Print

कुश्मा–बलेवा यान्त्रिक पुलको भाडा बृद्धिपछि स्थानीयबासी आन्दोलीत

१ चैत्र, पर्वत । कुश्मा देखि बलेवा क्षेत्रलाई जोड्ने तुईन प्रविधिको यान्त्रिक पुलमा भाडा बृद्धिभएसंगै स्थानीयबासी आन्दोलीत बनेका छन । बार्षिक करोडौ नाफा कमाउँदै आएको उक्त कम्पनीले स्थानीयबासीको ढाड सेक्ने गरी गरिएको भाडा बृद्धि फिर्ता लिनुपर्ने भन्दै स्थानीयबासी आन्दोलीत बनेका हुन । यस अघि कम्पनीले सर्वसाधरणका लागि एक तर्फी टिकट शुल्क १ सय र वलेवा क्षेत्रका बासिन्दालाई ७५ रुपैया तोकेको थियो ।

कम्पनीले हाल एकतर्फी टिकको १ सय २५ रुपैंया सर्वसाधारणका लागि र वलेवा क्षेत्रका बासिन्दाका लागि १ सय रुपैंया निर्धारण गरेको छ । कम्पनीले साविकको भाडामा ३३ प्रतिशत नघट्ने गरी भाडा बृद्धि गरेपछि भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दा आन्दोलीत बनेका हुन । झण्डै आधार किलोमिटर दुरी ४ मिनेटमा पार गर्न १ सय २५ रुपैंया शुल्क निकै महंगो भएको वलेवा क्षेत्रका बासिन्दाको भनाई छ ।

स्थानीयबासी तथा पत्रकार ओमप्रसाद घायलले सर्वसाधरणलाई सुलभ मूल्यमा सेवा दिनुपर्नेमा झन मूल्य बृद्धि गरेर आर्थिक अवस्था कमजोर भएकाहरुलाई चर्को आर्थिक भार पार्ने काम भएको बताउँछन । साविकको ७५ रुपैया भाडा नै महंगो हुँदा हुँदै फेरी चर्को मूल्य बृद्धि गर्दा त्यसले सेवामुखी भन्दा पनि नाफामूखी प्रबृतिमा कम्पनी अग्रसर बनेको घायलले बताए ।

उता, भाडा महंगो भएको भन्दै वलेवा क्षेत्रका बासिन्दाले मंगलबार विहानै देखि कम्पनी परिवारमा धर्ना र नाराबाजी सहित मूल्यबृद्धि फिर्ता लिन माग गरेका छन । उता, कम्पनीले भने समयसंगै सवै कुराको मूल्य बढदै गएका कारण आफूहरुले बाध्य भएर मूल्य बृद्धि गर्नु परेको बताएको छ । कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले मूल्य बृद्धि नगर्दा कम्पनीको नियमित आर्थिक कारोबारमा समस्या परेको हुँदा आफूहरु बाध्य भएर मूल्य बृद्धि गरेका बताए । भाडा समायोजनको विषय कम्पनीको नियमित वैठकमा बसेर समाधान हुने गरी स्थानीयसंग आपसी सहमती गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस