१ भदौ, पर्वत । पर्वत जेसीजले आयोजना गरेको दोस्रो पर्वत जेसीज कप–२०८३ को उपाधि रामघाट ग्रीन पोखरा एफसीले जितेको छ। कुश्मामा चार दिनसम्म चलेको रोमाञ्चक फुटबल प्रतियोगिताको फाइनलमा गनी एफसीलाई ट्राइबेकरमा पराजित गर्दै रामघाट ग्रीन पोखराले उपाधि आफ्नो नाममा लेखाएको हो।
श्रावण २८ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो। तनावपूर्ण ट्राइबेकरमा रामघाट ग्रीन पोखराले ६–५ गोलअन्तरको जित निकाल्दै दोस्रो पर्वत जेसीज कपको च्याम्पियन बन्न सफल भयो।
फाइनल खेलमा दुवै टोलीले उपाधिका लागि आक्रामक खेल प्रस्तुत गरेका थिए। खेलको सुरुदेखि नै दुवै पक्षले गोलका लागि निरन्तर प्रयास गरे पनि उत्कृष्ट गोलरक्षक प्रदर्शन र रक्षापंक्तिको बलियो खेलका कारण निर्धारित समयभित्र कुनै गोल हुन सकेन। मैदानमा उपस्थित दर्शकले भरपूर मनोरञ्जन लिएको फाइनलको रोमाञ्चकता भने ट्राइबेकरसम्म कायम रह्यो।
ट्राइबेकरमा पुगेपछि पनि दुवै टोलीबीच कडा प्रतिस्पर्धा भयो। अन्ततः रामघाट ग्रीन पोखराले दबाब थेग्दै निर्णायक पेनाल्टीमा सफलता हात पार्यो। ६–५ को नतिजासँगै रामघाटले उपाधि उचाल्दा गनी एफसी उपविजेतामा सीमित भयो।
प्रतियोगितामा कुल २७ टोलीले सहभागिता जनाएका थिए। पर्वतसहित विभिन्न क्षेत्रका फुटबल टोलीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रारम्भिक चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेका टोलीहरूबीचको प्रतिस्पर्धाले कुश्माको खेलमैदानमा फुटबलप्रतिको उत्साहसमेत बढाएको थियो।
पर्वत जेसीजको आयोजनामा भएको प्रतियोगिताले कुश्मामा चार दिनसम्म फुटबलको माहोल बनाएको थियो। प्रतियोगितामा सहभागी टोलीका खेलाडीको प्रदर्शनसँगै स्थानीय दर्शकको उत्साहले मैदानलाई थप जीवन्त बनाएको थियो।
फुटबलमार्फत युवालाई खेलकुदमा जोड्ने, प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने तथा जिल्लामा खेलकुद गतिविधिलाई चलायमान बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पर्वत जेसीजले जनाएको छ।
प्रतियोगिता सम्पन्न भएपछि पर्वत जेसीज वर्ष २०२६ की अध्यक्ष जेसि सर्मिला शर्माले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेकी छन्। फुटवलका गतिविधिहरु सुस्त हुने गरेको पर्वत जिल्लामा ेजेसिजले शुरुवात गरेको फुटवल प्रतियोगीताले युवा खेलाडीहरुमा खेलप्रतिको आकर्षण बढेर गएको छ ।




