हरेक व्यक्तिको जीवनमा पहिलो प्रेम यस्तो अनुभूति हो, जसले मनमा गहिरो छाप छाड्ने गर्छ।
आखिर पहिलो प्रेम यति सजिलै किन भुल्न सकिँदैन, यसबारे कहिल्यै सोच्नुभएको छ?
यसको पछाडिको मनोविज्ञान के हो त? आउनुहोस्, आज पहिलो प्रेमको यही मनोविज्ञानका बारेमा विस्तृत रूपमा चर्चा गरौँ।
- के हो पहिलो प्रेमको मनोविज्ञान?
सन् २०१७ मा हावर्ड मेडिकल स्कुलले गरेको अनुसन्धानअनुसार जब कुनै व्यक्ति प्रेममा पर्छ, तब शरीरमा ‘अक्सिटोसिन’ भनिने लभ हर्मोन उत्पादन हुन थाल्छ। यसका साथै प्रेरणा जगाउने ‘डोपामिन’ र ‘सेरोटोनिन’ जस्ता ‘फिल-गुड’ (सुखद अनुभूति गराउने) हर्मोनहरू पनि निस्किन्छन्।
यी रसायनहरूको प्रभावले मन खुसी र उत्साहले भरिन्छ। जब यस्तो अनुभूति पहिलो पटक हुन्छ, मस्तिष्कले यसलाई एउटा अत्यन्तै सुखद अनुभवका रूपमा ग्रहण गर्छ। यस्तो अवस्थामा पहिलो प्रेमले व्यक्तिको जीवनमा गहिरो छाप छाड्छ। प्रेमको वास्तविक अनुभूति कस्तो हुन्छ भन्ने कुरा उसले भर्खरै मात्र बुझेको हुन्छ।
- किशोरावस्थामा पर्छ धेरै गहिरो असर
मनोविज्ञानलाई आधार मान्ने हो भने पहिलो प्रेमको अनुभूति प्रायः किशोरावस्थामा हुन्छ। त्यस बेला मन र शरीर विभिन्न परिवर्तनहरूबाट गुज्रिरहेका हुन्छन्।
यही त्यो समय हो, जतिबेला मस्तिष्कमा सबैभन्दा बलिया यादहरू बन्ने गर्छन्। पहिलो प्रेम मात्र होइन, पहिलो ब्रेकअप वा जीवनसँग जोडिएको कुनै पनि महत्त्वपूर्ण घटनाले किशोरावस्थामा गहिरो प्रभाव पार्छ।
- बारम्बार सम्झनाले बलियो हुन्छ याद
पहिलो प्रेमका यादहरू यति चाँडै किन मेटिँदैनन् भन्ने प्रश्नको पछाडि पनि एउटा कारण छ। त्यो पहिलो अनुभव भएको र त्यसले मनमा गहिरो प्रभाव पारेका कारण व्यक्तिले ती यादहरूलाई आफ्नो मस्तिष्कमा बारम्बार दोहोर्याइरहन्छ।
पहिलो भेट, पहिलो प्रेम प्रस्ताव वा कुनै विशेष उपहारका क्षणहरू बारम्बार याद आइरहन्छन्, जसले गर्दा ती स्मृतिहरू कमजोर हुन पाउँदैनन्। यसले गर्दा ती अनुभवहरू धमिलो हुनुको साटो झनै गाढा र पक्का हुँदै जान्छन्
- भविष्यको सम्बन्धमा पहिलो प्रेमको कस्तो असर पर्छ?
पहिलो प्रेमले हाम्रो भविष्यका जुनसुकै सम्बन्धहरूलाई पनि प्रभावित पार्ने गर्छ। यदि त्यो अनुभव नकारात्मक थियो भने भविष्यमा पनि त्यस्तै विषाक्त ढाँचा दोहोरिने सम्भावना रहन्छ।
यसको विपरीत, सकारात्मक अनुभव भएको खण्डमा व्यक्तिले भविष्यको जीवनसाथीमा पनि त्यस्तै राम्रा गुणहरू खोज्न थाल्छ।
राताेपाटीबाट साभार




