Print

आर्थरको पञ्चकोशी उमाविका सवै कक्षा कोठामा सिसिक्यामरा जडान

५ फागुन, पर्वत । जिल्लाको आर्थर गाविसमा रहेको पन्चकोशी उच्च माविका कक्षा कोठाहरुमा सिसिक्यामरा जडान गरिएको छ । शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थी अनुशासन कायम गर्न विद्यालयले सवै कक्षा कोठा, प्रयोगशाला र कार्यालयमा समेत गरी १६ वटा सिसिक्यामरा जडान गरेको हो ।

स्थानीय ब्यक्तिहरुको सहयोगमा झण्डै १ लाख ४५ हजार रुपैंयाको लागतमा विद्यालयमा सिसिक्यामरा जडान गरिएको विद्यालयका प्राचार्य अर्जुन पौडेलले जानकारी दिए । सिसिक्यामराको विहिबार एक कार्यक्रमका वीच स्थानीय विकास अधिकारी युवराज पौडेलले शुभारम्भ गरे । बिद्यालयका कक्षा कोठामा क्यामरा जडान गर्दा शिक्षक र विद्यार्थी दुवैलाई अध्ययन, अध्यापनमा थप जिम्मेवार बनाउनका लागि क्यामरा जडान गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा बताउँछन । शर्माले क्यामराले केहि अध्ययनमा केहि नकारात्मक असरहरु पर्न पनि सक्ने भएपनि समग्रमा अध्ययन कार्यमा विद्यार्थी र अध्यापन कार्यमा शिक्षकलाई संवेदनशिल बनाउन पनि उक्त कार्यलाई अगाडि बढाईएको उनले बताए । विद्यालयमा विद्यार्थीहरुमा अनुशासनहिनता बढदै जाँदा त्यसको नियन्त्रणलाई समेत सहयोग पुग्ने शर्माको विश्वास छ ।

सिसिक्यामराको शुभारम्भ गर्दै स्थानीय विकास अधिकारी युवराज पौडेल

समयमा कक्षामा शिक्षकहरु नजाने, विद्यार्थीहरु होहल्लामा समय ब्यत्तित गर्ने गरेका कारण शैक्षिक गुणस्तरमा विद्यालयमा क्रमशः घट्न थालेको भन्दै विद्यालय प्रशासनले विद्यालयमा सिसिक्यामराको ब्यवस्थापन गरेको हो । सिसिक्यामराका लागि स्थानीय रमेश गौतमले ७५ हजार, रुद्रमोहन रिमालले ३५ हजार र लेखनाथ रिमालले ३५ हजार रुपैंया नगद सहयोग गरेका छन ।

ग्रामीण भेगमा रहेको सामुदायिक विद्यालय भएपनि प्रविधि मैत्री गुणस्तरीय सेवा प्रवाहमा विद्यालयले जिल्लाको अग्रणी भूमिका हासिल गर्न उद्दत रहेको स्थानीय विकास अधिकारी पौडेलले बताए । ३ सय ५० जना विद्यार्थी संख्या रहेको विद्यालयमा आगामी शैक्षिक शत्र देखि अंग्रेजी माध्यममा अध्यापन शुरु हुने गरी विद्यालयले तयारी गरेको छ । अंग्रेजी माध्यममा अध्ययनका लागि गाउँका विद्यार्थीहरु बजार झरेर गाउँ नै रित्तो हुन थालेपछि विद्यालयले अंग्रेजी माध्यममा समेत अध्यापनको तयारी गरेको हो । उक्त कार्यका लागि विद्यालयका भूतपूर्व विद्यार्थीहरुले झण्डै १ करोेड बराबरको कोष स्थापना गर्ने गरी सहयोग रकम उठाउने अभियान सञ्चालन गरीरहेको छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस