Print

सडक बन्यो तर पुल बनेन


३० वैशाख, पर्वत । निर्माणधिन कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास खण्डमा मोटरेवल पुल अझै बन्न सकेको छैन् । ६ बर्ष अघि निर्माण कार्य शुरु भएको लमायखोला मोटरेवल पुलको निर्माण कार्य अझै पुरा नभएको हो ।

निर्माण कार्य पुरा नभए पछि उक्त सडक खण्डमा सवारीसाधन सञ्चालनमा समस्या सृजना भएको छ । फलेवासको देविस्थान र कुर्घालाई जोड्ने गरी लमायखोलामा निर्माणधिन मोटरेवल पुलको काम अझै पुरा नभएको हो ।

प्राविधिक रुपमा डिजाइन स्टिमेटमा समस्या देखाउँदै निर्माण कम्पनीले पुलको काम वीच मै अलपत्र छाडेको थियो । पुलको निर्माण कार्य गत बर्ष देखि पुनः शुरु भए पनि हालसम्म पनि निर्माण कार्य भने सकिएको छैन् ।

२०७४ सालमा निर्माण कार्य शुरु भएको उक्त मोटरेवल पुलको नयाँ बाटो गौचन जेभीले निर्माण कार्यको जिम्मेवारी लिएको थियो । २५ मिटर लामो उक्त पुल कुल ५ कराड ६४ करोडको लागतमा निर्माण हुन लागेको हो । पुलको निर्माण कार्य नसकिए पनि उक्त खण्डको सडकको निर्माण कार्य भने सकिएको छ ।

फलेवासको ढिक र कुर्घाको सडक सवै निर्माण सम्पन्न भएको छ । तर, मोटरेवल पुल नबन्दा सडक सञ्चालनमा समस्या सृजना भएको भन्दै स्थानीयबासीले गुनासो गरेकाछन् ।


पुलको निर्माण कार्य नसकिँदा घुमाउरो सडक प्रयोग गर्नुपर्न बाध्यता सृजना भएको छ । यसरी घुमाउरो सडक प्रयोग गर्दा झण्डै ७ किलोमिटर यात्रा गर्नुपर्छ । हाल सवारी साधनहरु ढिक देखि लिमिठानाको चिर्दिखोला हुँदै यात्रा गर्ने गरेका छन् ।

लोकमार्गको पुलको निर्माण सम्पन्न हुँदा दक्षिण क्षेत्र जाने सवारी साधनले ७ किलोमिटर भन्दा बढि छोटो सडक प्रयोग गर्न पाउनेछन् ।