Print

कुश्मा नगरप्रमुखको उमेदवारीका लागि कांग्रेस र एमाले भित्र यसरी हुँदैछ आन्तरीक भिडन्त

८ चैत्र, पर्वत । जिल्लामा शक्ति केन्द्रको रुपमा रहेको कुश्मा नगरपालिकामा आगामी स्थानीय निर्वाचनमा सम्भावित उमेदवारहरुको चर्चा शुरु भएको छ । कुश्मा नगरपालिका जिल्लाको सवैभन्दा शक्तिशाली र श्रोत साधन युक्त नगरपालिका हो । जिल्ला सदरमुकाम समेत रहेको कुश्मा क्षेत्रको नगरपालिका प्रमुखले सांसदले भन्दा बढि श्रोतको परिचालन गर्न पाउने अनुमान गरिएको छ । श्रोत साधन र सम्पन्नताको हिसाबले निकै प्रभावशाली मानिएको पर्वतको सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका भित्र संभावित उमेदवारहरु वीच जनस्तरबाट मूल्यांकन र परिचर्चाहरु पनि शुरु भएका छन ।

नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले वीच तिव्र प्रतिस्पर्धा हुने भएका कारण पनि यी दुई शक्ति केन्द्रका को–को उमेदवार चुनावी मैदानमा उत्रने हुन भन्ने आम कौतुहलता छाएको छ । २०५४ सालको निर्वाचनमा दुर्लुङ गाविसको अध्यक्षमा चुनाव जितेको राप्रपा नेपाल, युद्धबाट शान्ति प्रक्रियामा आएको माओवादी केन्द्र र माओवादीबाट फुटेर नयाँ पार्टी निर्माण गरेको नयाँ शक्तिको पनि निर्वाचनमा भने उपस्थिती रहनेछ ।

नगरपालिका भित्र पाङ, खुर्कोट, कटुवाचौपारी, चुवा र शिवालय नेपाली कांग्रेसको बलियो क्षेत्र मानिन्छन । उता, पिपलटारी, ठुलिपोखरी, पकुवा र खौलामा पनि एमाले उपस्थिती बलियो छ । अरु क्षेत्रहरुमा कांग्रेस र एमालेको मत प्रतिस्पर्धात्मक देखिन्छ । पार्टीलाई भन्दा बढि नेतालाई विश्वास गर्ने गरी पछिल्ला मतपरिणामहरु देखिन थालेका कारण चुनावमा को उमेदवार हुन्छ भन्ने विषयले मतपरिणाम भने फरक पर्ने सहज अनुमान गरिएको छ । जनताका वीचमा पुगेको र जनताको प्रिय नेतालाई जनताले निर्वाचन गर्नेछन भन्ने आम विश्वास नेपालमा पछिल्लो समय बढेर गएको छ । उमेदवार वीच हुने प्रतिस्पर्धामा पार्टी भित्रका अन्तर गुटले असर नगरेको खण्डमा पार्टीका बलियो उमेदवारले भने आशातित मत ल्याउनसक्नेछन ।

नेपाली कांग्रेस

पर्वत क्षेत्र न १ का मतसंख्याको हिसावले कांग्रेसका शक्तिशाली गाविसहरु यहि नगरपालिका भित्र समेटिएका छन । पछिल्लो पल्ट भने मोदीपारीका आर्थर, खौला र ठुलिपोखरी समेत नगरपालिका भित्र समेटिएपछि भने, कांग्रेसको बलियो आधार क्षेत्रमा एमालेले धावा बोल्न सक्ने अनुमान गरिएको छ । कांग्रेसको तर्फबाट कुश्मा नगर कमिटिका अध्यक्ष रामचन्द्र जोशी बलियो उमेदवार मानिएका छन । विद्यार्थी काल देखि सक्रिय जोशी पेशाले निर्माण ब्यवसायी पनि हुन । अरु पार्टीका कार्यकर्ता तथा नेताको चित्त दुखाउने स्वभाव नभएका कारण उनले अरु पार्टीको मत समेत पाउने सम्भावना देखिन्छ । उनी आन्तरीक पार्टी संगठनमा रामचन्द्र पौडेल पक्षका मानिन्छन । उता, सांसद अर्जुन जोशी देउवाको प्यानलमा पछिल्लो समय लागेका कारण भने रामचन्द्र जोशीको उमेदवारीमा सांसद जोशीको समर्थन रहन्छ या रहँदैन सोहि कुरा नै निर्णायक हुनसक्ने अनुमान समेत गरिएको छ ।

