२ फागुन, स्याङजा । नदीमा पानीको बहाव व्यापक घटेपछि देशको ठुला कालिगण्डकी ए जलविद्युत आयोजनाबाट जडित क्षमताको एक तिहाई मात्र बिजुली उत्पादन भएको छ ।
कालिगण्डकीको क्षमता १४४ मेगावाट भए पनि हाल नदीमा जलस्तरमा भारी गिरावट आएको विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । उनकाअनुसार नदीमा पानी वहाव घटेकाले कालिगण्डकीबाट उत्पादन ५० मेगावाटमा झरेको छ । सुख्खा बढ्दै गएकाले कालिगण्डकीबाट उत्पादन घटेर ४८ मेगावाटमा सीमित हुने गरेको छ । साँझ ४ घण्टा कालिगण्डकीबाट १४४ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।
यस्तै तल्लो मस्र्याङदी आयोजनाबाट पनि दिनको ५ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुँदै आएको छ । यस्तै मध्यमस्र्याङदीको एउटा युनिट मर्मतका क्रममा रहेकाले एउटाबाट ३५ मेगावाट बिजुली उत्पादन हुने गरेको छ । प्राधिकरणले साँझ कुलेखानी सञ्चालन गरिरहेको छ ।
आधारभूत रूपमा लोडसेडिङ हटेपछि विद्युतको मागमा पनि कमी आएको छ । हाल बिजुलीको माग १ हजार २३२ मेगावट मात्र रहेको प्राधिकरणले
जनाएको छ । काठमाडौं उपत्यका, पोखरा र नारायणगढलगायत क्षेत्रमा नियमित रूपमा बिजुली आपूर्ति भएपछि माग पनि घटेको विभागका श्रेष्ठले बताउँछन् । उनकाअनुसार हाल प्रणालीमा ३७५ मेगावाट अपुग छ । जसअनुसार प्राधिकरणका आयोजनाबाट ३४५, निजी ऊर्जा उत्पादकबाट १५२ र भारतबाट ३६० मेगावाट गरी कुल ८५७ मेगावाट मात्र आपूर्ति भएको छ ।
प्रणालीमा अझै ३७५ मेगावाट अपुग हुदा पनि काठमाडौं उपत्यकालगायत केही क्षेत्रलाई लोडसेडिङमुक्त गरे पनि अन्य स्थानमा दुई दिनमा एकपटक बढीमा २ घण्टासम्म लोडसेडिङ भइरहेको छ । उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । औद्योगिक क्षेत्रमा दैनिक १६ घण्टा बिजुली आपूर्ति भइरहेको विभागले जानकारी दिएको छ ।





प्रतिकृया दिनुहोस्