Print

फलेवासमा ११ केभी विद्युत लाइन विस्तार विवादित, निजी जग्गामा पोल गाडिएको भन्दै स्थानीयको विरोध


पर्वत, असार ८ – पर्वतको फलेवास नगरपालिका–७ मा लामाए खोला–लिमिठाना–ठानामौला जोड्ने ११ केभी विद्युत प्रसारण लाइन विस्तारका क्रममा निजी जग्गामा जग्गाधनीको सहमति तथा जानकारीबिना पोल गाडिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।


स्थानीयका अनुसार वर्षौँ लगाएर हुर्काइएका साल, चिलाउने लगायतका रुखबिरुवा काटेर तथा बिरुवा नष्ट गरेर निजी जग्गामा पोल गाड्ने र तार तान्ने काम गरिएको हो। सार्वजनिक बाटो तथा अन्य विकल्प हुँदाहुँदै निजी जग्गा प्रयोग गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।


जग्गाधनी ठाकुर पौडेलले आफूहरू विकास निर्माणको विरोधी नभए पनि सार्वजनिक विकल्प हुँदाहुँदै सहमतिबिना निजी जग्गामा प्रसारण लाइन विस्तार गर्नु अन्यायपूर्ण भएको बताए। उनले यसअघि सडक निर्माणका क्रममा समेत जानकारीबिना जग्गामा क्षति पुर्‍याइएको दाबी गरे।


अर्का स्थानीय विष्णु पौडेलले निजी सम्पत्तिमा जानकारीबिना हस्तक्षेप गरी विद्युत लाइन विस्तार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले यस्ता योजनाअघि स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालाबीच पर्याप्त छलफल र सार्वजनिक सुनुवाइ हुनुपर्ने बताए।


स्थानीयले २०८३ जेठ २७ गते नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा निवेदन दिएका छन्।


प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विद्युत कार्यालयसँग समन्वय भइरहेको बताउँदै वन क्षेत्रमा संरचना निर्माण गर्न कठिनाइ भएकाले हालको मार्ग छनोट गरिएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार आवश्यकता अनुसार केही पोल सार्न सकिने विषयमा पनि छलफल भइरहेको छ।


फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले विवाद न्यायिक समितिसम्म पुगेको जानकारी दिँदै स्थलगत निरीक्षण समेत गरिएको बताए। सम्बन्धित पक्षबीच सहमति भएपछि मात्रै अन्तिम निर्णय हुने उनले बताए।


नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले विषय न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने वा नपर्नेबारे अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिइन्।


नेपाल विद्युत प्राधिकरण पर्वत कार्यालय प्रमुख यामकुमारी गुरुङले विद्युत सेवा विस्तार नागरिकको सुविधाका लागि गरिएको बताउँदै कसैको सम्पत्तिमा अनावश्यक क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिइएको बताइन्। उनका अनुसार नगरपालिका र वडा कार्यालयको सिफारिसपछि मात्रै योजना कार्यान्वयनमा लगिएको हो।


विद्युत कार्यालयका सुपरभाइजर ईश्वर भुसालले जग्गासम्बन्धी विवाद उत्पन्न भएपछि निर्माण कार्य रोकिएको जानकारी दिए। उनका अनुसार ठेक्का पाएको अनमोल कन्स्ट्रक्सन, बागलुङले विवादित क्षेत्रमा काम स्थगित गरेको छ।


यता वडा अध्यक्ष केशर पन्तले आफू काठमाडौंमा रहेका बेला कार्यवाहकलाई जिम्मेवारी दिइएको र विषयमा प्रारम्भिक जानकारी नभएको बताए। तर स्थानीयले वडामा बुझाउन खोजिएको निवेदन दर्ता गर्न नमानेको गुनासो गरेका छन्।


स्थानीयका अनुसार निजी घडेरी तथा खेतबारीको बीचबाट प्रसारण लाइन लैजाँदा जग्गाको मूल्य घट्ने, भविष्यमा घर निर्माण गर्न कठिनाइ हुने तथा सम्पत्तिको उपयोगमा असर पर्ने सम्भावना रहेको छ।


विवादका कारण हाल निर्माण कार्य रोकिएको भए पनि अधिकांश क्षेत्रमा पोल गाड्ने काम सम्पन्न भइसकेको छ भने केही स्थानमा तार तान्ने कार्यसमेत गरिएको छ। फलेवासको यो विवादले विकास आयोजना कार्यान्वयन गर्दा निजी सम्पत्ति अधिकार, स्थानीयको सहमति र सम्बन्धित निकायको जवाफदेहिताबारे गम्भीर बहस सिर्जना गरेको छ।