Print

कुश्मा बजारको घट्दो चहलपहल

१ भदौ, पर्वत । सदरमुकाम कुश्मा बजार कुनै समय जिल्लाको आर्थिक, प्रशासनिक र सामाजिक गतिविधिको मुख्य केन्द्र थियो । जिल्लाका ग्रामीण भेगबाट दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, शिक्षा, स्वास्थ्य, बैंकिङ तथा सरकारी सेवाका लागि मानिसहरू कुश्मा झर्ने गर्थे। विशेषगरी ग्रामीण क्षेत्रमा यातायातको पहुँच कमजोर हुँदा कुश्मा बजारमा मानिसको बाक्लो आवागमन हुन्थ्यो । त्यसको प्रत्यक्ष प्रभाव बजारका पसल, होटल, यातायात, बैंक तथा अन्य व्यवसायमा देखिन्थ्यो ।

तर पछिल्ला वर्षहरूमा कुश्मा बजारको पुरानो चहलपहल क्रमशः घट्दै गएको व्यवसायीहरू बताउँछन् । बजारका मुख्य सडक र चोकहरूमा मानिसको आवागमन पहिलेको तुलनामा कम देखिन थालेको छ । कतिपय पसलमा ग्राहकको संख्या घटेको छ भने व्यापारको प्रकृतिसमेत परिवर्तन भएको छ । यो अवस्था केवल आर्थिक मन्दी वा ग्राहकको क्रयशक्ति घटेको परिणाम मात्र होइन। पर्वतको जनसांख्यिक अवस्था, स्थानीय बजारको विस्तार, प्रशासनिक संरचनाको परिवर्तन, ग्रामीण सडकको विकास र सूचना प्रविधिको तीव्र विस्तारले कुश्माको परम्परागत बजार संरचनालाई नै परिवर्तन गरिरहेको देखिन्छ ।


घट्दो जनसंख्यादर


कुश्मा बजारको व्यापार घट्नुको पहिलो र महत्वपूर्ण कारण पर्वत जिल्लाकै घट्दो जनसंख्या हो । जिल्लाका धेरै ग्रामीण बस्तीबाट मानिसहरू बसाइँसराइ गरेर अन्यत्र जाने क्रम बढेको छ । रोजगारी, शिक्षा, स्वास्थ्य, व्यवसाय र सुविधाको खोजीमा जिल्लाबाहिर जाने प्रवृत्तिले गाउँमा जनसंख्या घटाउँदै लगेको छ । जनसंख्या जहाँ घट्छ, त्यहाँ बजारको माग पनि स्वाभाविक रूपमा घट्छ । कुनै समय एउटा गाउँमा रहेका सयौं परिवारले स्थानीय बजारमा गर्ने दैनिक उपभोगको खर्च अहिले त्यही गाउँमा हुँदैन । परिवारका सदस्य बाहिर गएपछि उनीहरूको उपभोग पनि अन्य शहर वा जिल्लामा सर्छ । यसले पर्वतको समग्र बजार मागलाई प्रभावित गरिरहेको छ । यसको प्रत्यक्ष असर कुश्मामा परेको छ । विगतमा गाउँबाट ठूलो संख्यामा मानिसहरू कुश्मा आएर खाद्यान्न, कपडा, जुत्ताचप्पल, निर्माण सामग्री, विद्युतीय सामग्रीलगायतका सामान खरिद गर्थे । अहिले जिल्लाबाटै मानिस बाहिरिँदा त्यो ग्राहक आधार नै साँघुरिँदै गएको छ ।


पालिका बनेपछि बजार पनि गाउँमै फैलियो

कुश्मा बजारको चहलपहल घट्नुको अर्को महत्वपूर्ण कारण बजारको विकेन्द्रीकरण हो । संघीय संरचनापछि जिल्लामा सातवटा स्थानीय तहको संरचना बनेसँगै प्रशासनिक तथा आर्थिक गतिविधि गाउँगाउँमा विस्तार भए । पालिका केन्द्रहरू आफैंमा नयाँ बजारका रूपमा विकसित हुन थाले । स्थानीय तहको कार्यालय, बैंक, सहकारी, विद्यालय, स्वास्थ्य संस्था, होटल, रेस्टुरेन्ट, हार्डवेयर, कपडा, मोबाइल तथा इलेक्ट्रोनिक पसललगायत व्यवसाय पालिका केन्द्र वरपर बढे । यसअघि गाउँबाट कुश्मा आउनुपर्ने धेरै उपभोक्ताले अहिले आफ्नै पालिका वा नजिकैको बजारबाट आवश्यक सामान तथा सेवा लिन थालेका छन् । पातीचौर, डिमुवा, पर्वतबेनी, हुवास, फलेवास क्षेत्र, कार्किनेटालगायतका बजारहरू विस्तार हुँदै जानु यसको उदाहरण हो । यी बजारहरू अहिले केवल साना पसलहरूको समूह मात्र रहेनन्, स्थानीय बासिन्दाको दैनिक आवश्यकता पूरा गर्ने आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् । यसले कुश्मालाई कमजोर बनाएको मात्र होइन, जिल्लाको बजार संरचनालाई बहुकेन्द्रित बनाएको छ । पहिले अधिकांश आर्थिक गतिविधि कुश्मामा केन्द्रित हुने अवस्था थियो भने अहिले जिल्लाभित्रै धेरैवटा बजार केन्द्रहरू निर्माण भएका छन ।


प्रशासनिक क्षेत्रको विस्तार


कुश्मा सदरमुकाम भएकाले जिल्लाका विभिन्न सरकारी तथा प्रशासनिक कामका लागि मानिसहरू अनिवार्य रूपमा कुश्मा आउनुपर्ने अवस्था थियो। तर स्थानीय तहको अधिकार विस्तार भएपछि जिल्लास्तरीय रूपमा हुने धेरै काम पालिकामै हुन थाले । जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सामाजिक सुरक्षा, सिफारिस, योजना सम्झौता, उपभोक्ता समिति, कृषि तथा पशु सेवा, शिक्षा, स्वास्थ्यलगायतका धेरै सेवा स्थानीय तहबाटै उपलब्ध हुन थालेका छन् । यसअघि एउटा सामान्य प्रशासनिक कामका लागि समेत कुश्मा आउनुपर्ने मानिस अहिले आफ्नै पालिकाबाट सेवा लिएर फर्किन सक्छ । यसको अर्थ कुश्माको प्रशासनिक महत्व समाप्त भएको होइन, तर दैनिक रूपमा सदरमुकाममा आउने मानिसको संख्या घटेको हो । यसको असर बजारमा प्रत्यक्ष देखिन्छ। सरकारी कार्यालयमा आउने सेवाग्राहीले यातायात, होटल, खाजा, कपडा, स्टेशनरी, खुद्रा पसललगायत क्षेत्रमा गर्ने खर्च पनि बजारको अर्थतन्त्रको हिस्सा हो। सेवाग्राहीको आवागमन घटेपछि त्यससँग जोडिएको व्यापारमा समेत प्रभाव पर्नु स्वाभाविक हो ।


गाउँसम्म पुगेको कालोपत्रे


कुश्मा बजारको व्यापारिक चहलपहल घट्नुको अर्को प्रमुख कारण सडक पूर्वाधारको विकास हो । विगतमा ग्रामीण क्षेत्रमा सडक भए पनि धेरै ठाउँमा कच्ची वा वर्षायाममा जोखिमपूर्ण हुन्थे। गाउँबाट सदरमुकाम आउन लामो समय लाग्थ्यो । अहिले पर्वतका धेरै ग्रामीण सडक कालोपत्रे भएका छन् । झण्डै दुई सय किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्रे भएको अवस्थाले जिल्लाको यातायात प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ। कुश्माबाट करिब डेढ घण्टाको यात्रामै जिल्लाका धेरै ग्रामीण बस्तीमा पुग्न सकिने अवस्था बनेको छ । सडकले कुश्मालाई गाउँसँग मात्र जोडेको छैन, गाउँलाई अन्य शहरसँग पनि जोडिदिएको छ। ग्रामीण क्षेत्रबाट पोखरा, काठमाडौं, बुटवल, चितवनलगायतका शहरतर्फ सिधा वा सहज यातायात सञ्चालन हुन थालेको छ । यसको परिणाम के भयो भने गाउँका मानिसले आवश्यक सबै कामका लागि कुश्मा आउनुपर्ने बाध्यता घट्यो । अझ महत्वपूर्ण कुरा, गाउँमा आवश्यक सामान ढुवानी गरेर पु¥याउन सहज भएपछि उपभोक्ताले गाउँमै बसेर सामान खरिद गर्न सक्ने अवस्था बन्यो । पहिले गाउँबाट कुश्मा आएर खाद्यान्न किन्ने उपभोक्ताले अहिले स्थानीय बजारमै सामान पाउँछन ्। हार्डवेयरका सामग्री, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, कपडा, फर्निचरलगायतका वस्तु पनि गाउँसम्म पुग्न थालेका छन् । अर्थात् सडकले कुश्मालाई गाउँसँग जोड्ने मात्र होइन, गाउँलाई कुश्माको विकल्प पनि बनाइदिएको छ ।


