Print

कुश्माका नगर प्रमुख जोशी नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित

पर्वत । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन्।

नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले २०८३ साल साउन २४ गतेको निर्णयअनुसार जोशीलाई नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २(घ) बमोजिम सञ्चालक समिति सदस्य पदमा मनोनयन गरिएको हो। मन्त्रालयका सहसचिव दिलिप भण्डारीले कुश्मा नगरपालिकालाई पठाएको पत्रमार्फत जोशीको मनोनयनबारे जानकारी गराइएको छ।

नगर विकास कोष नगर निर्माण, विकास तथा विस्तारसँग सम्बन्धित निकायलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापित संस्था हो। कोषले स्थानीय तहका शहरी पूर्वाधार, खानेपानी, सरसफाइ, बसपार्कलगायतका विकास आयोजनामा ऋण तथा अन्य वित्तीय सहयोग गर्दै आएको छ।

सञ्चालक समिति सदस्यका रूपमा जोशीले कोषको नीति, योजना तथा कार्यक्रम निर्माण, नगर विकाससम्बन्धी आयोजना तथा वित्तीय सहयोगका विषयमा हुने निर्णय प्रक्रियामा सहभागी हुनेछन्। कोषको सञ्चालक समितिको अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव रहने व्यवस्था छ। हाल कोषका अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल रहेको कोषको आधिकारिक विवरणमा उल्लेख छ।

नगर विकास कोषले स्थानीय तहसँग सहकार्य गर्दै शहरी पूर्वाधार विकासका विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ। पछिल्लो समय पनि कोषबाट विभिन्न नगरपालिकाका खानेपानी, सरसफाइ तथा शहरी पूर्वाधार आयोजनामा ऋण तथा वित्तीय सहयोगसम्बन्धी काम भइरहेको छ।

नगर प्रमुख जोशीको मनोनयनसँगै पर्वतको कुश्मा नगरपालिकाले नगर विकास कोषमार्फत प्राप्त गर्न सक्ने वित्तीय तथा प्राविधिक सहयोग र शहरी पूर्वाधारसम्बन्धी आयोजनाका विषयमा समेत थप समन्वय र पहल गर्ने अवसर प्राप्त भएको छ।