Print

माेदीकाे नीति तथा कार्यक्रम  :  रोजगार, महिला उद्यम र सुशासन प्राथमिकता

९ असार, पर्वत । मोदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवा रोजगार, महिला उद्यमशीलता, सहकारी सुधार, विपद् व्यवस्थापन र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ।

गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने तथा सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने योजना अघि सारिएको हो।


नीति तथा कार्यक्रमअनुसार घरेलु तथा महिला उद्यमलाई विशेष प्राथमिकता दिइनेछ। स्टार्टअप सञ्चालनका लागि ब्याज सहुलियत तथा अनुदानको व्यवस्था गरिने र महिला उद्यमीलाई आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख छ।


गाउँपालिकाले सहकारी संस्थाको प्रभावकारी अनुगमन तथा नियमनलाई पनि प्राथमिकतामा राखेको छ। समस्याग्रस्त सहकारीलाई मर्जर, एक्विजिसन वा लिक्विडेसन प्रक्रियामा लैजाने नीति अवलम्बन गरिने भएको छ।
युवासँग उपाध्यक्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वरोजगार बन्न चाहने युवालाई स्टार्टअप पूँजी उपलब्ध गराउने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ।
बेरोजगार युवालाई समेटेर प्रत्येक वडामा वडा स्तरीय विकास दस्ता गठन गरिने भएको छ। उक्त दस्तालाई विपद्का समयमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा परिचालन गरिनेछ भने विभिन्न क्षेत्रमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ।
योजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनलाई नतिजामुखी बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा संघ, प्रदेश, निजी क्षेत्र र विकास साझेदारसँगको सहकार्य विस्तार गर्ने नीति पनि गाउँपालिकाले लिएको छ।
त्यसैगरी गाउँपालिका स्थापना भएयता भएका विकास निर्माण तथा अन्य गतिविधिको डिजिटल अभिलेख तयार गरी संस्थागत स्मरणका रूपमा संरक्षण तथा प्रचारप्रसार गरिने भएको छ।
वित्तीय अनुशासन, पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राख्ने तथा वित्तीय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।