Print

कृषकलाई सहुलियत भन्दा अनुगमनमा खर्च धेरै

२८ जेठ, पर्वत । कृषक सहुलियत भन्दा जिल्ला कृषि विकास कार्यालय पर्वतले अध्ययन र अवलोकन भ्रमणमा धेरै खर्च गर्ने गरेको छ । कृषकहरुको लागि सहुलियत दिनुपर्नेमा कार्यालय प्रचारमुखी बन्दै अनुगमनको नाउँमा लाखौं रकम बर्षेनी खर्च गर्ने गरेको खुलासा भएको छ ।

कार्यालयले एक आर्थिक बर्षमा अनुगमनको नाउँमा लाखौ रकम खर्च गर्ने गरेको छ । नेपाल कृषि प्रधानमूलक भएकाले राज्यले कृषि क्षेत्रमा ठूलो बजेट छुटाए पनि कार्यालयले भने बजेट कुम्ल्याउनकै लागि कृषकलाई गर्ने भन्दा अनुगमन गर्ने शीर्षकलाई प्राथमिकता दिएको हो । कार्यालयका एक कर्मचारीका अनुसार कृषकलाई प्रदान गर्ने सामाग्री खरिदमा समेत कार्यालयले अनियमितता गर्दै आईरहेको छ । कृषकलाई सहुलियतमा र निशुःल्क प्रदान गर्ने सामाग्री खरिद प्रक्रिया र खरिदका विजकहरुमा समेत कार्यालयले अनियमितता गर्दै आइरहेको कर्मचारीहरु बताउँछन ।

कृषि क्षेत्रको बजेट ठूलो हुने भएपनि कृषकहरुले भने यथोचित सहयोग प्राप्त गर्न नसक्दा कतिपय कृषकहरु कार्यालयसंग पटक पटक रुष्ट हुँदै आएका छन । एक कर्मचारी भन्छन–‘कृषकलाई सहयोग गर्ने भन्दा अनुगमन गर्ने शीर्षकहरु धेरै छन ।’ कार्यालयले बार्षिक कार्यक्रममा कृषक लक्षित भन्दा बढि कर्मचारी लक्षित कार्यक्रमहरु तय गर्ने गरेका छन । गोष्ठि, सेमिनार र भ्रमणमा गर्ने खर्चले जिल्लाको कृषि क्षेत्रको विकास नहुने कृषकहरुको गुनासो छ ।

उता, कार्यालयले भने अनुगमन र भ्रमणबाट मात्रै कृषकको क्षमता बृद्धि हुने भएकाले यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको बताएको छ ।