । गाडीमा राखेर मोटरसाइकल काठमाडौं ल्याइयो । यो घटनामा परेपछि मलाई लाग्न थाल्यो, ‘काल नआई मरिँदैन भन्थे, हो रहेछ !’

जब कतारमा महिलासँग ठोकिएँ
सांगीतिक यात्राको क्रममा मेरो पहिलो विदेश भ्रमण कतार थियो । ०६५ को कुरा हो । कतार यात्रामा कलाकारहरू विष्णु सापकोटा (हर्के हवल्दार), सम्झना बुढाथोकी, बाबु बोगटी, पुष्कल शर्मालगायत सँगै थियौँ । त्यहाँका मुस्लिम महिला मुखदेखि शरीरका सबै अंग छोपेर हिँड्ने गर्छन् । उनीहरूलाई जिस्कायो, बोल्यो वा छोयो भने र उनीहरूले उजुरी गरे भने ठूलै कारबाही हुने भन्ने कानुन नै छ भन्ने सुनेको थिएँ । त्यसैले पनि पहिलो कतार यात्रामा सडकमा हिँड्दा हल्का डरजस्तो लागिरहेको थियो । तर, नसोचेको भयो । बाटो हिँड्ने क्रममा बुर्का लगाएकी एउटी महिलासँग झुक्किएर ठोकिन पुगेछु । विष्णु सापकोटा त्यो घटनाले एकदमै डराउनुभयो । अब के हुने हो, बर्बादै हुने भयो भनेर असाध्यै आत्तिनुभयो । तर, त्यतिखेर ती महिलाले खासै नराम्रो प्रतिक्रिया जनाइनन् । बिस्तारै मनमा त्रास हट्यो ।

शिशिर योगी गुफामा अड्किँदा
सांगीतिक यात्राकै क्रममा केही अचम्मका क्षण पनि छन् । ०६६ तिर भारतको दिल्लीमा गीत गाउन जाँदा एकजना भाइले मलाई खोज्दै आएर मेरो खुट्टामा ढोग्नुभयो । उहाँ बाग्लुङको भाइ हुनुहुँदो रहेछ । मैले ‘पर्दैन–पर्दैन’ भन्दै रोक्न खोजेँ । तर, उहाँले ‘तपाईं त मेरो भगवान्जस्तो हो’ भनेर खुट्टा ढोग्नुभयो । मेरा ‘सेन्टिमेन्टल’ गीत उहाँ औधी रुचाउनुहुँदो रहेछ ।

सांगीतिक यात्राको क्रममा भेटिएका खुसीका क्षण प्रशस्तै छन् । ०६१ तिर मैले पहिलोपटक गीत रेकर्ड गर्दा धेरै टेक खानुपरेन । त्यो पनि एउटा खुसीकै क्षण हो । धौलागिरी क्यासेट सेन्टरमा मिडिया म्यानेजरका रूपमा काम गर्दा गायक शिशिर योगी दाइसँग धेरै घुमेँ । एकपटक पर्वतको प्रख्यात गुप्तेश्वर गुफामा पुग्यौँ । त्यहाँ सिँडीबाट गुफाभित्र छिर्न सक्यो भने धर्म गरेको र छिर्न नसक्दा पाप गरेको ठहरिने मान्यता छ । हामी पनि छिर्ने प्रयास गर्यौँ । शिशिर दाइले, मैले त पाप गरेको छैन भन्दै छिर्ने प्रयास गर्नुभयो । उहाँ त्यतिखेर मोटो हुनुहुन्थ्यो । छिर्न सक्नुभएन । उहाँ त भित्र पनि जान सक्नुभएन र बाहिर निस्किन पनि सक्नुभएन । त्यसवेला उहाँलाई बल्लतल्ल गुफाबाट निकाल्यौँ । यो क्षण पनि  भुल्न सक्दिनँ । – नयाँ पत्रिकाबाट साभार