२० फागुन, काठमाण्डौं । । नेकपा (एमाले) ले भोलि शनिबारदेखि प्रारम्भ गर्ने पन्ध्र दिने ‘मेची–महाकाली राष्ट्रिय अभियान’ को रौनकले सिंगो झापा जिल्लालाई छोएको छ यतिबेला । भोलि बिहान १० बजेदेखि मेची पुलनजिकैको भन्सार विन्दुबाट सुरु हुने अभियानको अहिले सिंगो देशभरि नै व्यग्र प्रतिक्षा त गरिएको छ नै, झापाका जनताले पनि एमालेको अभियानलाई सफल पार्न उत्साह दर्साइरहेका छन् ।
पन्ध्र दिने मेची–महाकाली राष्ट्रिय अभियानको उद्घाटनको तयारी कस्तो छ त ? झापाको सोही क्षेत्रबाट निर्वाचित एमाले सांसद् तथा झापा इन्चार्ज रवीन कोइरालाले बताए, ‘भोलिको मेची महाकाली अभियानको उद्घाटनलाई भव्य बनाउन हामी लागिपरेका छौं । भोलि बिहान १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गर्नु भएपछि अभियान प्रारम्भ हुनेछ ।’
अभियानको उद्घाटनका बेला झापाका स्थानीय आदिवासी, जनजातिहरुले जातीय पहिचानसहितको झाँकी निकाल्ने, साँस्कृतिक कार्यक्रमहरु हुने पनि कोइरालाले बताए । उनले भने, ‘भोलिको उद्घाटनका क्रममा स्थानीय राजवंशी, धिमाल, खरिया, बुराउ र मेचे जातिका जनताले आफ्नो पहिरनसहित झाँकी प्रदर्शन गर्नेछन् ।’
अभियान प्रारम्भ हुने थलो काँकडभिट्टामा २० हजार जनता उपस्थित हुने पनि कोइरालाले बताए । उनले भने, ‘काँकडभिट्टाबाट अभियान सुरु भएपछि सडकमा लामबद्ध रहेका रहेका जनतालाई अभिवादन गर्दै भोलि नै जनलहर बिर्तामोडतिर अघि बढ्ने छ । बिर्तामोडमा हुने १ बजेको जनसभामा पनि लाखौं जनताको उपस्थिति रहने हामीले अनुमान गरेका छौं ।’
बिर्तामोडमा हुने १ बजेको सभा टुंगिएपछि सोही जनलहर दमकमा आइपुग्नेछ । दमकमा दिउँसो ३ बजे सभा राखिएको छ । दमकको सभा सकिएपछि केन्द्रीय नेताहरु र जनलहरमा उपस्थित एमालेका नेता, कार्यकर्ता र जनताहरुले पहिलो दिन दमकमा नै बिताउने छन् । कोइरालाले भने, ‘हामीले दमकको सभामा अरु सभाभन्दा उल्लेख्य सहभागिता रहने अनुमान गरेका छौं ।’ दोस्रो दिनको कार्यक्रमका लागि दमकबाट बिहान १० बजे प्रस्थान हुने पनि कोइरालाले बताए ।
सो अभियानमा सहभागी हुन एमाले अध्यक्ष ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालका साथै केन्द्रीय तहका नेताहरु शुक्रबार नै झापा पुग्दैछन् ।





प्रतिकृया दिनुहोस्