Print

जागरण अभियानलाई आगामी निर्वाचनको तयारीसँग जोडौं : एमाले सचिव अधिकारी

२६ साउन, पर्वत । नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले वर्तमान सरकार विदेशी शक्तिको आडमा विध्वंस र युद्धबाट आएको दाबी गर्दै देशको सुरक्षा संयन्त्र र सरकारबीच दूरी बढेका कारण मुलुकमा अस्थिरता बढेको बताएका छन्। उनले एमालेको ‘मिसन जागरण अभियान’लाई आगामी निर्वाचन केन्द्रित बनाएर जनतामाझ पार्टीको नीति, विचार र राजनीतिक दृष्टिकोण पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

एमाले पर्वतको सातौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै अधिकारीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै वर्तमान सरकार विदेशी शक्तिको आडमा विध्वंस र युद्धबाट आएको हो। देशको सुरक्षा संयन्त्र र सरकारबीच दूरी बढेका कारण देशमा अस्थिरता भएको छ,” भने।

उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउनुपर्ने बताए। एमालेले सञ्चालन गर्न लागेको जागरण अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद बढाउँदै पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

बैठकमा बोल्दै एमाले केन्द्रीय कमिटी सदस्य पदम गिरीले ‘मिसन जागरण अभियान’लाई जनतासँगको सम्बन्ध विस्तार र संगठन सुदृढीकरणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताए। उनले जनताका समस्या र अपेक्षासँग जोडिँदै पार्टीका विचार र आगामी राजनीतिक कार्यदिशाबारे जनतालाई स्पष्ट पार्न अभियान प्रभावकारी हुने बताए।

त्यस्तै एमाले केन्द्रीय कमिटी सदस्य मनोहर बी. पौडेलले जागरण अभियानलाई वडा तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए। उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्ने गरी अभियान सञ्चालन गर्दै संगठनलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्माले पनि जागरण अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि नै पार्टी संगठनलाई परिचालन गर्नुपर्ने बताए। उनले जनताका वास्तविक समस्या पहिचान गरी पार्टीको संगठन र अभियानसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे।

बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राखेर ‘मिसन जागरण अभियान’ सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको छ। अभियानमार्फत जनतासँगको सम्बन्ध विस्तार गर्ने, पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा स्थानीय तहसम्म पार्टीका गतिविधिलाई व्यापक बनाउने निर्णय गरिएको जनाइएको छ।

एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। बैठकको सञ्चालन जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले गरेका थिए।