पोखरा र अन्य शहरको प्रभाव


सडकको सहजताले पर्वतका ग्रामीण बासिन्दालाई कुश्मासम्म मात्र होइन, पोखरासहित ठूला शहरसम्म पहुँच दिएको छ । पोखरा तुलनात्मक रूपमा ठूलो व्यापारिक केन्द्र भएकाले उच्च गुणस्तर, विविधता र मूल्यमा प्रतिस्पर्धी वस्तुहरू त्यहाँ उपलब्ध हुन्छन् । कुनै समय पर्वतका लागि ठूलो व्यापारिक केन्द्रको भूमिका निर्वाह गर्ने कुश्माले अहिले पोखरासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। गाउँबाट पोखरा पुग्न सहज भएपछि उपभोक्ताले ठूलो खरिदका लागि पोखरा रोज्न थालेका छन् । यसले कुश्माको बजारलाई ‘जिल्लाको अन्तिम गन्तव्य’ बाट ‘जिल्लाभित्रको एउटा बजार केन्द्र’ मा रूपान्तरण गरिरहेको छ ।


सञ्चार क्षेत्रको विकास


कुश्मा बजारको परम्परागत व्यापार प्रणालीमा परिवर्तन ल्याउने अर्को शक्तिशाली माध्यम सूचना प्रविधि हो । मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल, डिजिटल भुक्तानी र अनलाइन कारोबारको विस्तारसँगै ग्राहक र व्यापारीबीचको सम्बन्ध बदलिएको छ । ग्राहकले पसलमा पुगेर मात्र सामान र मूल्यबारे जानकारी लिनुपर्ने अवस्था छैन । सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा डिजिटल माध्यमबाट सामान खोज्न, मूल्य तुलना गर्न र अर्डर गर्न सकिन्छ । बैंकिङ प्रणाली पनि गाउँगाउँमा विस्तार भएको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर भुक्तानी तथा अनलाइन कारोबारका कारण नगद बोकेर कुश्मा आउनुपर्ने आवश्यकता घटेको छ । यसको सकारात्मक पक्ष पनि छ । यसले जिल्लाका व्यवसायीलाई ठूलो बजारसँग जोड्ने अवसर दिएको छ । तर परम्परागत बजारका लागि चुनौती पनि सिर्जना गरेको छ । अब कुश्माको पसलले कुश्माकै पसलसँग मात्र प्रतिस्पर्धा गर्नुपर्दैन । पोखरा, काठमाडौं वा अन्य शहरका व्यवसायीसँग पनि एउटै ग्राहकका लागि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।


बजार घटेको हो कि बजारको स्वरूप बदलिएको हो ?

कुश्मा बजारको अहिलेको अवस्थालाई केवल ‘बजार सकिँदै गएको’ भनेर बुझ्नु उचित हुँदैन । वास्तवमा बजारको स्वरूप परिवर्तन भइरहेको छ । पहिले बजार भौतिक स्थानमा केन्द्रित थियो । ग्राहक पसलमा पुग्थे, सामान हेर्थे र खरिद गर्थे। अहिले बजार मोबाइलको स्क्रिनमा पुगेको छ । पहिले ग्राहक कुश्मा आउनुपथ्र्यो, अहिले सामान ग्राहकसम्म पुग्न थालेको छ । पहिले पालिका तथा गाउँमा बजारको अभाव थियो, अहिले गाउँमै साना–ठूला बजारहरू बनेका छन् । पहिले सरकारी सेवा लिन सदरमुकाम आउनुपथ्र्यो, अहिले धेरै सेवा पालिकाबाटै पाइन्छ । पहिले सडकले गाउँलाई कुश्मासँग जोड्थ्यो, अहिले त्यही सडकले गाउँलाई पोखरा र अन्य शहरसँग पनि जोडेको छ । त्यसैले कुश्माको चहलपहल घट्नु एउटा अर्थमा कुश्माको कमजोरी मात्र नभई जिल्लाको समग्र संरचनामा आएको परिवर्तनको परिणाम पनि हो ।


बजारको पुर्नसंरचना


बदलिएको परिस्थितिमा कुश्मा बजारले पुरानै व्यापारिक मोडलमा भर परेर अघि बढ्न सक्ने अवस्था छैन । बजारलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । कुश्माले अब केवल पर्वतका ग्रामीण उपभोक्तालाई सामान बेच्ने बजारभन्दा माथि उठेर पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, होटल तथा आतिथ्य, विशेषीकृत व्यापार र क्षेत्रीय व्यापारको केन्द्रका रूपमा आफूलाई विकास गर्नुपर्ने देखिन्छ ।

कुश्मा–बागलुङ, कुश्मा–पोखरा, कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गसँग जोडिएको भौगोलिक अवस्थालाई बजार विकासको नयाँ आधार बनाउन सकिन्छ । कुश्मा हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित व्यवसाय विस्तार गर्न सकिन्छ । स्थानीय उत्पादनको ब्रान्डिङ, कृषि उपजको बजारीकरण, होटल तथा रेस्टुरेन्ट व्यवसाय, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन र डिजिटल व्यापारलाई कुश्माको नयाँ अर्थतन्त्रसँग जोड्न सकिन्छ ।

कुश्मा बजारमा घट्दो चहलपहल एउटा मात्र कारणले आएको समस्या होइन । पर्वतको घट्दो जनसंख्या, उच्च बसाइँसराइ, स्थानीय तहसँगै भएको बजार विकेन्द्रीकरण, प्रशासनिक कामको स्थानीयकरण, ग्रामीण सडकको विस्तार, पोखरा तथा अन्य शहरसँगको सहज पहुँच र डिजिटल प्रविधिको तीव्र विकासले कुश्माको पुरानो बजार संरचनालाई परिवर्तन गरिरहेका छन् । यसलाई संकटका रूपमा मात्र हेर्ने हो भने समस्या अझ गहिरिन सक्छ । बरु यो परिवर्तनलाई नयाँ अवसरका रूपमा बुझ्न आवश्यक छ ।


कुनै समय जिल्लाका सबै गतिविधि कुश्मामा केन्द्रित थिए । अब त्यस्तो अवस्था रहेन । त्यसैले कुश्माले पनि आफूलाई जिल्लाको ‘एकमात्र बजार’ का रूपमा होइन, पर्वतको प्रमुख व्यापारिक, सेवा, पर्यटन र आर्थिक केन्द्र का रूपमा पुनःपरिभाषित गर्नुपर्ने समय आएको छ । कुश्माको चहलपहल फर्काउने उपाय केवल ग्राहक बढाउनु होइन; नयाँ ग्राहक, नयाँ व्यवसाय, नयाँ सेवा र नयाँ बजार सिर्जना गर्नु हो । जिल्लाभित्र फैलिएको आर्थिक गतिविधिलाई कुश्मासँग जोड्ने र बाहिरी जिल्लाबाट मानिस तथा लगानी भित्र्याउने रणनीति लिन सके मात्रै सदरमुकामले बदलिँदो समयअनुसार आफ्नो आर्थिक नेतृत्व पुनःस्थापित गर्न सक्नेछ । अर्थ वीट साप्ताहिक पत्रिमा प्रकाशित समाचार