Print

वेनीमा नमुना बाख्रापालन : फार्ममा इन्टरनेट र टेलिभिजन

२१ चैत्र, म्याग्दी । टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ ।
बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ ।

जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ््यालको प्रयोग गर्ने गरिएको छ । करिब ३० मिटर लम्बाइ र ५.२ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा कोठा रहेको छ । सो फार्मको अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिक कृषक आउने गरेका छन् ।

फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको मल्लले बताए ।

“टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रापालन गर्दै आएको छु,” उनले भने । बाख्रामा कुनै स्वास्थ्य समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले सुनाए ।

प्रविधि र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । उनले बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक र इन्टरनेटका माध्यबाट बिक्री गर्दै आएका छन । उनको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १५० वटा बाख्रा रहेका छन् ।

चारवर्ष अघि २७ वटा बाख्राबाट फार्म सुरु गर्नुभएका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक रु ५० हजार आम्दानी गर्दैआएका छन । मल्लले बाख्रा फार्म स्थापना गर्न हालसम्म रु २५ लाख लगानी गर्नुभएको छ । उहाँको फार्ममा पाँच जनाले रोजगारी समेत पाएका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस