२५ असार, पर्वत । पहिरो पिडित परिवारका पूर्व मन्त्री पदम गिरीले भेटेका छन् । जिल्लाको फलेवास नगरपालिका वडा न १ कार्किनेटामा गत शनिवार गएको पहिरोमा परी २ जनाको मृत्यु भएपछि पूर्व मन्त्री गिरीले पहिरोग्रस्त क्षेत्रमा पुगेर मृत्यु भएका परिवारका सदस्यलाई भेट गरेका हुन् ।
अबिरल बर्षातका कारण कार्किनेटामा २ जनाको मृत्यु भएको थियो । मृत्यु भएका परिवारका सदस्यलाई पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सो अवसरमा पहिरो पिडित परिवारलाई सरकारको तर्फबाट उपलब्ध हुने राहत वापतको पहिलो किस्ता रकम ५० हजार समेत हस्तान्तरण गरेका थिए ।
बर्षातसंगै आएको पहिरोले कार्किनेटाका झलक पौडेल र स्याङजा आँधिखोला गाउँपालिका ३ का तुलसीराम पौडेलको मृत्यु भएको थियो । पहिरो आउन शुरु गरेपछि गोठमा रहेका पशुचौपाय जोगाउन जाँदा उनीहरुलाई पहिरोले बगाएको थियो ।
अबिरल बर्षातसंगै जमिन फाट्दा कार्किनेटामा २ वटा घरहरु अझै जोखिममा रहेका छन् । कार्किनेटा बजार नजिकका ति घरहरुको समेत मन्त्री गिरीले निरिक्षण गरेका थिए । जमिन फाटेर नयाँ बनेका घरहरु समेत चर्किएका छन् । मन्त्री गिरीले जमिनको संरक्षणका लागि तत्काल प्रशासन कार्यालयले आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका छन् ।
पछिल्लो समय सक्रिय भएको मनसुनका कारण पर्वतका विभिन्न ठाउँमा घरहरु भत्कने, चर्कने र पशुचौपायमा क्षति भएको छ ।