नेपाली कांग्रेस पर्वतमा पछिल्लो समय जोशी परिवारको मात्र हावी भयो भन्ने गरी जातीय विषय पनि उठीरहेको छ । सवै खालका निर्णायक केन्द्रमा अरु जातका नेताहरुको भूमिका गौण रहेको भन्ने आवाज बलियो हुँदै गयो भने, जोशीको ठाउँमा डा. चूडामीण शर्मा, गंगाधर शर्मा वा बसन्तकुमार सिकेलाई पार्टीले उमेदवार बनाउने सम्भावना पनि देखिन्छ । शिवालयका डा. शर्मा लामो समय शिक्षक राजनीति मार्फत अहिले उनी सक्रिय राजनीतिमा छन । शिक्षा क्षेत्र मार्फत नेपाली कांग्रेसको आन्दोलनमा सक्रिय शर्मा प्रजातान्त्रिक आन्दोलनमा मुक्ति सेनाको इन्चार्ज समेत भएर कांग्रेसको जिम्मेवारी बहन गरीसकेका कारण उनको उमदवारीलाई पनि बलियो मानिएको छ ।

नेपाली कांग्रेसको क्षेत्रीय अध्यक्ष समेत रहेका पाङका गंगाधर शर्मा अर्का बलिया दाबेदार हुन । जीवनकालको लामो समय नेपाली कांग्रेसमा विताएका उनले समेत जेष्ठताका आधारमा उमेदवारीको टिकट पाउने सम्भावना पनि बलियो देखिन्छ । सिके पनि शिक्षण पेशाबाट सक्रिय राजनीतिमा आएका कारण उमेदवारीको प्रवल आकाक्षीको रुपमा हेरिएको छ ।

उता, देउवा पक्षका बलिया उमेदवार हुन राम शर्मा । जिल्ला विकास समितिका पुर्व उप सभापति समेत रहेका कटुवाचौपारीका शर्मालाई पर्वतमा जोशी प्यानल विरोधी भनेर चिनिन्छ । जीवनकालमा कांग्रेसमा लामो समय त्याग र आन्दोलनहरुमा महत्वपूर्ण भूमिका खेलेका उनलाई देउवा पक्षले बलियो उमेदवारको रुपमा अगाडि सार्ने सम्भावना देखिन्छ । एमालेको इलाका क्षेत्र मानिएको पिपलटारी देखि ठुलिपोखरीसम्मको मतलाई विभाजन गराउनका लागि समेत उनलाई पार्टीले उमेदवार बनाउने सम्भावना रहेको छ । कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुन जोशीले पछिल्लो समय पार्टीको विचार समूह परिर्वतन गरेका कारण त्यसको समिकरण तत्लो स्तरमा कसरी र कुन रुपमा पर्दछ त्यसले आगामी उमेदवार टुंगाउन कांग्रेसलाई सहज हुने अनुमान पनि गरिएको छ । जिल्लामा सांसद जोशी इतरका समूहहरु र सांसद जोशी एउटै विचार समूहमा भएका कारण जिल्लाको वैचारिक समूहमा ठूलो खाले धुव्रीकरण नआउने पनि विश्लेषण एक थरी छ ।

नेकपा एमाले

पर्वतको निर्वाचन क्षेत्र न १ मा संगठन कमिटि र कार्यकर्ता धेरै रहेको एमाले भित्र पनि उमेदवारहरुको चर्चा शुरु भएको छ । मोदी पारीका एमालेका आधार क्षेत्रहरु समेत नगरपालिका भित्र सम्हाहित भएपछि निकै बलियो बनेको एमालेले कस्लाई उमेदवार बनाउँछ भन्ने बहस पनि शुरु भएको । नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरीले आफूलाई उमेदवारको रुपमा प्रस्तुत नगरेपनि विद्यार्थी राजनीतिमा निकै चर्चित र लोकप्रिय बनेका कारण उनी उमेदवार बनेमा जीत सुनिश्चित भएको भन्दै कार्यकर्ताहरुले उनको उमेदवारीलाई बलियो मानिरहेका छन ।

