Print

पर्वतका १२ वटा क्याम्पसका स्वबीयू निर्वाचनको तयारी कसरी हुँदैछ ?

११ फागुन, पर्वत । जिल्लाका १२ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनिएनको निर्वाचनको तयारी भईरहेको छ । सदरमुकामका २ सहित जिल्लाका १२ वटा क्याम्पसहरुमा निर्वाचनको तयारी भईरहेको हो । निर्वाचनलाई आफ्नो पोल्टामा पार्न विद्यार्थी संगठनहरुले विभिन्न योजनाहरु निर्माण गरिरहेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्वबीयू, अनेरास्वबीयू (क्रान्तिकारी) लगाएतका संगठनहरुले निर्वाचन लक्षित गतिविधिहरु सञ्चालन गरीरहेका छन ।
पछिल्लो निर्वाचनमा क्याम्पस प्रशासनले विजयी उमेदवारहरुलाई पदस्थापना नगराएको सदरमुकामको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पनि यस पटक निर्वाचन हुने देखिएको छ । उक्त क्यामपसमा यस अघि अनेरास्वबीयूका सुवास पौडेलले सभापति पद जितेका थिए ।
क्याम्पस प्रशासनले आफ्नो निकट विद्यार्थीले हारे ब्यहोरेको भन्दै चुनाव पछि पदस्थापना नगराउँदा उक्त विवाद हालसम्म पनि समाधान भएको छैन । अनेरास्वबीयूले पछिल्लो चुनावमा पदस्थापना नगराएको क्याम्पस प्रशासनले यस पटकको निर्वाचनमा पछि पनि पदस्थापना गराउँछ भन्नेमा आफू ढुक्क नरहेको भन्दै ध्यानाकर्षण पत्र समेत क्याम्पसलाई दिइसकेको छ ।
उता, पछिल्लो पटक खोलीएका नयाँ क्याम्पसहरुमा पनि विद्यार्थी संगठनहरुले आफ्ना संगठनहरु निर्माण गर्ने र चुनाव गर्ने गरी तयारी गरिहेका छन । जिल्लाको पुरानो क्याम्पस जनता सुर्दधन बहुमुखी क्याम्पस ठूलिपोखरी र पर्वत बहुमुखी क्याम्पस फलेवासमा पनि चुनावका तयारी थालिएको छ । दुवै क्याम्पसमा विद्यार्थी संख्या न्यून रहे पनि चुनाव हुने गरी विद्यार्थी संगठनहरु कस्सिएका छन ।
बुधबार मात्रै नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै जिल्लाका ११ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघलाई विजयी गराउनका लागि तरुण दलका ११ जना संयोजक तोकेको छ । तरुण दलले ३ सय युवाहरुलाई आफ्नो पक्षमा निर्वाचन पार्न परिचालन गरिएको तरुण दलका अध्यक्ष राजमल्ल ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।
उता, अनेरास्वबीयूले भने भद्र च्ुनाव प्रचार नीति अबलम्बन गरेको अनेरास्वबीयूका जिल्ला प्रचार संयोजक लकास सुवेदीले बताए । सवै क्याम्पसमा कमिटि गठन गरीएको र उनीहरुलाई विद्यार्थीको अधिकारमा काम गर्ने संगठनलाई रोजेर मतदातको अधिकार दिइने उनले बताए ।
जिल्लामा गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा, शिवालय बहुमुखी क्याम्पस कुश्मा ग्रामप्रकाश बहुमुखी क्याम्पस लेकफाँट, पर्वत बहुमुखी क्याम्पस फलेवास, नवजागृत बहुमुखी क्याम्पस तिलाहार, हुवा बहुमुखी क्याम्पस हुवास, पैयू बहुमुखी क्याम्पस त्रिवेणी, वहाकी बहुमुखी क्याम्पस वहाकीठाँटी, जनता सुर्दशन बहुमुखी क्याम्पस ठूलिपोखरी, धुँवाकोट महाशिला बहुमुखी क्याम्पस लुंखु, त्रिभूवन बहुमुखी क्याम्पस शंकरपोखरी र अन्नपूर्ण बहुमुखी क्याम्पस गरी १२ वटा क्याम्पसहरु रहेका छन ।
पछिल्लो पल्ट गुप्तेश्वर बहुमुखी क्याम्पस र पर्वत बहुमुखी क्याम्पसमा चुनाव भएको थियो । दुवै क्याम्पसमा अनेरास्वबीयू निकट विद्यार्थीले सभापति पद जितेका थिए । यस पटक पनि अनेरास्वबीयू, नेविसंघ र अखिल क्रान्तिकारी वीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस