२३ साउन, पर्वत । पर्वत जेसीजको आयोजनामा कुश्मामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको सेभेन ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ।
साउन २८ देखि ३१ गतेसम्म बडागाउँ खेलमैदानमा हुने प्रतियोगितामा पर्वतसहित जिल्ला बाहिरका फुटबल क्लब तथा टोलीको सहभागिता रहनेछ। हालसम्म १६ टोली दर्ता भइसकेका छन् भने करिब एक दर्जन टोली आयोजकको सम्पर्कमा छन्।
विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र फेयर प्ले टिमलाई समेत पुरस्कार दिइने आयोजकले जनाएको छ।
युवालाई खेलकुदमा आकर्षित गर्दै स्थानीय प्रतिभाको पहिचान र फुटबलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।




