१३ फागुन, पर्वत । छोराछोरी पढाउन म्याग्दीको बेनीमा बस्दै आएकी पर्वतको बाँसखर्क–२ की चन्द्र कुमारी भण्डारी गाउँ फर्किएर सुन्तला खेती गर्न थालेकी छन् ।
बेनीमा घडेरीसमेत किनीसकेकी भण्डारीले आठ रोपनी जमिनमा दुई सय बोट सुन्तला लगाएकी छन् । सुन्तलाले आम्दानी दिन थालेपछि उत्साहित भण्डारी विदेशमा रहेका श्रीमान्लाई घर फर्काउने र पढ्दै गरेका छोरालाई रोजगारीका लागि विदेश नपठाउने सोचमा छिन् ।
भण्डारी मात्र होइन बाँसखर्कका धेरैले परम्परागत बाली लगाउने पाखोबारी र खरबारीमा सुन्तला खेती गरेका छन् । बाँसखर्कमा बसोबास गर्ने २ सय ६१ मध्ये २ सय घरले करिब डेढ सय हेक्टरमा व्यावसायिक सुन्तला खेती गरेका छन् ।
सडक सुविधासँगै सुन्तलाले सहज बजार र उचित मूल्य पाउन थालेपछि बाँसखर्कका बासिन्दा सुन्तला खेती विस्तारमा लागेका हुन् । सुन्तला बिक्री गरेर गाउँमा यस वर्ष २ करोड रुपैयाँ भित्रिएको बाँसखर्क्स्थित बजारमारे सुन्तला उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताए ।
गत वर्ष डेढ करोड रुपैयाँबराबरको सुन्तला निकासी भएको थियो । यस वर्ष बाँसकर्खमा २ सय टन सुन्तला उत्पादन भएको सहकारीले जनाएको छ । अध्यक्ष खत्रीका अनुसार पोखराका व्यापारीले बगैंचाबाटै सुन्तला खरिद गरेका हुन् ।
बाँसखर्कको हावापानी र भूगोल सुन्तला खेतीका लागि अनुकूल मानिन्छ । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि बाँसखर्कका सुन्तला बजार पठाइन्छ । माघको दोस्रो साता मात्र यहाँको सुन्तला बजार पठाइएको छ । प्रतिकिलो ८० देखि ११५ रुपैयाँसम्ममा सुन्तला बिक्री गरेर यहाँका एक जना कृषकले वर्षमा आठ लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक नरबहादुर खत्रीले बताए ।
सुन्तला बजार पु¥याउनका लागि बाँसखर्कका बासिन्दाले दुई वर्षअघि बगरफाँट हँुदै गाउँलाई जोड्ने सडक निर्माण गरेका छन् । मिलनचोक मल्लाज हुँदै घुमाउरो बाटोबाट सुन्तला ढुवानी गर्दै आएका बाँसखर्कका कृषकलाई बगरफाँट–बाँसखर्क सडक बनेपछि छिटो र ढुवानी खर्च घटेको छ । बाँसखर्कमा सुन्तला खेती विस्तार हुने क्रमसँगै सिँचाइ सुविधाको भने समस्या देखिएको छ ।
उनीहरूले व्यवस्थित सिँचाइका लागि पुम्दीखोलाबाट पानी ल्याउने योजना बनाएका छन् । बाँसखर्कमा सुन्तला खेती प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रमका साथै यस वर्षदेखि प्याक्ट आयोजना सञ्चालन गरेको छ ।
Print
बजार झरेकाहरु सुन्तला खेती गर्न गाउँ फर्के




प्रतिकृया दिनुहोस्