६ फागुन, पर्वत । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको छ । कुस्मा नगरपालिका दोबिल्ला मोदीखोला माथि रहेको सो मोटरेवल पुलको समय समयमा मर्मत नहुँदा २ सय मिटर लामो पुल जीर्ण बन्दै गएको हो ।
७ वर्ष अघि बनेको पुलको अधिकांस ठाउँमा नट बोल्ट खुस्किएको, पुलमा रहेका पाताहरु उक्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुबै छेउमा माटो जमेको भएपनि कुनै निकायले मर्मतमा ध्यान दिएको पाईदैन । जिल्ला विकास समितिले केही समय पहिलासम्म हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गर्ने गरेको भएपनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको हो ।

पुलको नियमित रुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडीहरु, डोजर, लोडर लगायतका हेब्भी ईक्युमेन्टहरु समेत यहि पुलबाट तार्ने गर्दा पुलका पाताहरुमा प्वाल पर्ने समस्या देखिएको व्यावसायी भिम प्रसाद श्रेष्ठको भनाई छ ।
यो पुलबाट ३४ गाविसमा प्रत्यक्ष रुपमा यातायात सेवा संचालन हुने गरेको छ । १५ टन भारवहन क्षमता भएको सो पुलमा ओभरलोड गरि लैजाँदा समेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्माले बताए । ठूला ठूला डोजर लोडर जस्ता उपकरणहरु यहिँबाट तार्ने गरेको समेत शर्माले बताए ।
समय समयमा मर्मत नहुँदा तथा रेखरेख नहुँदा करोडौं खर्चिएर बनाएका यस्ता पूर्वाधारहरु जीर्ण बन्दै गएको साथै यस पुलबाट ओहोर दोहोर गर्ने सयौं सवारी साधनलाई झनै समस्या हुने श्रेष्ठको भनाई छ ।
उता जिल्ला विकास समितिले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भएपनि काम गर्न नसकिएको बताईएको छ । स्थानीय विकास अधिकारी युवराज पौडेलले जिल्लाको महत्वपूर्ण सो पुलको मर्मतका लागि हालसम्म कुनै ध्यानकार्षण नभएको र हाल सो सडकको सडक विभागले जिम्मा लिएकाले सोही कार्यालयले मर्मत तथा व्यवस्थापनको काम गर्नुपर्ने बताए । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रुपमा सस्पेन्डड मोडलमा सो पुल निर्माण गरेको थियो ।






प्रतिकृया दिनुहोस्