१९ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ खरियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बुधबार दिउँसो करिब १२ बजे ज्ञादीबाट खरियातर्फ जाँदै गरेको ग २२ प २२८१ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक फलेवास नगरपालिका–१ कार्कीनेटाका ३१ वर्षीय ठाकुर सुनार घाइते भएका छन्। उनको बायाँ हात र कोखामा भित्री चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३१ वर्षीय सुरेश सुनार को टाउकोमा भित्री चोट लागेको छ।
दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि प्रदेश अस्पताल कुश्मामा लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकलका चालकसँग सवारी चालक अनुमति पत्र ९लाइसेन्स० नभएको खुलेको छ। मोटरसाइकलका कागजात तथा दुर्घटनाग्रस्त सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ।
दुर्घटना स्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