दुर्लुङका गिरीले कांग्रेसका आधार क्षेत्रहरुको मतलाई समेत प्रभाव पार्न सक्ने भएका कारण पनि उनलाई उमेदवारको दावेदारका रुपमा हेरिएको छ । उता, उनीसंगै पार्टीका उप सचिव समेत रहेका शिवालयका गोविन्द पहाडीलाई प्रभावशाली मानिएको छ । लामो समय सामाजिक क्षेत्रको अनुभवबाट राजनीतिमा आएका पहाडीलाई पार्टी भित्र विकास र आवधिक योजनाका श्रोत ब्यक्ति मानिन्छ । प्रतिपक्षीसंगको मुकाबिलामा अब्बल मानिएका पहाडी सदरमुकाम कुश्माको शिवालय क्षेत्रका समेत भएका कारण कांग्रेसको आधार क्षेत्रमा मतदाताहरु प्रभावित हुनसक्ने अनुमान गरिएको छ । अध्यक्ष गिरी पछि प्रतिपक्षीले शक्तिशाली नेतृत्वको रुपमा पहाडीलाई हेरेका कारण कार्यकर्ताहरुले नगरपालिकाको समग्र विकासका लागि पार्टीले पहाडीलाई अगाडि सार्नुपर्ने आवाज उठाएका छन ।

उता, पार्टीको संघिय मामिला तथा स्थानीय विभागका सदस्य मेघनाथ सुवेदी र क्षेत्रीय कमिटि अध्यक्ष शान्त पौडेललाई पनि प्रमुख दाबेदारका रुपमा हेरिएको छ । एमालेको आधार क्षेत्र मोदीपारीको पिपलटारीका सुवेदी र पौडेल मध्ये एक जनालाई आगामी नगरप्रमुखको उमेदवार बनाउने गरी केहि नेताहरुले आन्तरीक तयारी गरेको बुझिन्छ । जिविस सदस्य समेत रहेका सुवेदी वैदेशिक रोजगारी पछि  जिल्लामा सक्रिय रहेका छन । उनी पञ्चायत काल देखि नै राजनीतिमा सक्रिय बनेका कारण पनि मतदाताहरुको मत आकर्षण गर्नसक्ने उमेदवारको रुपमा उनलाई हेरिएको छ । पेशाले उनी स्टेशनरी ब्यवसायी पनि हुन । उता, क्षेत्रयि अध्यक्ष पौडेल पिपलटारी गाविसका निवर्तमान अध्यक्ष समेत भएका कारण मोदी क्षेत्रमा उनको प्रभाव राम्रो छ । शान्त स्वभावका पौडेलले उमेदवारीको प्रवल अपेक्षा गरेको बुझिन्छ ।

एमालेमा उमेदवारको टुंगो पार्टीको आन्तरीक गुटको प्रभाव पनि पर्ने देखिन्छ । गिरी र सुवेदीले ओली समूहको प्रतिनिधित्व गर्छन भने, पौडेल माधव समूह निकट हुन । उता, माधव समूहबाट उप सचिव भएका पहाडीलाई भने पार्टी भित्रको मध्यमार्गी नेताको रुपमा हेरिएको छ । सवै समूहलाई चित्त बुझाउन सक्ने र मध्यमार्गी अडान लिएर पार्टीलाई मिलाउन सक्ने भएका कारण कार्यकर्ता स्तरमा भने पहाडीको प्रभाव देखिन्छ ।

उता, विचार नेपाल समूहबाट भने शान्त पौडेललाई नै अगाडि बढाउने सम्भावना छ । आन्तरीक रुपमा ओली समूहबाट भने मेधनाथ सुवेदीलाई अगाडि बढाउने गृहकार्य देखिन्छ । स्थानीय निकायको चुनाव भएको खण्डमा सुवेदीलाई ओली समूहले अगाडि बढाउने तयारी गरेपनि स्थानीय तहमा जाँदा स्थानीय तह निकै शक्तिशाली भएका कारण पदम गिरीले पनि कुश्मा नगरप्रमुखको उमेदवारीमा बाजी मार्नसक्ने अनुमान पनि गरिएको छ ।

आगामी निर्वाचनमा कांग्रेस वा एमालेले अन्य दलहरु माओवादी केन्द्र, राप्रपा र नयाँशक्तिसंग समिकरण गर्न सक्ने सम्भावना पनि छ । (समाचार विश्लेषण)

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस