Print

‘वडा तहको निर्णय विना नगर कमिटिको निर्णय बैध छैन’

स्थानिय तहको निर्वाचनको मिति नजिकिदै आएको छ । झण्डै अबको ६ सातामा स्थानिय तहको निर्वाचन हुने छ । यतिवेला राजनीतिक दलहरु चुनावको तयारीमा जुटिसकेका छन् भने नेतृत्वका लागि टिकट लिन पनि रस्साकस्सी चलिरहेको छ । पार्टीले आउदो वैशाखको दोस्रो साताभित्र सवै ठाउमा उम्मेदवारीको टुंगो लगाउने तयारी समेत गरेका छन् । यसै सन्दर्भमा कुश्मा नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसका नेता, तथा समाजसेवी डाक्टर चुडामणी शर्मा पनि उम्मेदवारका आकांक्षी हुनुहुन्छ । उहासग स्थानिय तहको निर्वाचन र कुश्मा नगरपालिकाको मेयर पदमा दिन लागेको उम्मेदवारी लगायत समग्र विषयलाई लिएर पत्रकार लक्ष्मण सापकोटासँगको कुराकानीको एक अंश ।

डा.साव स्वागत छ यहाँलाई
धन्यवाद !

स्थानिय तहको निर्वाचन नजिकिदै छ कुश्मा नगरपालिमा मेयरका लागि तपाईको पनि आकांक्षा छ भन्ने चर्चा छ नि ?

हो । आकांक्षीको रुपमा अघि बढेको छु ।

स्थानिय तहको चुनावका लागि कस्तो तयारी गरिरहनुभएको छ ?
पार्टीका सवै नेता ज्यूहरु नगर वडा सभापति ज्यू हरु र नगर भित्रका सवै मतदाता आदरणीय दाजु भाई दिदीबहीनीहरु सँग आवश्यक भेटघाट र सल्लाहा गरी काँग्रेसको बास्तविक अवस्था बारे छलफल गर्दै भेटघाटमा जुटेको छु ।
तपाई लामो समय शिक्षण पेशापछि राजनीतिमा आउनुभएको छ कुश्मा नगरपालिकाको मेयरका लागि पार्टीले टिकट देला त ?

मलाई टिकट दिने कुरामा म ढुक्क छु । किन भने मैले लामो समय विद्यार्थी राजनीतिदेखि लिएर लामो समयको शिक्षण पेशामा रहँदा पनि पार्टीका थुप्रै गतिविधिमा संलग्न रहेर काम गरेको छु । पार्टीलाई जिल्लामा सँधै पहिलो बनाईराख्नका लागि मैले विभिन्न च्यानलहरुमार्फत काम गरे । त्यहि योगदान स्वरुप अहिले मेयर पदको टिकटका लागि आकांक्षा अघि सारेको हुँ । पञ्चायती शासकका विरुद्धमा होस् वा ६२÷०६३ को आन्दोलनमा होस् म अग्रमोर्चामा रहेर आन्दोलनमा सरीक हुनुका साथै पार्टीका अन्य नेताहरुलाई पनि घचघचाउने काम गरेको थिए । त्यति मात्र हैन जिल्लाका शिक्षकहरुमार्फत पार्टीका गतिविधि प्रचार प्रसार र विस्तार गर्न पनि मैले काम गरे ।

तपाईलाई टिकट दिने आधारहरु के के छन् ?

