Print

पर्वतमा भूकम्प पिडितको लगत संकलन अन्तिम चरणमा

११ फागुन, पर्वत । महाबिनासकारी भुकम्प गएको २० महिनापछि शुरु गरिएको क्षतिग्रस्त संरचनाको लगत संकलन तथा सर्बेक्षणको काम पर्वतमा अन्तिम चरणमा पुगेको छ ।
गत पुस २६ गतेदेखि शुरु भएको लगत संकलन अभियान ९५ प्रतिशत भन्दा बढि सम्पन्न भइसकेको छ । केन्द्रिय तथ्याँक बिभागले जिल्लाका प्रभावित गाउँ बिकास समितिमा क्षतिग्रस्त संरचनाको लगत संकलनका लागि पर्वतमा २९ जना इन्जिनियर खटाएको थियो । भने त्यति नै संख्यामा सामाजिक परिचालकहरु खटाइएको थियो ।
तथ्यांक विभाग लगत संकलन कार्यालय पर्वतले दिएको जानकारी अनुसार हालसम्म १० हजार ३ सय १६ भुकम्प पिडित परिवारको लगत संकलन भैसकेको छ । पर्वतका कुल ११ हजार ८ सय ९ घर मध्ये अब १ हजार ४ सय ९३ घरपरिवार बाँकी रहेको तथ्यांक संकलन कार्यालयका प्रमुख शिब श्रेष्ठले जानकारी दिए । ‘अबको दुई साता भित्र सवै लगत संकलन भैसक्ने उनले जानकारी दिएका छन् । जिल्लाका १ नगरपालिका सहित ४७ गाविस मध्ये हालसम्म ४० गाविस सम्पन्न भैसकेका छन् भने अब ७ गाविस कुश्मा नगरपालिकामा लगत लिने काम भैरहेको श्रेष्ठले जानकारी दिए ।
जिल्लामा खटाइएका २९ इन्जिनियर मध्ये १७ जना इन्जिनियर आफ्नो काम सकेर फकिसकेका छन् भने बाँकी १२ जनाले फिल्डमा काम गरिरहेको बताइएको छ ।
सरकारले भूकम्पबाट कम प्रभावित पर्वत जस्तै १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम अन्तर्गत पर्वतमा पनि लगत संकलन गरिएको हो । तत्कालिन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकाय लगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक फरक भएपछि राष्टिूय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम गरिरहेको छ । पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८ सय ९ घरपरिवार भूकम्पबाट पीडित बनेका थिए ।
सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार अहिले सम्म पुर्ण रुपमा भवन क्षतिग्रस्त भएका २ हजार ३ सय ४४ र आँशिक क्षति भएका ६ हजार ७ सय ७७ जनाले राहत बुझेका छन । चार महिना पहिले थप बिबरण संकलन भएकाले संख्या ११ हजार ८ सय ९ पुगेको थियो ।
लामो समयसम्म सरकारले राहत नदिँदा कतिपयले नयाँ घर समेत बनाइ्सकेको अवस्थामा पीडितले फिल्डमा आउने इन्जिनियरलाई जस्ताको त्यस्तै अवस्था भनिदिएर सहयोग गरेको कार्यालयले जनाएको छ । –धौलागिरी सञ्चार साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस