Print

मोदी गाउँपालिकाको आगामी बजेट ७५ करोड १९ लाख ८० हजार


९ असार, पर्वत । मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड १९ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए।


प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ करोड १३ लाख ८० हजार रुपैयाँ र पुँजीगततर्फ २२ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेट संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा आन्तरिक आयलाई आधार मानेर तयार गरिएको गाउँपालिकाले जनाएको छ।


शिक्षा क्षेत्रतर्फ प्रारम्भिक बालविकास शिक्षक, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीको मनोबल वृद्धि गर्न थप सुविधा उपलब्ध गराइने भएको छ। विद्यालयमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको उपलब्धता, शिक्षकको पेशागत क्षमता विकास, आधारभूत शिक्षा परीक्षा व्यवस्थापन, विद्यार्थी दिवा खाजा कार्यक्रम र स्थानीय पाठ्यपुस्तक विकासलाई निरन्तरता दिइनेछ।


त्यसैगरी आवासीय विद्यालयको विकास तथा विस्तार, राष्ट्रपति रनिङ शिल्ड, स्काउट गतिविधि, ‘पढ्दै कमाउँदै–सिक्दै रमाउँदै’ कार्यक्रम तथा डिजिटल र प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारका लागि २ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।


महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, सीप विकास तथा आयआर्जन प्रवर्द्धन, बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणलाई समेत बजेटले प्राथमिकता दिएको छ।


सामाजिक कुरीति तथा विभेद न्यूनीकरण, बालविवाह, बालश्रम र दाइजो प्रथाविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरिने तथा सामाजिक सूचना व्यवस्थापन प्रणाली (SIMS) लाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ।


उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटले शिक्षा सुधार, सामाजिक विकास, महिला सशक्तीकरण तथा समावेशी विकासलाई केन्द्रमा राख्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताएका छन्।