१० असार, पर्वत । मोदी गाउँपालिका–६ गिज्यानलाई सडक सञ्जालसँग थप सहज रूपमा जोड्ने उद्देश्यले अम्बोट–दानाबगर मोटरेबल पुल निर्माणका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत १ करोड रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाको १९औँ गाउँसभामा प्रस्तुत बजेटमा उक्त पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रियामार्फत बेलीब्रीज निर्माण गर्ने व्यवस्था गरिएको उल्लेख छ। लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको यातायात समस्यालाई समाधान गर्न संघीय तथा प्रदेश सरकारसँग पटक–पटक बजेट माग गरिए पनि आवश्यक सम्बोधन हुन नसकेपछि गाउँपालिकाले आफ्नै स्रोतबाट योजना अघि बढाउने निर्णय गरेको हो।
मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गिज्यानवासीको लामो समयदेखिको माग सम्बोधनतर्फ गाउँपालिका एक कदम नजिक पुगेको बताएका छन्। उनले चालु आर्थिक वर्षमै १ करोड रुपैयाँ बजेट विनियोजन गरी गाउँसभाबाट ऐतिहासिक निर्णय भएको उल्लेख गरेका छन्।
उपाध्यक्ष लामिछानेले उक्त निर्णयका लागि गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँसभाका सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गर्दै योजना कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताएका छन्।
स्थानीयवासीले पनि पुल निर्माणको प्रक्रिया अघि बढेसँगै वर्षौंदेखिको यातायात समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गरेका छन्। बेलीब्रीज निर्माण भएपछि गिज्यान क्षेत्रका बासिन्दालाई आवतजावत तथा स्थानीय आर्थिक गतिविधिमा समेत सहजता हुने विश्वास गरिएको छ।




