Print

खाडी मात्रै होइन, युरोप र अमेरिका पनि पोखराबाटै जान पाइनेछ : मुख्यमन्त्री पाण्डे

२ असाेज, माेदी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई खाडी मुलुकमा मात्रै सीमित नगरी युरोप र अमेरिकासम्म विस्तार गर्नुपर्ने बताएका छन् ।


पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारका विषयमा बोल्दै मुख्यमन्त्री पाण्डेले पोखरालाई विश्वका प्रमुख गन्तव्यसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोड्ने गरी पहल भइरहेको बताए ।


उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अपेक्षित रूपमा नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसकेको अवस्थामा अब उडानका गन्तव्य र वायुसेवा कम्पनीको संख्या बढाउन आवश्यक रहेको बताए ।


मुख्यमन्त्री पाण्डेले भने, “पोखराबाट खाडी मुलुक मात्रै होइन, युरोप र अमेरिका पनि जान पाइने वातावरण बनाउनुपर्छ। पोखरालाई विश्वका प्रमुख सहरसँग जोड्ने हाम्रो लक्ष्य हो ।”


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८१ चैतमा ल्हासाका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा सातामा एक उडान सुरु गरेको थियो।

यसअघि पोखराबाट विभिन्न अन्तर्राष्ट्रिय चार्टर उडान हुँदै आए पनि नियमित अन्तर्राष्ट्रिय उडान विस्तारको विषय भने निरन्तर चर्चामा रहँदै आएको छ। विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान बढेमा गण्डकीको पर्यटन, होटल तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूले बताउँदै आएका छन्।
मुख्यमन्त्री पाण्डेको भनाइले पोखरा विमानस्थललाई खाडी केन्द्रित गन्तव्यभन्दा बाहिर विस्तार गर्दै युरोप तथा अमेरिकी बजारसँग समेत प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने प्रदेश सरकारको अपेक्षा देखाएको छ।