Print

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक अवरुद्ध, एउटा घर र रेष्टुरेष्ट बगायो

२९ असार, पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आइतबार बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो ।

बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका ८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी सोही ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत खोला किनारका स्थानीयका घरहरू बाढीको उच्च जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । निरन्तर वर्षा भइरहेको र बाढी घट्ने सङ्केत नदेखिएको भन्दै उनले आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गरे । गुरुङको रेस्टुरेन्टबाट केही सामान स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारिएको भन्दै उनले कुनै मानवीय क्षति भने नभएको जानकारी दिए।

सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ घान्द्रुक, लान्द्रुकलगायत ठाउँमा जाने सयौँ सवारीसाधन अलपत्र बनेका छन् । यसैगरी अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्नका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् । कतिपय यात्रु तथा पर्यटक पैदल हिँडेर गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ । तत्काल सडक खुलाउन सक्ने सम्भावना नरहेकाले केही समय आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ ।