Print

विपक्षीलाई भारी मतान्तरले हराएका मोदी गाउँपालिकाका अध्यक्ष पौडेल को हुन ?

२९ जेठ, पर्वत । लोकप्रिय मत ल्याएर विजयी भएका मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल मिडिया माझ नछाएका पात्र हुन । पाटीको आन्तरीक राजनीतिमा पटक पटक हार बेहोरेका पौडेल जनता माझ भने कहिल्यै पनि हारेनन । एमालेको तर्फबाट मोदीगाउँपालिकामा नेपाली कांग्रेस पर्वतका पाटी सचिव विश्वप्रकाश प्रसाईलाई सानदार मतले हराउँदै विजयी भएका शालिन स्वभावका जनप्रिय नेता पौडेलको राजनैतिक जीवनका बारेमा खासै चर्चा भएको पाइदैन ।

लघुवित्त सञ्चालन गर्ने गैर सरकारी संस्थाबाट सामाजिक कार्यमा सक्रिय बनेका प्रसाई नेपाली कांग्रेसबाट उमेदवार बनेसंगै उनको प्रभाव निकै शक्तिशाली हुने अनुमानलाई परास्त पार्दै पौडेलले प्रसाईलाई झण्डै २ हजार मतको अन्तरले पराजीत पारे । जिल्लाका अन्य ६ वटा स्थानीय तहमा नदेखिएको मतान्तर मोदी गाउँपालिका देखियो । यो मतअन्तरसंगै जिल्लामा अहिले पौडेलेको निकै ठूलो चर्चा शुरु भएको छ । शान्त, सरल र मिजासिलो स्वभावका पौडेलको राजनैतिक जीवनको बारेमा पर्वत न्यूज डटकमले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

को हुन् पौडेल ?

सानै उमेरदेखि राजनीतिमा सक्रिय पौडेल मोदी गाउँपालिकाका लोकप्रिय नेताको रुपमा मानिन्छन् । २ हजार २० साल भदौ ८ गते बाबु पदमराज पौडेल र आमा रेवती पौडेलबाट साविकको देउराली गाविस वडा नंं ६ घुरुङ्गसेरामा जन्मिएका पौडेल निरन्तर कम्युनिष्ट राजनीतिमा क्रियाशिल छन् । स्नातक तह सम्मको अध्ययन गरेका पौडेलले २०३५ सालमा अनेरास्ववियू एकताको प्रथम पर्वत जिल्ला सम्मेलन आयोजक कमिटिको सचिब बनेर आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन् ।
२०३६ सालमा तत्कालीन नेकपा एमालेको युवा लिगमा संगठित बनेका पौडेल एउटा कुशल संगठकको रुपमा समेत परिचित छन् । २०३८ सालमा क्रान्तिकारी बुद्धिजिवि संघ बाजुङको सचिब भएपछि समाजसेवमा सक्रिय बने ।

२०४० सालमा अखिल नेपाल किसान संघको पर्वत जिल्ला सदस्य हुँदै २०४३ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए । पौडेलले २०४४ सालमा नेकपा मालेको इलाका कमिटि सदस्यको समेत जिम्मेवारी बहन गरेका थिए । त्यसैगरी २०४६ सालदेखि २०६६ सालसम्म लगातार २० वर्ष नेकपा एमाले पर्वतको जिल्ला कमिटि सदस्य रहेर काम गरेका पौडेल त्यागी नेताको रुपमा आम कार्यकर्तामाझ परिचित छन् । २०४९ सालमा बाजुङ गाविस अध्यक्ष भैसकेका पौडेल २०५४ सालमा बाजुङको गाविस अध्यक्षमा पुन दोस्रो पटक निर्वा्चित बनेका थिए । २०४९ सालमै एमालेको पाँचौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि, २०५७ सालमा सातौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि र २०७१ सालमा नबौ महाधिवेशन प्रतिनिधि समेत बनिसकेका छन् ।

कुनै लाभको पद नलिइकन गाउँमै बसेर निरन्तर राजनीतिमार्फत समाज सेवामा क्रियाशिल पौडेल २०६८ सालमा मदन भण्डारी फाउण्डेशन पर्वतको अध्यक्ष समेत बनेका थिए । २०७३ सालमा नेकपा एमालेको प्रदेश नं. ४संगठन कमिटिको सल्लाहाकार सदस्य बनेका पौडेल अहिले आएर मोदी गाउँपालिकाको अध्यक्षमा निर्वा्चित बनेका हुन् । उनले नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश प्रसाईलाई झण्डै २ हजारको मतान्तरले पराजित गरेका हुन् । उनले ५ हजार ६ सय ७३ मत प्राप्त गरेका थिए ।

दुई/दुई पटक गाविसको अध्यक्ष भएर काम गरिसकेका पौडेलले मोदी गाउँपालिकालाई समृद्ध बनाउनका लागि निरन्तर लागिरहने बताएका छन् । उनले जसरी मोदीवासीले आफुलाई भारी मत दिएर बिजयी बनाए त्यसैगरी अबको पाँच वर्ष भित्रमा सवै वडाहरुलाई समृह, आधारभूत सेवा सुवधाले पुर्ण बनाउनका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

के छन योजना ?

गाउँपालिका अध्यक्ष पौडेलले पर्वत न्यूज डटकमसंग कुरा गर्दै ठूला योजनाहरु सार्वजनिक गरेर उपलब्धि शुन्य देखाउनु भन्दा आवश्यकता अनुसारका योजनाहरु लागू गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सदरमुकाम केन्द्रित र कार्यालय समयमा कार्यालय नआउने कर्मचारीहरुलाई कार्यालय समयमा कार्यालयमा आउने र सेवा दिने ब्यवस्था मिलाउने आफ्नो पहिलो योजना रहेको बताए ।

पौडेलले कृषि क्रान्तिका लागि नियमित माटो परिक्षण गर्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताए । विशेषज्ञ टोलीसंग परामर्श गरी मोदी गाउँपालिकाको विकासका लागि गुरु योजना तयार गर्ने गरी आफूले काम गर्ने जानकारी दिए । कुरामा भन्दा काममा विश्वास राख्ने पौडेलले महिला हिंसा न्यूनिकरण, शैक्षिक क्षेत्रको विकास र विस्तारमा आफ्नो प्राथमिकता रहेको समेत बताए ।