Print

यसरी गरियो पर्वतका सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

१३ वैशाख, पर्वत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा पर्वत जिल्लाका सातवटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय आजबाट स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र कुश्मा नगरपालिकाको कार्यालय पहिलानै स्थापना भएको भएपनि बाँकी १ नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन अधिकृत र सहायक कर्मचारी कार्यालय सञ्चालनका लागि मंगलवारदेखि खटिसकिएको बताइएको छ ।

यसैबीच ती गाउँपालिकामा निर्वाचन प्रक्रिया सञ्चालनका लागि मतदाता नामावली, दलगत तथा स्वतन्त्र उम्मेदवारी दिनेहरूका लागि आवश्यक सामग्रीसहित सुरक्षाकर्मी समेत परिचालन गरिसकिएको बताइएको छ ।

फलेवास नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका, विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैंयु गाउँपालिकामा एकैसाथ कार्यालय स्थापना गरी काम संचालन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको १३५ मतदान केन्द्रका लागि सुरक्षा प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयले एकीकृत रूपमा सुरक्षाको टोली परिचालन गर्ने तयारी गरिसकेको पर्वतका प्रजिअ, शम्भुप्रसादज मरासिनीले जानकराी दिनुभयो ।

पर्वतमा कुश्मा नगरपालिकाको जिम्मेवारी समेत हेर्नेगरी मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिस मोहनराज भट्टराई सहित अन्य ६ वटा गाउँपालिकामा निर्वाचन आधिकृत तोकिएको हो । यसैगरी फलेवास नगरपालिकामा कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत हिरामणी सुवेदीलाई खटाइएको छ । मोदी गाउँपालिकामा कास्की जिल्ला अदालतका श्रेस्तदार कृष्णप्रसाद शर्मा नेपाललाई तोकिएको छ ।

यसैगरी जलजला गाउँपालिकामा सर्वोच्च अदालतका उप रजिष्ट्रार विद्याराज पौडेललाई तोकिएको छ । विहादी गाउँपालिकामा फलेवास नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटा र महाशिला गाउँपालिकामा क्षेत्रीय प्रशासन कार्यालय पोखराका उप क्षेत्रीय प्रशासक कृष्णप्रसाद रेग्मीलाई तोकिएको छ ।

यसैगरी सर्वोच्च अदालका इजलास अधिकृत यज्ञप्रसाद आचार्यलाई पैयू गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।