Print

संगठित, एकतावद्ध र सशक्त एमालेको खाँचो

गोविन्द पहाडी

नेकपा (एमाले) जस्तो ठुलो पार्टीको.महाधिवेशन वारे सवैंको चासो हुनु स्वभाविक हो । एमाले लोकतान्त्रिक पार्टी हो । पार्टी जीवनमा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी रुपमा उपयोग गर्दै आएको पार्टी हो ।

– एमाले कसरी अगाडी बढ्दैछ ?, महाधिवेशनको प्रकृया कस्तो छ ?, जनवादको प्रयोग कसरी गरिंदैछ ? भनेर चासो राख्नु स्वभाविक हो । लोकतन्त्रलाई बलियो बनाउनका लागि दलहरु व्यवस्थित र प्रभावकारी हुनुपर्दछ । यस वारे अन्य दल, नागरिक समाज र मिडियाबाट प्रस्तुत गरिने सकारात्मक सुझावहरु ग्रहणीय हुन्छन् । यस्ता सुझावहरुले दलहरुलाई पारदर्शि, व्यवस्थित र सहभागितामुलक बनाउन योगदान पनि गर्दछ । तर यतिबेला सकारात्मक सुझाव दिने भन्दा पनि हामीले भने झैं एमाले चल्नु पर्दछ भनेर बलजफती हल्ला चलाउन खोजिएको छ । एमालेलाई अन्य दल, मिडिया र अगुवा भनिनेहरुले लोकतन्त्र, नेता, नेतृत्व छनौट, नीति, सिद्धान्त वारे सिकाईरहनु पर्दैन् । एमालेको नेतृत्व कसले गर्ने, कसरी गर्ने, कति समय गर्ने भन्ने सवाल एमाले कार्यकर्ताको सवाल हो । केपी शर्मा ओली फेरि नेतृत्वमा आउनु ठिक की बेठिक ? भन्ने निष्कर्ष निकाल्ने र निर्णय एमाले कार्यकर्ताहरुले नै गर्ने हो । अरुले किन टाउको दुखाउनु पर्यो ? आफनै संगठन र पार्टी बलियो बनाउने तर्फ नलागेर एमाले वारे टिप्पणी गर्नमा समय किन खर्चिनु ? आफुँ राम्रो बन्नु, सवैले पत्याउन लायक बन्नु भैहाल्यो नी । १७ जोड्दा १७ जना नहुनेहरुले एमालेलाई यसो र त्यसो भनेर सुझाव दिएको सुहाएन । नयाँ र वैकल्पिक शब्द मात्रले पनि नयाँ नभईने रहेछ, यसका लागि बलियो संगठन, कार्यक्षमता, असल नियत र जनताको साथ आवश्यक पर्दो रहेछ भन्ने प्रष्ट भएन र ?

– नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाशिवेधनका लागि लगभग २२०० प्रतिनिधी सर्वसम्मत तथा निर्वाचन प्रकृयाबाट छनौट भएका छन् । यी प्रतिनिधीले साढे ६ लाख पार्टी सदस्यहरुको प्रतिनिधित्व गर्दछन् । यी पार्टी सदस्यले २९ लाख हाराहारी मतदाताको प्रत्यक्ष प्रतिनिधित्व गर्दछन् । ती मतदाताले आम जनताको प्रतिनिधित्व गर्दछन् । यति ठुलो जनताको हिस्साको प्रतिनिधित्व गर्ने पार्टीका कार्यकर्ता विवेकशिल छन्, ठिक र बेठिक छुट्याउन सक्छन् । अरुले सृजना गरेका हल्ला र नक्कली सामग्रीबाट प्रभावित हुँदैनन् ।

– नेतृत्व कसले गर्ने, कटि पटक गर्ने भन्ने प्रश्नको कुनै सुत्रात्मक उत्तर हुँदैन् । यो सवाल पार्टी, देश, समाज र वर्तमान राजनीतिक परिस्थितीले निर्धारण गर्ने परिस्थितीजन्य कुरा हो । नेतृत्व उमेर, पटक र पालो प्रणाली भन्दा पनि संगठनको आवश्यकता, व्यक्तिको क्षमता र क्रियाशिलता तथा उसको देश र समाजप्रतिको दृष्टिकोण, भिजन, दृढता र जोश जाँगरले निर्धारण गर्ने कुरा हो ।

– एमालेलाई कस्तो पार्टी बनाउने भन्ने वारे एमाले पङ्ती गम्भिर छ । एमाले फेरि के पी शर्मा ओलीको नेतृत्वमा सशक्त र थप प्रभावकारी तरिकाले अगाडी आउला, राष्ट्र निर्माण र राष्ट्रियताका सवालमा नेतृत्व गर्ला र हाम्रो भविष्य नरहला भन्ने पिरमा पर्नु भएका अन्य दल, नागरिक अगुवा भनिनेहरु तथा केहि मिडियाबाट रचित षडयन्त्र र भ्रमहरुबाट हामी मुक्त हुनुपर्छ ।

– नेपालको लुटिएको जमिन समेटेर नक्शा जारी गर्नु, संविधान जारी गर्दा अडान लिनु, चीनसँग पारवहन सन्धी गर्नु, पेट्रालियम पदार्थ उत्खनन गरि उपयोगमा लैजाने तयारी गर्नु, अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालको शिर ठाडो हुने गरि प्रस्तुत हुनु नेपाली जनताका पक्षका कदम हैनन र ? यस प्रकारको हिम्मत गर्ने प्रधानमन्त्री विगतमा हामीले पायौं ? यसमा गर्व गर्नुको सट्टा किन भ्रम सृजना गर्न खोजिंदैछ ? हामीलाई निडर, दृढ ईच्छाशक्ति भएको, राष्ट्र राष्ट्रियताका सवालमा कुनै गलत सम्झौता नगर्ने नेता चाहिएको हो की विदेशीको ईशारामा चल्ने खेलौना नेता ? दलिय स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय हितका लागि काम गर्ने नेतृत्व वारे चर्चा गरौं, असल र जनताले रुचाएका कामको समर्थन गरौं

– सिंगो देशको प्रतिनिधित्व गर्ने, मुलुकको समृद्धि र जनताको खुशीको लक्ष्य राखेको एमालेले युवा पुस्ताको भावनाको पनि प्रतिनिधित्व गर्दछ/गर्नुपर्दछ । युवाहरुको देश निर्माण वारेको हुटहुटीको कदर गर्दछ । युवा पुस्ताको भ्रष्टाचार मुक्त देश, सुशासनयुक्त देश, नातावादमुक्त देश, रोजगारी सहितको समृद्ध देश निर्माण गर्ने भावना अनुसार देश बनाउनका लागि राजनीतिक स्थायित्व आवश्यक पर्दछ । सहि नीति, बजेट र कार्यक्रम तर्जुमा गर्नुपर्दछ । भावनाले मात्र देश बन्ने त हैन् । हामी बहुदलिय प्रणाली सहितको लोकतान्त्रिक प्रणालीमा भएका कारण दलहरु नै सक्षम, सवल नभएसम्म, दलको नेतृत्व भिजनरी नभएसम्म यी सवै विकासका काम सम्भव हुँदैनन् । यी कुरा एमालेले बुझेको छ । यसकै लागि हामी ११ औं महाधिवेशन मार्फत नयाँ सोच र योजना सहितको नेतृत्व निर्माण गर्ने अभियानमा जुटेका छौं ।

– एमालेलाई कमजोर बनाउने, जसले जता तान्यो उतै लहसिने पार्टी बनाउने वदनियतहरुबाट हामी सतर्क छौं, चनाखो छौं । एमाले ठिक की बेठिक ?, एमालेका नीति कार्यक्रम सहि की गलत ?, एमालेको नेतृत्व सफल की असफल ? यी सवालहरु आगामी निर्वाचनहरु मार्फत जनताको मतले निर्धारण गर्ने कुरा हो । सामाजिक सञ्जाल र मिडिया मार्फत सृजित सामाग्रीहरुले आधारभूत जनताको भावना प्रतिनिधित्व गरेको छ भनेर मान्न सकिन्न ।

– हाम्रो घर, हाम्रो पार्टी हाम्रो सोच, दृष्टिकोण र योजनामा बनाउने हो । अरुले सृजना गरेका भ्रम र नक्कली सामग्रीहरुबाट प्रभावित बन्नु हुँदैन् । संविधानलाई लिकमा ल्याउन, संघिय लोकतान्त्रिक गणतन्त्रको जगेर्ना गर्न र गैरसंवैधानिक प्रतिगमनलाई सच्याएर नेपाली जनताको सार्वभौमसत्ता नेपाली जनतामा नै निहित बनाईराख्न संगठित, एकतावद्ध र सशक्त एमालेको खाँचो छ । वर्तमान एमालेलाई राजनीतिक, सांगठनिक र वैचारिक रुपमा नेतृत्व गर्न ओली नै निर्विकल्प नेता हो । विरोधीका भ्रम र षडयन्त्रका कुरा हामी पत्याउँदैनौं । हाम्रो घर हाम्रै योजना र आवश्यकताका आधारमा निर्माण गर्नेछौं ।