२६ माघ, पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघ पर्वतको अधिवेशनबाट सर्वसहमत नेतृत्व चयन गर्न पर्वतका ४ पत्रकार संगठनले औपचारिक निर्णय गरेका छन । क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टर र प्रेस सोसाइटीको संयुक्त वैठकले आगामी नेतृत्व सर्वसहमत चयन गर्ने निर्णय गरेको हो ।
महासंघका आगामी ३ गते पश्चिमाञ्चलका मनाङ र मुस्ताङ बाहेकका जिल्लामा एकै साथ जिल्ला अधिवेशनको मिति तय भएको छ । अधिवेशनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । आगामी नेतृत्वको कसरत शुरु भएको बेला पर्वतमा पत्रकार मोर्चाको रुपमा ४ वटा संगठनले सर्वसहमतको प्रस्ताव औपचारिक रुपमा अगाडि बढाएका हुन । नेतृत्व सर्वसहमतका लागि संगठनका प्रमुखहरुले हस्ताक्षर गरेका छन । हस्ताक्षर गर्नेमा महासंघको तर्फबाट गोपाल जिसी, संगठनको तर्फबाट बैगुष्ठ गिरी, सेन्टरको तर्फबाट मुरारी शर्मा र प्रनिश गिरी, सोसाइटीको तर्फबाट राजबाबु पिसी छन । संयुक्त वैठकमा उल्लेख छ ‘पत्रकार महासंघको निर्वाचनमा पूर्ण सहमती कार्यान्वयन गरी सहमतीको निर्वाचन गराउने निर्णय गरियो ।’ पूर्ण सहमतीका लागि प्रत्येक संगठनका प्रमुखहरुले वातावरण बनाउने समेत निर्णयमा उल्लेख छ ।
यस अघि प्रेस चौतारी र प्रेस युनिएनले पनि आन्तरीक वैठकमा आगामी नेतृत्व सर्वसहमत चयन गराउने निर्णय गरेका छन । आगामी नेतृत्व सर्वसहमत गराउनका लागि प्रेस चौतारीको तर्फबाट चौतारीका केन्द्रिय सदस्य गणेश पौडेलकोसंयोजकत्वमा ३ सदस्यीय वार्ता समिति र युनिएनको तर्फबाट कांग्रेस पार्टी सचिव तथा महासंघका साधारण सदस्य विश्वप्रकास प्रसाईको नेतृत्वमा ५ सदस्यीय वार्ता समितिको समेत गठन गरिसकेको छ ।
प्रेस चौतारीले सर्वसहमत नेतृत्वका लागि महासंघका पूर्व सचिव सन्तोष थापालाई प्रस्ताव गरेको छ भने, युनिएनले औपचारिक रुपमा नेतृत्वकर्ताको निर्णय गरेको छैन । पर्वत जिल्लाको आगामी नेतृत्व सर्वसहमत चयन गर्न चौतारी र युनिएन पनि सहमत देखिएका छन ।





प्रतिकृया दिनुहोस्