१३ साउन, पर्वत । गत आर्थिक वर्ष वि.सं. २०८१/०८२ मा पर्वतमा रहेका संघीय कार्यालयहरुको करिब ९२ र प्रदेश कार्यालयको करिब ८० प्रतिशत बजेट खर्च भएको छ ।
यसैगरी आर्थिक वर्ष २०८१/८२ प्रदेश सरकारको तर्फबाट पर्वत जिल्लाका विभिन्न कार्यालयमा कुल रु. एक अर्व ६६ करोड तीन लाख ८६ हजार रूपैया बजेट प्राप्त भएको थियो । उक्त बजेटमध्ये रु. ५४ करोड ३८ लाख १० हजार रूपैयाँ अर्थात ३२ दशमलब ७५ प्रतिशत चालु तर्फको लागि र रु.एक अर्ब ११ करोड ६५ लाख ७६ हजार रूपैयाँ अर्थात ६७ दशमलब २५ प्रतिशत पुँजीगत खर्चका लागि बिनियोजन गरिएको थियो ।
गत असार २५ गते सम्म जिल्लामा प्रदेश सरकारबाट प्राप्त कुल बजेट मध्ये रु. एक अर्ब ३३ करोड ७४ लाख ९० हजार एक सय २१ रूपैया अर्थात ८० दशमलब ५५ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक अर्यालले जानकारी दिनुभयो । जसमध्ये पुँजीगत खर्चतर्फ ८८ करोड ६५ लाख ७९ हजार ५ सय ७८ रूपैया अर्थात ७९दशमलब ४० प्रतिशत बजेट खर्च भएको छ भने चालु खर्चतर्फ रु.४५ करोड नौ लाख १० हजार पाँच सय ४२ रूपैया ५७ पैसा अर्थात ८२ दशमलब ९१ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिनसम्म संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले राज्य कोषबाट उक्त बजेट खर्च गरेका हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख कोष नियन्त्रक ज्ञानप्रसाद अर्यालका अनुसार संघीय सरकारवाट जिल्लामा भित्रिएको कुल बजेट रु. छ अर्ब पाँच करोड ४६ लाख ३८ हजार एक सय ६० रुपैया मध्ये रु. ५ अर्ब ५९ करोड १५ लाख १४ हजार सात सय ९८ रुपैया खर्च भएको हो । यो रकम स्थानीय तहलाई संघीय सरकारवाट प्राप्त अनुदान समेत रहेको अर्यालले बताउनुभयो ।
उहाँका अनुसार उक्त बजेटमध्ये रु.४ अर्व ८८ करोड ६९ लाख ३८ हजार १ सय ६० रूपैयाँ चालु खर्चतर्फ र एक अर्व १६ करोड ७७ लाख रूपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो । असार मसान्त सम्म पाँच अर्ब ७६ करोड २० लाख ९४ हजार चार सय १९ रुपैया खर्च भएको भएपनि जिल्लाका सातवटा पालिकाबाट रु. १७ करोड पाँच लाख ७९ हजार छ सय २१ रुपैया पैसा निकासा फिर्ता भएको छ ।
संघीय सरकारको बजेट मध्ये असार महिनामा मात्र २२ करोड ९९ लाख २६ हजार रुपैया असार महिनामा मात्र खर्च गरिएको हो भने प्रदेश सरकारका कार्यालयले असार महिनामा मात्र २७ करोड ८५ लाख ५० हजार रुपैया खर्च गरेका छन् ।
बजेट खर्चको हिसावले जिल्लामा संघीय बजेटको प्रभावकारी कार्यान्वयन र स्रोत व्यवस्थापन सक्षम रूपमा अघि बढिरहेको अवस्था देखिएको छ । चालु शिर्षकको बजेट संघीय र प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान, कार्यालय सञ्चालन, तलबभत्तामा खर्च हुने गर्छ । पँुजिगत बजेट विकास योजना तथा कार्यक्रमका लागि खर्च हुने गर्छ । यसअघिको बर्षको तुलनामा पर्वतमा यसपाली पुँजिगत बजेट खर्चमा सुधार आएको छ ।
पर्वतमा गत आर्थिक वर्षमा रु. ४५ करोड ५१ लख १४ हजार एक सय २२ रुपैया राजश्व समेत संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतको बजेट प्राप्त कार्यालयवाट रु. ४३ करोड ४९ लाख पाँच हजार दुई सय ३१ र प्रदेश मातहतका कार्यालयहरुवाट रु. दुई करोड दुई लाख आठ हजार ८ सय ९१ रुपैया राजश्व संकलन भएको हो । यो अपेक्षा भन्दा कम राजश्व रहेको छ । उद्योग तथा फर्महरु बन्द हुँदै जानु, भएकाहरुले समेत नविकरण नगर्नु, कर तीनतर्फ नागरिकको अरुचि जस्ता कारणले लक्ष्य अनुसार रावजश्व संकलन हुन नसकेको पाईएको कार्यालयको भनाई छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा छ ।




