१ चैत्र, पर्वत । जिल्लाको कुश्मा नगरपालिका ८ चुबामा रहेको लालेश्वर गुफा प्रर्बद्धनको लागि रोट्रयाक्ट क्लब अफ पर्बतले मुर्ति स्थापना गरेको छ । लामो समयदेखिनै गुफाको बारेमा थाहा भएपनि बिभिन्न कारणले ओझेलमा परेको लालेश्वर गुफामा मंगलबार रोट्रयाक्ट क्लबले मुर्ति स्थापना गरेको हो ।
मार्च १३ लाई हरेक वर्ष रोट्रयाक्ट दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउने क्रममा रोट्रयाक्ट क्लव अफ पर्वतले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन गुफा परिसरममै पुगी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि मूर्ति स्थापना गरिएको छ । शिब, पार्बती र गणेशको तस्बिर अंकित मुर्ति स्थापना गर्नुले गुफाको पर्यटन र प्रर्बद्धनमा थप टेबा पुग्ने अपेक्षा लिएको क्लवका अध्यक्ष आरसी पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिङ गुरुङले क्लवले सामाजिक क्षेत्रमा गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै पर्यटन प्रर्बद्धनको लागि ओझेलमा परेको लालेश्वर गुफाको लागि आफुले पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै गुफा ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सुबेदीले प्राकृतिक रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके जिल्ला मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताउनुभयो । उहाले क्लबले आएर गुफा परिसरमा सरसफाई तथा मुर्ति स्थापना गरेकोमा क्लबलाई धन्यबाद समेत दिनुभयो ।
क्लबले सोमबार देखि शुरु गरेको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्रत्येक दिन फरकफरक किसिमका कार्यक्रम हुने जनाएको छ । कार्यक्रमको तेस्रो दिन बुधबार ठुलीपोखरीको एक विद्यालयमा अपाङ्गलाई ह्विलचियर तथा स्टेशनरी सामाग्री वितरण, चौथो दिन भने आयोजक क्लव र पर्वत संगीत तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने कार्यक्रमका मूल संयोजक मिलन पौडेलले सो अबसरमा जानकारी दिनुभयो ।
पाँचौ दिन ४ गते दुर्लुङ्ककोटको सूर्यप्रकाश माविमा विद्यालयका लागि आवश्यक भौतिक सामाग्री हस्तान्तरण, युवाहरुलाई व्यक्तित्व विकास तालिम र अन्तिम दिन ६ गते जिल्ला प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक सचेतना बोर्ड स्थापना तथा बजारक्षेत्रमा सरसफाईका बोर्ड स्थापना रहेको छ । र सोही दिन सप्ताहको समापन हुने उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष गणेश पौडेल,आगामि अध्यक्ष बिप्लब हमाल, क्लवका पूर्वअध्यक्ष केदारनाथ आचार्य, कार्यक्रम संयोजक मिना खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । रोट्रयाक्ट क्लबका सदस्य शोभा पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव गणेश पौडेलले गर्नुभएको थियो । – सुवास लामिछाने






प्रतिकृया दिनुहोस्