Print

मोदीको १९ औं गाउँ सभा : गाउँ सभा सदस्यले उठाए- ‘बाँदरको हैरानी र किसानको मर्का’


९ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको १९ औ गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभाले आगामी आर्थिक बर्षका बजेट, नीति तथा कार्यक्रम सर्वसहमत पारित गरेको छ । गाउँ सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम उपर बोल्दै नगर सभा सदस्यहरुले गाउँमा भएको बाँदर आतंकको दुःखेसो सुनाएका छन् । संघीय सरकारका कतिपय प्रतिनिधिहरुले बाँदर संरक्षण गर्नुपर्ने भन्ने कुरा उठाईरहँदा मोदीका गाउँ सभा सदस्यले बाँदरको हैरानी र किसानको मर्काको विषयमा गाउँ सभामा आफ्नो धारणा राखेका छन् ।

गाउँ सभा सदस्स्य बमबहादुर मल्ले गाउँमा बारी बाँझो छोडेर विदेशीएका नेपालीहरुका कारण पनि बाँदर आतंक थप बढेको बताए । उनले रुखहरु बढ्ने गाउँमा खेतीपाती कम हुने र जनसंख्या घट्दै जाँदा बाँदरले आतंक नै सृजना गरीरहेको तर्फ सभाको ध्यानाकर्षण गराए ।

गाउँ सभा सदस्य मल्लले बाँदर नियन्त्रण गर्नसक्ने सक्षम जनशक्ति समेत गाउँमा नरहेको बताए । दक्ष जनशक्ति विदेशीदा गाउँमा बाँदरले आतंक सृजना गरेको उनको भनाई छ । गाउँ सभा सदस्य राजेश शाहीले गाउँ सभाका अन्तिम बजेटमा आफूहरुले गाउँपालिकाको सर्बाङगीण विकासको खाका कोरेको बताए । उनले गाउँ सभा सदस्य र कर्मचारीहरु वीचको दुरी तथा आपसी सम्बन्ध अझै प्रगाढ हुनुपर्नेमा आफ्नो धारणा राखे ।

गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि बाँदर नियन्त्रणको विषयले प्रवेश पाएको छ । शर्माले जारी गरेको नीति तथा कार्यक्रममा गाउँमा बाँदरको बासस्थानहरुलाई नियन्त्रण गर्न घरबस्तीका रुखहरु फाड्ने देखि सम्बन्धित निकायहरुसंग सम्पर्क र समन्वय गर्नेकुरा नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।

बाँदर नियन्त्रणको कानून निर्माण गर्ने संघीय सरकार भएको तर संघ सरकारले यस विषयमा कम ध्यान दिँदा अधिकांश स्थानीय तहहरुमा बाँदरको समस्या प्रतिदिन बढेर गएको छ । मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले बाँदर नियन्त्रणका लागि कानून बमोजीमको आवश्यक बजेटको प्रवन्ध आफूहरुले गर्ने समेत बताएका छन् ।