१ चैत, बागलुङ । एक जिल्ला विकास समिति, एक नगरपालिका र ५९ गाउँ विकास समिति रहेको बागलुङ जिल्लामा स्थानीय तहको नयाँ पुनर्संरचना अनुसार फागुन मसान्त देखि बागलुङ जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका कायम भएका छन । जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने गाविसहरु वडामा परिवर्तन भएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यले निसी गाउँपालिकामा दिपक शर्मा, ढोरपाटन नगरपालिकामा चण्डीराज पौडेल, तमान गाउँपालिकामा कमल भुर्तेल, बडीगाड गाउँपालिकमा थमनबहादुर रेश्मी, गलकोट नगरपालिका माधव शर्मा, बागलुङ नगरपालिकामा कार्यकारी अधिकृत रमेश ढकाल, काठेखोला गाउँपालिकामा चुणबहादुर कार्की, बरेङ्ग गाउँपालिका तमबहादुर खत्री, जैमुनी नगरपालिकामा चिरञ्जीवी शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको बताएका छन् ।
गाविस र नगरपालिका हाल जुन नगरपालिका वा गाउँपालिकाका रुपमा कायम भएका छन् तिनैबाट कार्य सञ्चालन हुनेछन ।
जिल्ला समन्वय समितिको निर्देशन बमोजिम गाउँपालिका र नगरपालिकाको नयाँ साइनबोर्ड, छाप, लेटरप्याड तयारी गरिएको छ । सो सम्बन्धी नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख समेत व्यवस्था गरिएको छ ।
बागलुङ नगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकामा सम्बन्धीत स्थानीय निकाय अन्तर्गत कार्यरत गाविस सचिवहरु मध्ये जेष्ठताको आधारमा गाविस सचिवलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको बताईएको छ । स्थानीय तह पुनःसंरचना गर्दा कायम भएका गाउँ र नगरपालिकाको केन्द्र जहाँ कायम भएको छ त्यहीं नै कार्यालय बस्नेछ ।
नयाँ व्यवस्था अनुसार पुनःसंरचना गर्दा कायम भएको नामबाट गाउँ र नगरपालिका सञ्चालन गर्न भनेको छ । नाम र केन्द्र परिवर्तन गर्न आवश्यक देखिएमा निर्वा्चित जनप्रतिनिधिले बहाल भएको छ महिनाभित्र गाउँसभा वा नगरसभाको बहुमतले सरकारलाई सिफारिस गर्नुपर्ने र सरकारबाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला समन्वय समितिले आगामी वर्ष कर लगाउने, परिषद् गर्नेलगायत काम गर्न नपाउने व्यवस्था गरिएको छ । कुनै मन्त्रालय वा निकायले प्रदान गरेको अधिकार गाउँ र नगरपालिकाले प्रयोग गर्न सक्ने व्यवस्था छ । गाउ ँर नगरपालिकाले सहरी योजना, बस्ती विकास र भवन निर्माण मापदण्ड कार्यान्वयन गर्नेछ भने जिल्ला सभा र समन्वय समितिको अधिकार हाललाई स्थानीय विकास अधिकारीले प्रयोग गर्नेछन ।
गाउँ र नगरपालिकामा निर्वा्चित अधिकारी बाहेक प्रशासकीय व्यवस्थापनका लागि कार्यकारी अधिकृत रहनेछन । गाउँपालिकामा उपसचिव वा शाखा अधिकृत स्तरको कार्यकारी अधिकृत, एक सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर र कार्यालय सहयोगी रहनेछन्। नगरपालिकामा उपसचिव स्तरको कार्यकारी अधिकृत, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायब सुब्बा, लेखापाल, सबइन्जिनियर, प्रशासन तथा लेखा सहायक र कार्यालय सहयोगी रहनेछन ।
गाउँपालिकाले दैनिक प्रशासन र जिल्लास्थित कार्यालयबाट अधिकार प्रत्यायोजन गरिएका काम गर्नेछन्। योजना तर्जुमा, कार्यान्वयन अनुगमन, तथ्यांक अद्यावधिक र संरक्षण, विकास निर्माण, नियमन, सिफारिस प्रमाणित लगायत काम पनि गर्नेछन्। हाल जिविस र गाविसबाट हुने सबै काम गाउँपालिकाले नै गर्नेछन ।





प्रतिकृया दिनुहोस्