मैले विद्यार्थी देखिनै अहिलेसम्म पनि विभिन्न पदमा रेहेर काम गरे । नेपाल शिक्षक संघका विभिन्न तहमा रहेर काम गरे, र अहिले नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि तथा नेपाली काँग्रेसको केन्द्रिय जनसम्पर्क समन्वय विभागमा रहेर समेत काम गरे । अर्कोतर्फ जिल्लामै रहेर लामो समय शिक्षा क्षेत्रमा पु¥याएको योगदानका कारणपनि आफुलाई पर्वतवासी जनताले भरोसाको रुपमा हेरेको मलाई अनुभूति छ । पेशाबाट पनि बाहिर भएकोले अबको सम्पुर्ण जीवन पार्टीमै पुर्णकालीन रुपमा समर्पण पनि गरेको हुनाले मेरो अहिलेसम्म र आगामी दिनमा पार्टीलाई गर्ने योगदानको मेरो प्रणप्रति पक्कैपनि मुल्यांकन हुने छ भन्ने मैले विश्वास लिएको छु ।

यदि यहाँले टिकट पाईहाल्नुभयो भने मेयर पदमा बिजयी हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

एउटा कुरा त नगरपालिमामा म पार्टीमा क्रियाशिल रहँदा वा पहिला शिक्षण पेशामा रहँदा पनि आम जनताहरुसँग परिचित छु । अन्य राजनीतिक दलसँग पनि मेरो राम्रो समन्वय र सहकार्य छ । विद्यालयका हरेक गतिविधि हुन् वा शिक्षा सम्वन्धीका गतिविधिहरुमा पनि मैले नेपाली काँग्रेस मात्र नभई जिल्लाका अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुसँगको सहकार्यमा अघि बढेको कुरा नगरवासीहरुमा छर्लङ्ग छ । त्यसैले मेरो आफ्नो पार्टीवाट त मलाई सत्प्रतिशत मत आउँछ नै अन्य राजनीतिक दलहरुबाट पनि मैले मत पाउने विश्वास लिएको छु । र अर्को कुरा कुश्मा नगरपालिकामा नेपाली काँग्रेस बाहेक अरुको सम्भावना छैन, अरु पार्टीलाई रोप्नुपर्छ नेपाली काँग्रेस आफै उम्रन्छ त्यसैले सम्भावना हैन विजयी पक्का हुन्छ ।

तपाईको दल भित्र पनि विभिन्न गुट उपगुटहरु छन् अर्को गुटबाट तपाईलाई टिकट नदिने खेल शुरु भएको छ भन्छन् नी बजारमा ?

नेपाली काँग्रेस भनेको लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र थुप्रै विचार राख्ने नेताहरु हुनुहुन्छ । तर पनि पार्टीको मुख्य उदेश्य र सिद्धान्त भनेको एउटै हो । कोहि कुनै नेताको विचार सँग नजिक हुन्छन कोही कुनै । यो गौण विषय रहेन । जुनसुकै विचार धारा भएपनि म नेपाली काँग्रेसको सक्रिय सिपाई हुँ । जहासम्म अर्को गुटले टिकट नदिने भन्ने तपाईको प्रश्न छ ? तर मलाई त्यस्तो लाग्दैन । गुट उपगुटको म बिरोधी हुँ । पार्टीलाई संस्थागत रुपमा चलाउनुपर्छ भन्ने मेरो मान्यता हो, सवैलाई समान अवसर दिनुपर्छ भन्ने पार्टीभित्र बहस चलाउने म साझो व्यक्तिको रुपमा चिनिन्छु । सवै नेता तथा कार्यकर्ताहरुसँग मेरो समान व्यवाहार छ । सवैसँग मेरो राम्रो उठबस छ । त्यसकारण कुनै गुट उपगुटको रुपमा घेराबन्दीमा पारी मलाई टिकट नदिने खेल होला जस्तो मलाई लाग्दैन । सवैको सहमतिबाट नै पार्टीले मलाई टिकट दिन्छ भन्ने मैले विश्वास लिएको छु । यदि गुट उपगुटलाई लिएर म जस्तो इमान्दार व्यक्तिलाई पार्टीले टिकट दिएन भने भावी दिनमा नेपाली काँग्रेसका लागि ठुलो घाटा पर्ने छ भन्ने पनि म पार्टी नेतृत्वलाई सुझाव दिन चाहान्छु ।

डा. साप तपाईको नाम नगर प्रमुखमा नेपाली कांग्रेसको कुश्मा नगर कमिटिले त सिफारिस गरेन नी

पहिलो कुरा पार्टीमा नियम कानून छ । पार्टीको स्थानीय निर्वाचनको उमेदवार छान्ने विधि भनेको वडा तहबाट शुरु हुन्छ । वडाको सिफारिस पहिलो कुरा हो तर वडा तहको वैठक, भेला नै नबसी केहि सिमित ब्यक्तिहरु बसेर कमिटि भित्रका केहिको नाम सिफारिस गरिनु यो वैध होइन । मैले पार्टीको जिम्मेवार निकायसंग यो कुरा गरेको छु । वडा तहमा छलफल हुनुपर्छ, त्यहाँबाट नाम सिफारिस हुनुपर्छ । पार्टीले बढिमा ५ जनाको नाम सिफारिस गर्न भनेको छ तर विवादका वीच नगर कमिटिले मनपरी गरेर कोहि ब्यक्तिको नाम सिफारिस गर्दैमा त्यो आधाकारिक हुँदैन । यसले चुनावमा पार्टीलाई नोक्सान पुग्न सक्छ । अरुको अस्तित्व नस्विकार गर्ने हो भने, पार्टी कसरी एक ढिक्का बन्छ र ? पार्टीमा सवैको योगदान छ कसैको बढि हुनसक्छ कसैको कम तर, योगदान भएकाहरुको योगदानको सही मूल्यांकन र कदर नगरिनु दुःखत हुनसक्छ । मलाई विश्वास छ वडा कमिटिहरुले सिफारिस गर्नेछन, क्षेत्रीय कमिटिले निर्णय गर्नेछ यदि भएन भने माथिल्लो निकायले मेरो कुराको सुनुवाई गर्नेछ ।
तपाईले आफुलाई इमान्दार कार्यकर्ता हु“ भन्नु हुन्छ ? तर नेपाली काँग्रेसको जिल्ला अधिवशेनमा तपाईलाई पार्टी सचिबको नै उम्मेदवारी का लागि नेतृत्वले टिकट दिएन नि ?
जुन हल्ला सुन्नु भयो यो साँचो हो । मैले जिल्ला अधिवेशनमा पार्टी सचिबका लागि उम्मेदवारी दिने पुर्ण तयारी गरेको पनि थिए र मेरो जीत पनि सुनिश्चित थियो । तर पार्टी नेतृत्वले अहिलेको परिस्थितिमा तपाई बसिदिनु होस्, अर्को कुनै महत्वपुर्ण अवसर आउँदा जिम्मेवारी दिनेछौ भनि पुर्ण विश्वस्त तुल्याएकाले मैले त्यतिवेला उम्मेदवारी फिर्ता लिएको हुँ । म जस्तो राजनीतिक व्यक्तिले पटक पटक अवसर गुमाउन चाहान्न र त्यतिवेला मैले देखाएको सदासयता लाई पार्टीले पक्कै भुलेको छैन र यो पटक त्यो अवसर प्रदान गर्ने छ भन्ने मलाई विश्वास लिएको छु ।

तपाई लामो समय पौडेल पक्षमा हुनुहुन्थ्यो अहिले टिकट लिनकै लागि देउवा समुहतर्फ सक्रिय हुनुभएको भन्ने चर्चा कार्यकर्ता बृत्तमा छ नि ?

लक्ष्मणजी मैले पहिलेनै भनिसके म गुट उपगुट बिरोधी व्यक्ति हुँ । म पार्टीमा बिना स्वार्थ खटिएको सिपाईपनि हुँ । म सँधै पार्टीलाई सर्वोपरी मान्ने व्यक्ति हुँ । अहिले पार्टी सभापति शेरवहादुर देउवा हुनुहुन्छ भने बरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँहरु दुवै नेपाली काँग्रेसका शिर्ष नेता भएकाले दुवै नेताकोे यो वा उ समुह नै छैन । अहिले टिकट दिने भनेको पार्टीले दिने हो समुहले होईन । र मेरो दुवै समुहतर्फ समान आस्था र शुभेच्छा छ । त्यो भन्दा पनि मेरो क्रियाशिलता र योगादानलाई निष्पक्ष रुपमा नेतृत्वले मुल्यांकन गर्ने छ र गर्छ पनि ।

झण्डै २ दशकपछि हुन लागेको स्थानिय तहको चुनावमा पार्टी भन्दा पनि व्यक्ति हेर्ने चलन पनि छ यहाँले अन्य पार्टी समर्थकहरु लाई कसरी रिझाउनुहुन्छ ?

हुन त म नेपाली काँग्रेसको तर्फवाट मेयरका लागि उम्मेदवारी दिने हो । तर जव निर्वाचनमा गईन्छ त्यतिवेला आफ्नो पार्टी मात्र हैन सम्पुर्ण नगरवासीहरुलाई मन जित्नु पर्छ । अहिलेको पद भनेको पार्टी को पद हो र भोली मेयर पद भनेको सवै नगरवासीहरुको साझा पद हो । मैले नगरवासीहरुमा गर्ने व्यवाहार विगतका दिनमा पनि त्यति नमिठो रहेन र आगामी दिनमा पनि मेरो भूमिका सवै जनताका लागि समान नै रहन्छ । अर्को तर्फ मैले शिक्षा क्षेत्रमा क्रियाशिल रहँदा मेरो काममा कुनै रङ्ग नदेखाईकन सवै दल, सवै नागरिक एकै हुन् भनेर पनि काम गरे त्यसकारणले पनि नगर भित्रका शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी र आम अभिभावकहरुको म प्रतिको सद्भाव घट्न दिने छैन । यि आधारहरुले मलाई अन्य दल र अन्य दलका कार्यकर्ता र शुभेच्छुकहरु को मत पनि दिनेछन् भन्ने पुर्ण विश्वास छ ।

तपाईले चुनावी प्रचारमा जाँदा के के एजेण्डाहरु कार्यकर्ताहरुसँग लैजादै हुनुहुन्छ ?

स्थानिय तहको चुनाव झण्डै दुई दशक पछि हुँदैछ । विगत को भन्दा अहिलेको निर्वाचन जटिल मोडमा पनि हुँदैछ । किनकी अहिलेको अवस्थामा भनेको संघीयताको कार्यान्वयन पनि हो । कुश्मा नगरपालिका सवै हिसावले पछाडि नै छ । नगरपालिकालाई समृद्ध बनाउनका लागि यहाँका नागरिकहरु समृद्ध हुन जरुरी छ । नगरभित्रका सम्भावनाहरुलाई पहिचान गरेर त्यसको विकास गर्न सकेमा पनि यहाँेको समृद्धि छिटो हुनेछ । अबको मेरो ऐजेण्डा भनेको यहाँका राजनीतिक दल, व्यावसायी, उद्योगी, बुद्धिजिवि, शिक्षाप्रेमीसँग आवश्यक सल्लाहा गरेर नगरवासीहरुलाई आधारभूत आवश्यकताहरुको परिपुर्ति गर्ने, रोजगारीको व्यवस्था गर्ने, नगरभित्रका कृषि, बन, बातावरण, उर्जा लगायत शिक्षा, स्वास्थ्य, यातायात, खेलकुद क्षेत्रको विकास गर्ने र सवै वार्ड तहमा वा सवै टोलहरुमा बिस्तार गर्ने मेरो योजना हुने छ । विगत लामो समय अघि देखि नगरपालिका भएका शहरहरुमा जस्तै हाम्रो नगरपालिकालाई पनि व्यवस्थित बनाउने र नरपालिकालाई आर्थिक, सामाजिक, भौतिक पक्षले सवल बनाउँदै नगरवासीहरुका इच्छा र चाहानाहरुलाई कुण्ठित हुन नदिने मेरो प्रत्यन हुने छ ।
यदि तपाईले नगरपालिकाको मेयरमा बिजयी हात पार्नुभयो भने तपाईसँग आम नगरवासीहरुले के अपेक्षा गर्ने ?
– अत्यन्त महत्वपुर्ण प्रश्न गर्नुभयो । नेपाल आफैमा गरिब देश छ । थुप्रै खालका समस्याहरु आम नेपालीमा छन् र तीनै आवश्यकताहरु र विकासका पूर्वाधारहरुको कमी हाम्रो नगरपालिकामा पनि छन् । सवैभन्दा पहिला विकासका पूर्वाधारमा जोड दिनु आवश्यक छ । त्यस पछि शिक्षाको पहुँच तल्लो तहसम्म पु¥याउन जरुरी छ । त्यस्तै महिला दलित, जनजाती, अपाङ्गता भएकाहरुलाई पनि विकास निर्माणका क्षेत्रमा होस् वा अन्य मानविय विकास र समृद्धिका लागि पनि समान सहभागितमा मैले जोड दिनेछु । जहाँ विकासमा पछाडि परेको छ त्यस्ता क्षेत्रमा मेरो बढि ध्यान केन्द्रित हुने छ । र समग्र नगरवासीहरुलाई बढि आवश्यक पर्ने कुराहरु नगरपालिकाका कार्यक्रममा समावेश हुनेछन् र सोहि अनुसार मैले नागरिकका चाहाना पुरा गर्नेछु भन्ने मेरो मान्यता छ ।

