२ वैशाख, पर्वत । पर्वतमा क्रियाशील साहित्यकारहरुले साहित्यिक रचना बाचन तथा शुभकामना आदान–प्रदान गरेर नयाँ बर्ष मनाएका छन् ।
पर्वत साहित्य सङ्गमको अगुवाइमा आज कुश्मामा आयोजना गरिएको मासिक साहित्यिक चौतारीको ५७ को बिसौनी तथा शुभकामना आदानप्रदान तथा रचना बाचन कार्यक्रममा साहित्यिकारहरुले आ–आफ्ना रचनामार्फत नयाँ बर्षको शुभकामना साटासाट गरेका हुन् ।
कार्यक्रममा सहभागी स्रष्टाहरुले आफ्ना सिर्जनामार्फत बर्ष २०७३ का राम्रा तथा नराम्रा कुराको समीक्षा गर्नुका साथै नयाँ बर्षले आम नेपालीहरुको जीवनमा उज्यालो छर्न सक्ने वातावरण बन्नुपर्दछ भन्ने चाहना प्रकट गरेका थिए । पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकारहरु लक्ष्मीप्रसाद शर्मा, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेशकुमार जिसी, डीआर शर्मा, सुभन्तनाथ सुवेदी, गोविन्दप्रसाद भुषाल, खेमराज शर्मा, नवराज शर्मालगायतले आ–आफ्ना गीत, मुक्तक, कविता, गजल आदि सिर्जना बाचन गरेका थिए ।
कार्यक्रमको सञ्चालन साहित्यिक चौतारीको ५७ औं बिसौनीका संयोजक खेमराज शर्माले गरेका थिए । पर्वत साहित्य सङ्गमको आगामी ५८ औं साहित्यिक चौतारीको आयोजना आगामी जेठ महिनाको १९ गते मल्लाजस्थित मल्लाज दरवार परिसरमा गर्ने निधो भएको संयोजक सुभन्तनाथ सुवेदीले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्