Print

‘बन्जी’ले चिनाएको कुश्मा

​केही वर्ष अघिसम्म ओझेलमा रहेको पोखरा कट्दा साथ पर्वत कुश्मा चिनाउनु पर्दा वागलुङ नजिकै भनेर चिनाउनु पर्ने हाम्रो कुश्मा आज विश्व मानचित्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यहाँ बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्प र अग्ला झोलुङ्गे पुलहरूले पर्वत र कुश्मालाई अन्तर्राष्ट्रिय स्तरमै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराएका छन्।


​कुश्मामा बन्जी जम्प ल्याउने त्यो साहसिक सोचका नायक राजु कार्की हुनुहुन्थ्यो। तर, कुनै पनि ठूलो सपना एक्लै पूरा हुँदैन। त्यो सुरुवातको चुनौतीपूर्ण समयमा स्थानीय व्यवसायी तथा समाजसेवी युवराज जोशी र स्थानीय व्यवसायी नेत्र पराजुलीले काँधमा काँध मिलाएर दिएको साथ र आँट नै आजको समृद्धिको जग हो। हिजो उहाँहरूले रोपेको त्यो सोचको बिरुवा आज विशाल वटवृक्ष बनेको छ।

उहाँहरुको त्यो अभियानमा हाल थुप्रै व्यवसायीहरू जोडिँदै जानु भएको छ। बन्जी पारिका भिरपाखाहरूमा अचेल नयाँ-नयाँ र आधुनिक सुविधा सम्पन्न कोठाहरू सहितका भव्य रिसोर्टहरू निर्माण भएका छन्। जसले गर्दा दिनप्रतिदिन ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित भइरहेका छन्।

हिजोका सुनसान डाँडाकाँडाहरूमा आज पर्यटकीय रौनक छ, मानिसहरूले आफ्नै गाउँ-ठाउँमा रोजगारी र व्यापार-व्यवसायका सुनौला अवसरहरू पाएका छन्। यो हाम्रो सिंगो क्षेत्रका लागि असाध्यै गर्व र खुसीको कुरा हो। कुनै पनि समाजको वास्तविक विकास तब सुरु हुन्छ, जब हामी अरूको प्रगतिमा ईर्ष्या होइन, गर्व गर्न थाल्छौँ।

​तर, विडम्बना के छ भने, यो तहको विकास र सकारात्मक परिवर्तन देख्दादेख्दै पनि केही नकारात्मक टिप्पणीहरू सुनिने गर्छन्। समाजमा यस्तो एउटा वर्ग पनि छ, जसले अरूले गरेको दुःख, मिहिनेत र प्रगतिलाई सहजै स्वीकार गर्न सक्दैन। कसैले नयाँ सोच ल्याएर लगानी गर्यो, रातदिन दुःख गरेर कमाएको पैसाले व्यवसाय सुरु गर्यो वा सामाजिक प्रतिष्ठा कमायो भने, त्यसको सकारात्मक पाटो हेर्नुको सट्टा नकारात्मकता खोज्ने प्रवृत्ति अहिले मौलाएको छ।

​हामीले सोच्नुपर्ने बेला आएको छ— अरूको दुःखको कमाइ, लगानी र मिहिनेतलाई सधैँ शङ्का र नकारात्मक नजरले मात्र हेर्ने कि उनीहरूबाट प्रेरणा लिनेरु
​त्यसैले, अब हामीले नकारात्मकताको चस्मा फुकालेर फराकिलो र सकारात्मक दृष्टिकोण राख्नै पर्छ।

​राजु कार्की, युवराज जोशी, नेत्र पराजुली लगायत थुप्रै व्यवसायीहरूको लगानी र सफलता पछाडि वर्षौँको आँट, दुःख र त्याग लुकेको छ। अरूको प्रगतिमा रमाउन सिक्नु नै सभ्यताको पहिलो लक्षण हो।

​सामाजिक सञ्जाल वा चियाका चुस्कीहरूमा कसैको गोडा तान्नुभन्दा उसले गरेको राम्रो काम र क्षेत्रको विकासको प्रचार गरौँ। बन्जी र नयाँ रिसोर्टहरू जस्तै नयाँ, साहसी र सिर्जनशील सोचहरूलाई समाजले स्वागत गर्नुपर्छ, ताकि हाम्रा युवाहरूले आफ्नै माटोमा भविष्य देख्न सकून्।


​सामाजिक प्रतिष्ठाको कदर गरौँ । समाजका लागि केही गर्न खोज्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरूलाई निरुत्साहित होइन, सम्मान र हौसला दिनुपर्छ।

​हाम्रो कुश्मा केवल भौगोलिक रूपमा मात्र अग्लो र सुन्दर छैन, यहाँका बासिन्दाको सोच पनि उत्तिकै अग्लो र विशाल हुनुपर्छ। अरूको प्रगतिमा ईर्ष्या गर्ने सानो मन त्यागेर, सबैको सफलतालाई सहर्ष स्वीकार गर्दै अघि बढौँ।

बन्जी जस्तै नयाँ र उच्च सोचका साथ अगाडि बढेर हामी सबै मिली कुश्मालाई अझ समुन्नत, सुन्दर र अनुकरणीय बनाउन सक्छौँ ।


गोविन्द प्रसाद पोखरेल
पर्वत, कुश्मा

लेखक शिवालय माध्यमिक विद्यालय कुश्माका प्रअ हुनुहुन्छ ।