यदि यहाँ नगरपालिकाको मेयर हुनुभयो भने दलहरुलाई मिलाएर तटस्थ रुपमा काम गर्न सक्नुहोला ?

एकदमै । चुनावी प्रकृया एउटा लोकतान्त्रिक पक्रिया हो । म जननिर्वाचीत भएर गएँभने मेरो कुनै पार्टीगत भन्दा पनि मैले सामुहिक स्वास्र्थ हेर्नुपर्दछ । जव व्यक्तिगत वा कुनै समुहगत वा पार्टीगत रुपमा मात्र हेरिन्छ त्यहाँ गतिलोगरी र सवै नागरिकले अनुभूति गर्नेगरी सेवा गर्न सकिदैन । आम नागरिकको साझा चाहाना, र आवश्यकतामा केन्द्रित रहेर काम गरियो भने यो दल वा ऊ दल भन्ने भेदभाव हुँदैन र समग्र नगरवासीहरुले सेवा पाउँछन् भन्ने नै हो । संघीयताको कार्यान्वयन सँगै केन्द्रिय सरकारको काम स्थानिय तहवाट हुँदै छ त्यसले गर्दा पनि नागरिकलाई सर्वसुलभ र विना झण्झट सेवा दिनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले मेरो पुरा का पुरा पर्यत्न भनेको नागरिकमैत्री नै हुनेछ न कि कुनैपनि दलसँग आवद्ध कार्यकर्ता वा सर्वसाधारणले विभेदको अनुभूति गर्न नपाउन् ।

अन्त्यमा नगरवासीहरुलाई के भन्न चाहानुहुन्छ ?

लामो समय नेपाली जनता र राज्यको शिक्षा क्षेत्रमा लागेर मैले योगदान गरे । त्यसैको फलस्वरुप नगरप्रमुखको रुपमा अघि बढ्ने प्रयत्न गरेको छु । यदि यहाँहरुको सद्भाव, सहयोग र अमुल्य मतले म बिजयी हुन सकेमा यहाँहरुको इच्छा, मतप्रतिको विश्वास र समग्र नगरपालिकाको विकासका लागि हरतरहले म लागि रहने छु । यहाँका इच्छा आकांक्षा र चाहाना मैले पुरा गर्ने प्रतिवद्धता समेत गर्नेछु । मेरो यो अपिल र आग्रहलाई पक्कैपनि आत्मसाथ गरी यहाँको अमुल्य मत दिनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस