Print

दलहरू उम्मेदवार छनोटको गृहकार्यमा, यसरी तोकिँदै छन् स्थानीय तहका उम्मेदवार

१३ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू सम्भावित उम्मेदवार छनोटको तयारीमा व्यस्त बन्न थालेका छन् । राजनीतिक दलहरूले निर्वाचनमा जनमत सिर्जना गर्न सभा, समारोह, छलफल तथा गोष्ठीसँगै उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

निर्वाचन मिति नजिकिएसँगै दलहरू कार्यविधि तथा मापदण्ड तय गरेर उम्मेदवार छनोट कार्य अघि बढाउन थालेका छन् । सरकारले आगामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष, सदस्यका उम्मेदवार छनोटमा लागेका हुन् । कतिपय दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाएर उम्मेदवार छनोटमै लागिसकेका छन् । केही दलहरू भने त्यसको तयारीमा जुटिरहेका छन् ।

संविधानसभाको पहिलो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा उम्मेदवार छनोटको विषयमा छलफल भइरहेको र कार्यविधि तय गर्ने नेताहरूले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले उम्मेदवार छनोटको कार्यविधि तथा मापदण्डको विषयमा केन्द्रले तोक्ने वा जिल्लाबाटै गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सम्बद्ध दलहरूले आन्तरिक रूपमा निर्वाचनको तयारी गरिरहे पनि सार्वजनिक गरेका छैनन् ।

निर्वाचन बहिष्कार गराएर आफू मात्रै चुनावमा जाने योजनाका साथ मधेसी दलहरू निर्वाचन बहिष्कारको कुरा गरे पनि भित्री तयारी गरिरहेका हुन् । मोर्चामा आबद्ध दलहरूले निर्वाचनका लागि आयोगमा दल दर्ता गराइसकेका छन् । संविधान संशोधनको मागमा आन्दोलनरत रहेकाले उनीहरूले उम्मेदवार छनोटको विषय भने अगाडि बढाएका छैनन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले कार्यविधि र मापदण्ड नै तय गरेर उम्मेदवार छनोटको बाटो खुला गरिसकेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड तय गर्दै १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समिति संयोजक देव गुरुङले पार्टीले उम्मेदवार छनोटका लागि मापदण्ड बनाइसकेको र अहिले निर्वाचनमा पार्टीका लागि जनमत सिर्जना गर्न विभिन्न कार्यक्रम भइरहेको बताए ।

माओवादी केन्द्रले उम्मेदवार छनोट गर्दा एक पदबराबर तीनजना वैकल्पिक उम्मेदवारसहित माथिल्लो कमिटीमा पेस गर्नुपर्ने गरी कार्यविधि तय गरेको छ । कार्यविधिअनुसार गाउँपालिका प्रमुखका लागि तीनजना, उपप्रमुखका लागि तीनजना, सदस्यका लागि तीनजनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने भएको छ ।

सिफारिस नामका आधारमा त्यसभन्दा माथिल्लो कमिटीले एक उम्मेदवार छनोट गरी आफूभन्दा एक तह माथिल्लो कमिटीबाट स्वीकृत गराएपछि मात्र आधिकारिक उम्मेदवार बन्न पाइने भएको छ । जस्तै, वडा प्रमुख वा सदस्यका लागि वडा पार्टी कमिटीले एक पदबराबर तीनजनाको नाम गाउँ पार्टी कमिटीमा सिफारिस गर्नेछ । गाउँ पार्टी कमिटीले उक्त नामावलीमध्येबाट एकजना उम्मेदवार अनुमोदन गरी जिल्ला कमिटीको स्वीकृति लिन्छ भने त्यसपछि मात्र सम्बन्धित व्यक्ति वडाको उम्मेदवार हुनेछ ।

यस्तै, माओवादी केन्द्रको तर्फबाट गाउँपालिका वा नगरपालिका प्रमुख तथा सदस्य हुन प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने कार्यविधिमा उल्लेख छ । गाउँपालिका वा नगरपालिका पार्टी कमिटीले एक पदबराबर तीनजना उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गर्नेछ, जिल्लाले त्यसमध्ये एकजना योग्य उम्मेदवार अनुमोदन गरी उक्त उम्मेदवार छनोटको आधारसहित स्वीकृतिका लागि प्रदेश कमिटीमा पठाउनेछ । प्रदेश कमिटीले प्रस्तावित उम्मेदवारको नाम स्वीकृत गरे मात्र उक्त उम्मेदवारले गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारका रूपमा स्थानीय चुनाव लड्न पाउने प्रावधान छ ।

यस्तै, उपमहानगरपालिकाको मेयरका लागि पनि जिल्ला कमिटीले अनुमोदन गरेपछि प्रदेश कमिटीले त्यसको आधार हेरेर मात्र उम्मेदवार बनाउन सकिने निर्वाचन परिचालन समिति सदस्य मणि थापा बताउँछन् । माओवादी केन्द्रले महानगरपालिकाको मेयरको उम्मेदवार तोक्ने जिम्मा भने केन्द्रीय समितिलाई दिएको छ ।

महानगरपालिकाको मेयर÷उपमेयर बन्नका लागि जिल्ला कमिटीले सिफारिस गरेर प्रदेश कमिटीले अनुमोदन गरेसँगै पार्टी केन्द्रले अध्ययन गरी स्वीकृत गरेपछि महानगरपालिकाको उम्मेदवार घोषणा हुने भएको छ ।

यता, निर्वाचनका लागि घोषणापत्र जारी गर्नेसम्मको निर्णय गरिसकेको प्रमुख प्रतिपक्षी दल एमाले पनि सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने गरी स्थानीय तहको उम्मेदवार छनोटको कार्यविधि तथा मापदण्ड तय गरिसकेको छ ।

एमालेले गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने, नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका तथा महानगरपालिकाको उम्मेदवारको टुंगो सम्बन्धित जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने कार्यविधि बनाएको छ ।

एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमानदार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएका स्थानीय नेतालाई उम्मेदवार बनाउने मापदण्ड पनि तय गरेको छ । सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्भव भए २० चैतभित्र सबै तहको उम्मेदवार छनोट गरिसक्ने गरी तयारी थालेको छ ।

राप्रपाका नेता राजाराम श्रेष्ठले गाउँपालिका र नगरपालिकाको उम्मेदवार सम्बन्धित कार्यसमितिले जिल्ला कार्यसमितिमा सिफारिस गर्ने र जिल्ला समितिले तोक्ने तथा महानगर र उपमहानगरकाको हकमा पार्टी कार्य सम्पादन समितिले गर्ने भन्ने गरी छलफल भइरहेको बताए । ‘उम्मेदवार छनोटको बहस सुरु भइसकेको छ, २० गतेभित्र सबै तहको उम्मेदवार सिफारिस गरिसक्ने गरी तयारी भइरहेको छ,’

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस