Print

निर्माण कार्य शुरु भएको ७ बर्षमा पुलको कामले लियो गति


१२ फागुन, पर्वत । निर्माण कार्य शुरु भएको ७ बर्षमा जिल्लामा निर्माणधिन एउटा मोटरेवल पुलको कामले गति लिएको छ । २०७४ सालमा निर्माण कार्यको शिल्यान्यास भएको कालीगण्डकी लोकमार्ग स्थित लमायखोला मोटरेवल पुलले निर्माण कार्यले गति लिएको हो । फलेवास नगरपालिकाको वडा न ६ देविस्थान र वडा न १० कुर्घाको सिमानामा निर्माणधिन पुलको गलत डिजाइन स्टिमेटका कारण पुल लामो समय देखि अलपत्र अवस्थामा थियो । पुल निर्माण कार्यको जिम्मा लिएको नयाँ बाटो गौचन जेभीले निर्माण कार्य विभिन्न वहाना देखाउदै अलपत्र पारेपछि पुलको निर्माण कार्य रोकिएको थियो ।

पुल निर्माण अन्तिम चरणमा गत बर्ष भने बर्षातसंगै आएको बाढिले निर्माण सामाग्रीहरु समेत बगाएको थियो । पर्वतको उत्तर र दक्षिणलाई सिधा सम्पर्कमा जोड्ने करीडोर अन्तर्गतको उक्त पुल निर्माण नहुँदा घुमाउरो सडक प्रयोग गर्न सवारी साधनहरु बाध्य थिए । चालु बर्षको असार मसान्तसम्म पुलको निर्माण कार्य सक्ने गरी निर्माण ब्यवसायीले काम शुरु गरेपछि अहिले भने पुलको स्लेप ढलानको काम सकिएको छ ।

कुल ५ करोड १३ लाखमा पुलको निर्माण कार्य सक्ने गरी निर्माण ब्यवसायीले उक्त पुलको जिम्मा लिएका थिए । २५ मिटर लामो उक्त पुलको डिजाइन ढुंगा माथि गरिएपछि पुल लामो समय निर्माण कार्यबाट प्रभावित भएको थियो । पुलको निर्माण कार्य गलत ठाउँबाट गरिएपछि स्थानीबासीले समेत विरोध जनाउँदै आएका थिए ।

कालीगण्डकी करीडोर आयोजना कार्यालय पाल्पाका प्रमुख कल्पना अधिकारी सुवेदीले भने चालु बर्षका लागि पुल निर्माणको लागि बजेट ब्यवस्था नभएको बताएकी छिन् । निर्माण ब्यवसायीले निर्माणको काम सम्पन्न गरेपनि भुक्तानी पाउने अवस्था नरहेको उनले सामाजिक सञ्जाल मार्फत बताएकी छिन् ।

तत्कालीन प्रदेश सभाका सांसद विकास लम्सालले २०७४ सालमा पुलको शिल्यान्यास गरेका थिए । पुलको निर्माण कार्य शुरु भएको ७ बर्ष भन्दा बढि समय पछि पुल सम्पन्न हुने आशा भने पलाएको छ ।
कालीगण्डकी करीडोरको फलेवासको कुर्घा देखि सेतीवेणीसम्मका खण्डको निर्माण कार्य सकिएको छ । देविस्थानको ढिक देखि कुश्माको मोदीवेणीसम्मको ट्रयाक खनिए पनि यसको निर्माण कार्य भने शुरु भएको छैन् । आयोजनाको फलेवास ढिक देखि अर्मादी खण्डको बजेट सुनिश्चित भएकाले केहि समयमै ठेक्का मार्फत निर्माण कार्य शुरु हुने आयोजना कार्यालयले जनाएको छ ।